धरान/ धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ ।
धरान १३ स्थित सारंङ्गाबाट प्रहरीले आज (बिहीबार) बिहान ९ बजेतिर १४ क्वीन्टल गाँजा बरामद गरेको हो । १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ ।
यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो ।
ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ ।
उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा लोड गरेर गाँजा ल्याइएको थियो ।
ट्रकबाट एक हजार चार सय २० किलोग्राम गाँजा बरामद भएको एसपी रेग्मीले जानकारी दिए । गाँजा बरामद भएसँगै ट्रकमा रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेका छन् ।
उनीहरूले ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।
गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ ।
उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ ।