बेलायतमा रहेर साहित्यका क्षेत्रमा चिनिएको नाम हो शान्ति लिम्बु (खिम्दिङ) ।
उनी बढी जसो कविता, मुक्तक र गीत लेख्छिन् । २०७४ मा उनले. ‘मिलिजुली’ उपन्यास निकालेर आख्यानकारका रूपमा परिचय दिइसकेकी छिन् ।
सात वर्षपछि उनले काव्य विधामा दोस्रो कृति ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी छिन् । यो सङ्ग्रह हाइकु, मुक्तक र गीतहरूको सँगलो हो ।झापादेखि काठमाडौँ हुँदै यूके पुगेकी लिम्बुले आफ्ना आफ्नी छोरीहरू चेरिशा र शान फुङजस्तै आफ्ना दुवै कृतिहरूलाई सन्तान मानेकी छिन् ।
संयोगले सबैको जन्म बेलायतकै माटोमा भएको छ । प्रवासी बसाइँ भनेको यान्त्रिक जीवन हो । सूचना र प्रविधिको विकास विद्युतीय रफ्तारमा भएको छ । यस्तोमा गम्भीर विधाको रसास्वादन सहज छैन ।
सर्जक लिम्बुले समेत छोटा आकारका काव्यिक विधाहरू समात्नुको उद्देश्य पनि पाठकहरूमा सम्प्रेषणको सहज माध्यम रोजेकी हुन् भन्ने सहज अनुमान लाउन सकिन्छ ।पेशाले कम्प्युटर इञ्जिनियर उनी सामाजिक कार्यमा समेत सक्रिय छिन् । उनको व्यस्तताले गर्दा उनले आख्यानबाट आफ्नो गियर साहित्यका लघु विधामा स्थानान्तरण गरेकी छिन् ।
यद्यपि, उनको लेखकीय क्षमता तुलनात्मक रूपमा आख्यान क्षेत्रमा बलियो हो ।‘कस्तुरी यात्रा’ मा जम्मा १०० हाइकु, ३० मुक्तक र २० गीतहरू छन् । तीनै विधाको अधिकांश भावभूमि एकै छ । प्रेमालापका कुरा, परदेशको बसाइँ, संघर्षको कथा, सामाजिक विद्रुपप्रतिको अभिव्यक्ति नै सबै विधामा दोहोरिएका छन् ।
‘प्रत्येक दिन हजारौँ नेपाली युवा युवतीमात्र नभएर जीवनको मध्याद्र्धमा ठूलो नेपाली जमात पनि देश छोडेर विदेशतिर उडदै छन् । उता छिमेकी देशका कति मानिसहरू चन्द्रमा हुँदै मङ्गलग्रहसम्मको यात्रातिर लम्कदैछन् ।
अनि लाग्छ, हामी सबै एक कस्तुरी यात्रामा छौँ । यो पृथ्वी स्वयमले पनि आफ्नै तवरले कस्तुरी यात्रा गरिरहेको छ ।यस्तै यात्रा नै हो, यो ‘कस्तुरी यात्रा’ सङ्ग्रह पनि,’ लेखक लिम्बुले भनेकी छिन् । वास्तवमा उनको आशय नवीन अनुभूति र अनुभवको खोजी नै कस्तुरी हुनु हो ।
उनको लेखनको थिम र विषयवस्तुहरू सरल छन् । बोधगम्य छन् । धेरै दार्शनिक र बोद्धिकताको कुरामा अल्झिनुपर्दैन । सूत्रात्मक हिसाबले मुक्त छन् । यद्यपि, सर्जकले विधाहरूको संरचनागत ज्ञानसँगै कला, शिल्प, भाव, अभिव्यक्ति व्यञ्जनामाथि गम्भीर रूपमा काम गर्नुपर्ने देखिन्छ ।
जापानबाट मौलाएको र संसारकै एक छोटो आकारको कविता मानिएको हाइकुको संरचना ५-७-५ छँदैछ ।तीन लाइनमा १७ अक्षर पुर्याउने कुरामा मात्रै ध्यान दिँदा हाइकुको अन्य अति महत्वपूर्ण कुराहरू छुट्न सक्छन् ।
गजलमा पनि रदिफ र काफियामा मात्रै ध्यान दिँदा यसको गेयात्मकता, लयात्मकता, विषय उठान, विस्तार, व्याख्या र बैठानमा चुकेजस्तो । हाइकुमा ‘किगो’ अनिवार्य मानिन्छ ।हुन त पछिल्लो समय त्यसलाई छाडिएको पनि छ । किगोले ऋतु या यामको कुरा उठाउँछ । ‘किरेजी’ले कविताको प्रवाहलाई सुन्दर ढंगले ब्रेक दिन्छ । विम्ब समीपता हाइकु संरचनाको मूल लक्षण हो ।
हाइकु सम्राट मात्सुओ बासो (सन् १६४४–१६९४)को क्लासिक हाइकु हेरौँ ।
फुरु इके या
काबाजु तोबिकोमु
मिजु नो ओतो
नेपाली अनुवाद:
पुरानो ताल
भ्यागुतो फाल हान्छ
पानीको नाद
