धरान/ "सहरकै गुणस्तरीय शिक्षा अब गाउँमै" भन्ने नारालाई सार्थक बनाउँदै धरान–६ पानबारीस्थित शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलले ग्रामीण विद्यार्थीलाई अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिँदै आएको छ।
स्मार्ट बोर्डजस्ता डिजिटल प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षामा पहुँच दिन थालेको स्कुलले मोरङको केरावारीदेखि धरानको पानबारी क्षेत्रका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाइरहेको छ।
२०४८ सालमा स्थापना भएको यो निजी विद्यालय साविकको पाँचकन्या गाउँपालिकाभित्रै पहिलो अंग्रेजी माध्यमको शिक्षालयका रूपमा स्थापित छ। झन्डै तीन दशकदेखि सेवा–मुखी शिक्षा प्रदान गर्दै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार स्कुलले अंग्रेजी शिक्षालाई गाउँमै ल्याएर अभिभावकहरूको सपना पुरा गरिदिएको छ।
"पहिला साना छोराछोरीलाई अंग्रेजी पढाउन धरान वा इटहरीसम्म जानुपर्थ्यो, तर अब त्यो बाध्यता हटेको छ," अध्यक्ष सुवेदीले कोशी पत्रसँगको कुराकानीमा बताए, "केराबारी र धरान–६ का विद्यार्थीहरूले अब यहीँबाट मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन गर्न पाउँछन्।"
यो विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू स्कलरशिपसहित इन्जिनियरिङ, नर्सिङ, एमबीबीएसजस्ता विधामा उत्कृष्ट नतिजा ल्याउँदै देश तथा विदेशमा चम्किन सफल भएका छन्। अध्यक्ष सुवेदीका अनुसार एक विद्यार्थी हाल अमेरिकाको विश्वप्रसिद्ध विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन्।
विद्यालयले पछिल्ला वर्षहरूमा कम्प्युटर ल्याब, साइन्स ल्याब, प्ले–स्टेसन, नयाँ फर्निचर जडानजस्ता भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गरेको छ।
साथै स्मार्ट बोर्ड जडानको सुरुवात भइसकेको र सबै कक्षामा विस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष सुवेदीले बताए।
"अबको लक्ष्य गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी र व्यवहारिक शिक्षालाई पनि जोड दिनु हो," उनी भन्छन्, "विद्यार्थीले शिक्षा लिएपछि केही गरेर खान सकून् भन्ने हाम्रो प्रयास हो।"
विद्यालय व्यवस्थापन अध्यक्षको रूपमा सुवेदीले शिक्षा नाफा होइन, सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा राख्छन्।
उनी भन्छन्, "सकारात्मक सोच, समर्पित नेतृत्व र सेवा–भावनाले मात्रै शिक्षालाई परिवर्तन गर्न सकिन्छ।"
शिक्षा सन्देश स्कुलले आगामी दिनमा विद्यार्थीका लागि खेलकुद गतिविधि, डिजिटल सिकाइ प्रणाली र भौतिक संरचनामा अझ सुधार गर्ने योजना बनाएको छ।
गुणस्तरीय शिक्षाको साथसाथै आधुनिक प्रविधिको सदुपयोग गर्दै स्कुलले ग्रामीण भेगका विद्यार्थीका लागि उज्यालो भविष्यको ढोका खोलिरहेको छ।
भिडियो: