विराटनगर/ कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् ।
गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखी २४ घण्टा नै जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ ।
प्रदेश सुशासन ऐन २०७६ अनुसार हेल्लो सिएम सुरु गरिएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए ।उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताए ।
सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।
जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालिन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि सासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।