हामी सबैलाइ थाहा भएकै कुरा हो कि सबै मानिस एउटै विशेषता भएका हुदैनन्।
कोहि गोरो , कोहि कालो, कोहि होचो,कोहि अग्लो ,कोहि दक्ष कोहि अदक्ष,अर्ध दक्ष , कोहि हसिलो कोहि गम्भीर आदि इत्यादी।
तर यी बिशेषताहरु मान्छेको जातसँग पक्कै जोडिएका हुदैनन्। यो त प्रकृति, वातावरण र जीवनशैलीको उपज हो। हो आज यो मेरो लेख जातसँग नै केन्द्रित छ।
म परियार ,पूरा नाम हरि परियार। परियार थर दमाई वर्गमा पर्छ।दमाईलाई नेपाल सरकारले दलित वर्गमा अभिलेखिकरण गरेको छ ÷ गराइएको छ।म दमाई हुँ भन्ने कुरामा कुनै पनि सरम छैन\ हुने छैन र कुनै किसिमको दम्भ पनि छैन।
तर जब मानिसहरुले धर्म, संस्कृतिको नामबाट बनाइएको कथित तल्लो जातको कोखबाट जन्म लिनुलाई नै अपराधको रुपमा लिन्छन तब महसुस हुन्छ कि यो समाज मेरो लागि या समाजको लागि मेरो कुनै अर्थ नै छैन।
हामीले संविधान बनायौं ।धारा उपधारा बनायौं ।यो जातियता छुवाछुत अन्त्य गर्न तर पनि जातियताकै कारण कैयौ घटना घटिरहेकै छन्।हाम्रो समाजमा शिक्षित भनिएका ब्यक्तिहरुले नै त अप्रत्यक्ष रुपमा विभेद गरिरहेकै छन् भने झन अशिक्षित एवम् चेतना नभएका मानिसहरुले के सम्म गर्लान ?
यता कता म सुन्ने गर्छु कि घरमा वा ब्यक्तिगत कार्यालयमा काम गर्ने मान्छेको आवस्यकता परेमा यसो पानी चल्ने मान्छे खोजिदिनु पर्यो भन्ने सुनिन्छ।
म प्रश्न गर्न चाहन्छु आखिर यो पानी चल्ने र पानी न चल्ने जात कस्तो हुन्छ?कुन रङ्गको हुन्छ?गन्ध कस्तो हुन्छ? अब तपाईं पक्कै भन्नु हुन्छ होला म त यो छुवाछुत मान्दिन तर मेरो परिवारमा बुढा बा आमा हुनुन्छ।
उनीहरुले यो कुरालाई स्वीकार गर्नुहुन्न भनेर। हो त्यसो भए कथित तल्लो जातका मानिसहरुले तपाईं शिक्षित एवम् युवायुवतीबाट के आश राख्ने? जब शिक्षित ब्यक्तिहरुले नै आफ्नै घर परिवारबाट यस्तो कुरिती हटाउने तत्परता गर्दैनन् भने त्यो खोक्रो शिक्षाको के तौल ?
बि .स. २०७४ सालको कुरा हो म सुनसरिको बर्जु गाउँपालिकाको चिमडी भन्ने ठाउँमा एउटा कार्यालयमा काम गर्थे ।
लगभग म त्यस ठाउँमा ६/७ महिना बसे।म काम गर्ने कार्यालयको छेवैमा एउटा होटल थियो।त्यस होटलमा बिहान बेलुका चिया पिउन त्यस गाउँकै डुम जातिका मान्छेहरु आउथे तर आफ्नै घरबाट गिलास बोकेर।त्यस होटेल मालिकले सबैको चियाको गिलास माझ्न तयार तर एउटा डुम (दलित) जातिको मान्छेलाइ मान्छेको रुपमा स्विकार नगर्ने ! यो दृश्य अझ पनि त्यस ठाउँमा देख्न सकिन्छ।
तर कसले उनीहरुको त्यो आवाज उठाइदिने? यस सन्दर्भमा न स्थानीय जनप्रतिनिधिको ध्यान छ,न स्थानीय समाजसेवीको या कुनै संचार माध्यमको।
अब म धेरै पर जान्न मेरो घर रङगेली –८ मोरङ हो ।
म घरमा कहिले काहीँ धार्मिक कार्य गर्नुपर्दा मैले मेरै जातको पुरोहित खोज्नु पर्ने धौधौ हुन्छ ।
किनकी मेरै समाजमा बस्ने कथित उच्च जातका पुरोहितहरु मेरो घरमा सो कामका लागि आउँदैनन् ।
यो त परको कुरा नागपन्चमी दिन सबैको घरमा नागपन्चमी टाँस्दै हिड्ने मेरो घरमा चै छुट्टाउने, रक्षा बन्धनको दिन समाजमा रहेको सबैको घरमा डोरा बान्दै हिड्ने मेरो घरमा चै न आउने(उक्त समाजमा मेरो परिवार मात्र दलित परिवार भएको)।
यसलाइ म बिभेद्को रुपमा न बुझी के प्रेमको रुपमा बुझुम त म ? या मेरो खुनमै अछुत छ भनेर चुप लागेर सहेर बसुम?सामाजिक , राजनीति तथा धार्मिक परिवर्तन यहि हो त?
मलाइ थाहा छ न गिताले न कुरानले न बाइबलले न अन्य कुनै धर्म ग्रन्थले यो जात ठुलो एवम् यो जात सानो भनेको छैन।बस यस्तो दुर्गन्धित ब्यवहारको प्रवर्द्धन गरेका छ्न त केवल धर्मको नाममा एजेन्ट बनेका केही तत्वले जो पुरातनवादीबाट आफ्नो धार्मिक ब्यवसाय चलाउँछन र एउटा जमातलाई सानो बनाएर पुरानै शैलीबाट दबाउन चाहन्छन।
यहाँ अझ म एउटा विद्धवान ब्यक्तिको उदाहरण दिन चाहन्छु ।
ती हुन भारतका बौद्धिक एवम शिक्षित व्यक्तित्व डाक्टर भिम राव अम्वेडकर(दादा साहेब भिम राव) जो सन १९४७ मा भारतको स्वतन्त्रता पछिको प्रथम कानुन मन्त्री थिए भने भारतको संविधान निर्माणमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ।
डा. भिम राव डाक्टर भिम राव अम्वेडकर महर जातिका थिए।
जुन भारतमा तल्लो जाती मानिन्छ।डा. अम्वेडकरले आफ्नो उपलब्धि हासिल गर्न सामाजिक रुपमा अकल्पनीय संघर्ष गर्नु पर्यो। डा. अम्वेडकरले दलितलाई भएको बिभेदलाइ मध्यनजर गर्दै सन १९५६ मा धर्म परिवर्तन गरे(हिन्दुबाट बौद्ध ) यसका साथै सोही समयमा लगभग तीन लाख भन्दा बढी दलित समुदायले धर्म परिवर्तन गरेका थिए।
यो घटना भारत स्वतन्त्रता पछिको पहिलो ठुलो घटनाको रुपमा हेरिन्छ।यश उदाहरणको सार के हो भने यस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्याक्तित्वले त जातको कारणले गर्दा अपमानित भएको महसुस हुन्छ भने झन सामान्य अरु मानिसको के हविगत होला ?
एउटा मान्छेले अर्को मान्छेलाइ पनि मान्छे हो भन्ने भान दिलाउन संवैधानिक रुपमा मात्र होइन ब्यक्तिगत मनबाट महसुस गराउन तपाईं हामीले अहिले न गरे कसले कहिले गर्ने?
हरि परियार
रङगेली –८ मोरङ