विराटनगर/ विष खुवाएर नाबालिका २ छोरीको हत्या गर्ने आमालाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीश पारसमणि पोखरेलको इजलासले २१ वर्षीया २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अस्मितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जानकारी दिए ।
बुढाथोकीका अनुसार इजलासको आदेशपछि अस्मितालाई मंगलबार कारागार चलान गरिएको छ । विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् ।प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडिबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएकी थिइन् ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अस्मिताविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । उक्त मुद्दामा कानुन व्यवसायीबीच थुनछेक बहस भएर अदालतले उनलाई कारागार चलानको आदेश गरेको हो ।
निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीय अर्जुन कार्कीसँग विवाद भएपछि छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता भदौ १४ गते साँझ हिँडेकी थिइन् । दुवै नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परेका थिए ।
नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो । अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि नानीहरुलाई लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको अस्मिताले बताएकी थिइन् ।
मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘पतिले दिएको तनाव सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडे । विष पनि लगेकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन । सुरुमा मैले खाएँ । छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ । उनीहरु मरे ।
तर, म चैं मरिन ।’सुरुमा अस्मितालाई मानसिक समस्या रहेको हुनसक्ने अनुमान गरिएको थियो । तर, अनुसन्धानबाट त्यस्तो समस्या नरहेको खुल्यो । स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको भनेर यकिन हुन सकेन ।‘कसैले विष सेवन गर्दा त्यसको असर ७२ घण्टा (३ दिन)भित्रमा देखिँदो रहेछ ।
तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘अस्पताल लगेर परीक्षण गराउँदा विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन । शरीरमा विषको असर पनि देखिएन ।’ पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको एसपी कार्कीले बताए ।
प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन र संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताले २०७५ साल फागुन ९ गते भागेर बिहे गरेका थिए ।
पत्नी र २ नाबालिका छोरीसहित अर्जुन गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए ।
नयाँ घरमा पानी लगाउने विषयमा पति–पत्नीबीच विवाद भएको र त्यसपछि घर छाडेकी अस्मिताले विष खुवाएर नाबालिका छोरीहरुको हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।