गहिरो निद्राले क्लान्तर,
अचेत सडक किनारमा बसेर
सिलाईरहेछ, च्यातिएका सपनाहरु
चम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा
घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा ।
उही काठको बाकस
उही पुराना औजारहरु
करङ भाँचिएको उस्तै छातामुनि
खियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाड
पुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको ।
नउध्रिनेगरी तुन्नुछ, सपनाहरु
रंग भरेर हटाउनुछ, काला दागहरु
चहकिलो बनाउनुछ, सन्ततिका भविष्य
चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको ।
एक पटक
उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु
जगाउनु छ, मूच्र्छित सडकलाई
आँधीबेहरी ल्याउनु छ चेतनाको
उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरु
लतार्दै उच्छेद गर्नुछ कुप्रथाका रुखबुट्टा र जराहरु
हल्लाउनु छ, वेगसित पुराना घर र महलहरु
र, विनाश गर्नु छ, सदासदाका लागि
सदियौदेखिको कुरीति र विभेदहरु ।
मिजार दाइ !
अब त, तपाँई आफै पनि
चिर निद्राबाट
बौरिने बेला भएन र ? ।
४ कात्तिक २०७७