पछिल्लो समय झापा जिल्लामा परम्परागत (रैथाने) हात्तीको सङ्ख्या बढ्दै गएको समाचार प्रकाशमा आएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईको भनाइ समाचारमा आएको छ ।
२०७५ सालमा हात्तीको सङ्ख्या १०–१२ वटा रहेकोमा अहिले यो सङ्ख्या बढेर ३० पुगेको बताइएको छ । भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती आहाराका लागि यतै बस्न थालेपछि यहाँ हात्तीको सङ्ख्या बढेको हो ।
यसरी हात्तीको सङ्ख्या बढेपछि हात्ती–मानव द्वन्द्व बढ्न थालेको छ । झापामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीले जनधनको क्षति गर्ने क्रम पनि बढेको छ । पहिले हात्ती जिल्लाका निश्चित क्षेत्रमा मात्र देखिन्थे ।
अहिले भने हात्ती जिल्लाभरि देखिन थालेका छन् । यस विषयमा सरकार गम्भीर हुनु आवश्यक छ । हात्तीको उपद्रवले गर्दा सर्वसाधारण त्रसित अवस्थामा बस्न बाध्य छन् ।
हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गरेको कारणले बढी क्षति हुने गरेको छ । अहिले हात्तीले गाउँ–बस्तीमा प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको छ ।
अब मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि सरकार र सम्बन्धित निकायहरू संवेदनशील हुनुपर्छ । यसका लागि विशेष गुरुयोजना बनाउन ढिलाइ गर्नु हुँदैन । विज्ञहरूले मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने सुझाव दिने गरेका छन् ।
विज्ञहरूको सुझावलाई आत्मसात् गरेर तत्काल गुरुयोजना बनाइनुपर्छ ।
अन्यथा मानव–हात्ती द्वन्द्व झन बढ्दै गएर सर्वसाधारणले विस्थापित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
ज्यानको जोखिम बढ्दै गएपछि अन्य विकल्प पनि बाँकी रहने छैन । त्यसैले हात्ती नियन्त्रण गर्न तीनै तहका सरकारले यस विषयमा विशेष ध्यान दिन आवश्यक छ ।
सर्वसाधारणले ढुक्क भएर बाँच्ने वातावरण निर्माण गर्ने दायित्व सरकारकै हो ।
हात्तीले जङ्गलभित्रै बस्ने वातावरण बनाउन हात्ती आहाल बनाउने तथा हात्तीलाई मन पर्ने फलपूmल तथा बोटबिरुवा लगाउने कार्यमा तीव्रता दिइनुपर्छ ।