सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गरिरहेको समाचार त्यहाँबाट आएको छ ।
उनी मात्र होइन, परिवारका सदस्यले पनि रोजगारी पाएका छन् । उनी तरकारी टिप्ने तथा बजारसम्म पुर्याएर बिक्री गर्ने काममा व्यस्त हुन्छन् । उनले वर्षको तीन यामसम्म तरकारी लाउने गरेका छन् ।
देशमा सुन्दर भविष्यको कुनै सम्भावना नदेख्ने धेरैका लागि उनी प्रेरणाका स्रोत हुन सक्छन् । उनले तरकारी खेतीबाट वार्षिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
यो सानो रकम होइन । उनले आफ्नै दुई कठ्ठा र लिजमा गरी चार कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् । सही किसिमले स्वदेशमै मेहनत गरे जीविकोपार्जनको प्रशस्त सम्भावना छ भन्ने उदाहरण प्रस्तुत गर्ने नेपालीहरू देशभरि छरिएका छन् । उनीहरूले कृषिकर्मबाट राम्रै आम्दानी लिने गरेका छन् ।
त्यसैले यहाँ कृषिमा सम्भावना नभएको होइन । कुनै समय खाद्यान्न निर्यात गर्न सफल देश अहिले कृषिजन्य उत्पादनमा परनिर्भर भइसकेको छ । कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्नु कृषिप्रधान भनिने देशका लागि विडम्बनाको विषय हो ।
यहाँ कृषियोग्य जमिन बाँझो छ । देशमा केही हुन सक्दैन भन्दै युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थाको अन्त्य गर्नु आवश्यक छ ।
यसका लागि युवा जनशक्तिको विदेश पलायन रोकेर उनीहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नु आवश्यक छ । कृषि र पशुजन्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सङ्कल्प लिएर काम गर्ने हो भने स्वदेशमै रोजगारीको सिर्जना गर्न सकिने मात्र होइन, देशको अर्थतन्त्रलाई उकास्न सकिन्छ ।
अहिले सुरुङ्गा–५ को कुशाहाका अधिकांश विपन्न दलित परिवारको जीवनस्तर तरकारी खेतीबाट उकासिएको छ । देशभरि नै यसै गरी लहर ल्याउने हो भने समृद्ध जीवनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसका लागि सरकारले ठोस रूपमा किसानमैत्रि नीति तथा कार्यक्रम अघि सार्नु आवश्यक छ ।
सरकारले किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधिमा सहयोग गर्नुपर्छ । कृषि अनुदानमा भइरहेको दुरुपयोग रोकेर सरकारले वास्तविक किसानलाई सहयोग हुने गरि कार्यक्रम ल्याउनुपर्छ ।