इटहरी । इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि सर्वसाधारणहरू आन्दोलित बनेका छन् ।
शनिबार यहाँस्थित भुक्तानी नपाएका उपभोक्ताहरूको संघर्ष समितिले उपमहानगरअगाडि विरोध प्रदर्शन गरेका हुन् ।आर्थिक वर्ष २०८१÷८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।
संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले इटहरीको विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण भएपनि उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।‘उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्ण पौडेलसँग जिज्ञासा राख्दा उपमहानगरसँग बजेट नभएको जानकारी आएको छ,’ श्रेष्ठले भने, ‘उपभोक्ताहरूले पाउनुपर्ने करिब १९ करोड ५० लाख बराबरको रकम ७२ घण्टाभित्र भुक्तानी प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौँ ।’
७२ घण्टाभित्र रकम भुक्तानीको प्रक्रिया नगरे चरणबद्ध आन्दोलन गरिने विरोध प्रदर्शनमा जानकारी दिइयो । खासगरी इटहरी उपमहानगरमा आन्तरिक विवादका कारण लामो समयदेखि उपभोक्ताको बजेट भुक्तानी नहुनु र अरू विभिन्न शीर्षकमा छुट्याइएको बजेटको समेत भुक्तानी नदिँदा सर्वसाधारणहरू आन्दोलित बन्न बाध्य भएको विरोधसभामा जानकारी दिइयो ।
तस्वीर प्रदेश खबरबाट