माथिको हाइकुमा ‘काबाजी’ प्रयोग गरिएको छ । जसले वसन्त ऋतुलाई संकेत गर्छ ।यसकारण, त्यस याममा देखा पर्ने भ्यागुतोको दृश्य आउँछ । अझ, त्यो उभयचरी प्राणीको आकार पनि तालको पानीमा हाम फालिसकेपछि मात्रै अनुमान गर्न सकिन्छ ।
‘चुप्लुक्’ आवाज निस्किए सानो रहेछ भनेर बुझ्नुपर्छ । दिमागमा ‘छप्ल्याङ’ आवाज आए ठूलो रहेछ भन्ने सम्झनुपर्छ । जापानीमा सँस्कृतिमा कहावत छ कि नभनिएका कुराहरूमा सुन्दरता बढी लुकेको हुन्छ ।र, त्यसमा पाठकहरूले आफ्नो कल्पनाशीलता प्रयोग गर्ने अवसर प्राप्त गर्छन् ।
थोरै शब्दमा धेरै भन्न सक्नु हाइकुको सामथ्र्य हो । सर्जक शान्ति लिम्बुको पाँचौ हाइकुले केही सम्भावनाको ढोका खोलेको छ ।
भीरको फूल
निर्भीक फुलेको छ
रङ्गी बिरङ्गी
हाइकु लेखनमा संरचनासँगै भावकेन्द्रित भए अझ उत्तम हुने थियो । त्यस्तै, कुनै क्षण या दृश्यलाई कैद गर्दै परिप्रेक्ष्यमा जोड्नमा ध्यान दिनुपर्छ । सर्जकका मुक्तकहरूमा पनि आशा, संघर्ष, पूर्णताको चाहना, प्रतिरोध, मानवीयता, आन्तरिक खुशीको खोजहरू भेटिन्छन् ।
यद्यपि, सर्जकले मुक्तकको चरित्रलाई ख्याल गर्नुपर्ने हुन्छ । चार हरफको पद्यात्मक रचना हो मुक्तक । तथापि, पहिलो हरफमा विषय उठान, दोस्रोमा समर्थन, तेस्रो केही स्वतन्त्र र चौथोमा चोटिलो र वजनदार कथन हुन आवश्यक छ ।
फारसी विधा रुवाईबाटै मुक्तक विकसित भएको मानिन्छ ।
जति चोट खाए पनि रुन पाइएन
जिन्दगीमा मान्छेजस्तै हुन पाइएन
हृदयको पूरै माया खन्याउँदा पनि
मन्दिरकी देवीलाई छुन पाइएन
(धनराज गिरी)
प्रस्तुत उदाहरणलाई हेर्दा प्रभावकारिता मुक्तकको सर्त हो भन्ने बुझिन्छ । अनुप्रासको सुन्दर छनोट र अनुभूतिको खँदिलो अभिव्यक्तिको खास भूमिका रहन्छ । सर्जक लिम्बुको मुक्तक २० मा अनिश्चितताको संकेत छ ।
तर, यो अन्यको तुलनामा केही बलियो मुक्तक हो ।
आजभोलि कसैलाई कसैको भर छैन
कलियुगमा दुनियाँलाई दुनियाँको डर छैन
बुद्ध जन्मेको देशमा कति रगत बगे
शान्तिका साथ बस्न बरै यहाँको घर छैन
ओयाम सरोकार समाज काठमाडौँले प्रकाशित गरेको पुस्तकको अन्तिम खण्डमा गीतहरू छन् । कुनै कविताको शैलीमा लेखिएका लामा आकारका छन् ।
कुनै प्रचलित दश हरफेमा रहेका स्थायी र अन्तराहरू छन् । गीतले कोमलता र गेयात्मकतासँगै अनुभूतिको सघनतालाई समात्न सके त्यो सम्प्रेषणी हुन्छ । एघारौँ गीतको पहिलो अन्तरा यो सङ्ग्रहको एक सरल रूपमा लेखिएको सुन्दर अभिव्यक्ति हो ।
नमेटिने गरी दिलमा लेखेँ तिम्रै नाउँ
तिम्रो मेरो बाटो एउटै, एउटै पुग्ने ठाउँ
हिँड्दा हिँड्दै लडेँ भने हात दिने तिमी
सुख होस् या दुःख नै होस् साथ दिने तिमी
यो मुटुमा तिमी नै छौ, हुन्छौ जहिले पनि
सक्दिनँ म धोका दिन तिम्लाई कहिले पनि
काव्यात्मकता बलियो भए सर्जकका अन्य विधाहरू पनि सशक्त हुनेछन् । यसले आख्यानका सबै विधाहरू कथा, उपन्यास, निबन्ध, संस्मरणमा समेत सहयोग गर्छ । गीतकार एवम् मुक्तककार शान्ति लिम्बुको शब्दमाथिको प्रेम नै ठूलो कुरा हो ।
सिर्जनात्मकतालाई साहित्यमार्फत उतार्नु उनको सुन्दर पक्ष हो । अध्ययन, साधना र लगावलाई निरन्तरता दिइरहन सके उनी उपन्यासमाझैँ काव्यिक विधामा समेत स्मरणीय हस्ताक्षर बन्नेछिन् ।
– मिहाङ
पुस्तक विवरण:
कृतिको नाम: कस्तुरी यात्रा (हाइकु, मुक्तक र गीत सङ्ग्रह)
पहिलो संस्करण: जुन, २०२४
कृतिकार: शान्ति लिम्बु
प्रकाशक: ओयाम सरोकार समाज, काठमाडौँ
मूल्य: नेरू ५५०
पृष्ठ: १६१