धनकुटा/ बजेट लगायत विभिन्न विषयमा पटक–पटक वसेको कार्यपालिका वैठकमा सहमति हुन नसक्दा साँगुरीगढी गाउँपालिकाले बजेट ल्याउन सकेन ।
तोकिएको समय भरिमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिकामा बजेट होलिडे भएको छ ।
बजेट होलिडे हुँदा दैनिक प्रशासनिक काम ठप्प भएको छ । राजश्व संकलन समेत रोकिएको छ । समयमै बजेट ल्याउन नसक्दा साँगुरीगढी गाउँपालिका दैनिक खर्च गर्न नपाउने अवस्थामा पुगेको छ ।
बजेट होलिडेको अवस्थामा अत्यावश्यक बाहेक शिर्षकमा खर्च गर्न पाइँदैन ।
स्थानीय तहले १० असार भित्र गाउँ सभामा बजेट पेश गर्नु पर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्छ संवैधानिक व्यवस्था छ ।
तर साँगुरीगढी गाउँपालिकाको कार्यपालिका वैठक पटक–पटक वसेपनि जनप्रतिनिधिहरु वीच सहमति जुट्न सकेको छैन ।
कार्यपालिका वैठकमा जेसिभी खरिदको विवाद रहेको छ । गाउँपालिकाले गतवर्ष एउटा जेसिभि खरिद गरेको थियो । फेरी अर्को जेसिभी खरिद गर्ने की नगर्ने विषयमा सहमति नजुट्दा पछिल्लो ९ पटक वसेको कार्यपालिका वैठक विना निष्कर्ष टुंगिएको थियो ।
कार्यपालिका सदस्य वालकृष्ण राईले जेसिभी खरिद लगायत अन्य विषयमा गाउँपालिका अध्यक्षले निकास दिनका लागि विधि र पद्धतीलाई चासो नदिँदा समयमै वजेट आउन नसकेको बताए ।
वैठकमा सदस्यहरु वीच सहमति नजुट्दा समाधानको लागि लोकतान्त्रिक विधि र प्रक्रिया हुन्छन् । तर अध्यक्ष एकलौटी ढंगले अगाडी वढ्न खोज्दा सहमति हुन सकेन ।
उनले गतवर्ष सहमति भएको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । गतवर्ष नै गाउँपालिकामा दुई वटा जेसिभी खरिदका लागि गाउँ विपद् व्यवस्थापन समितिबाट सिफारिस भएको थियो । कार्यपालिका वैठकले खरिदका लागि पास गरेको थियो ।
दुई वटा खरिदका लागि वजेटको व्यवस्था भएन । एउटा मात्र खरिद गरियो ।
गाउँपालिकालाई दुई वटा जेसिभी आवश्यक छ । अहिले असारको अन्तिम सम्मा पनि टेण्डर मार्फत् १ देखि ३ लाख सम्मका योजना सम्पन्न नभई म्याद थप्नु गरेको स्थिति छ । कार्यविधि निर्माण गरेर दुई वटा जेसिभी संचालन गर्दा गाउँपालिकालाई आम्दानी हुने उनको दावी छ ।
यता साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जेसिभी खरिदको विषयमा सहमति नहुँदा बजेट रोकिएको बताए । गतवर्ष एउटा जेसिभी खरिद गरिएकोले गाउँपालिकाले अर्को जेसिभि खरिद गर्दा व्ययभार वढ्ने भएकाले सदस्यहरु वीच नै मतभेद सिर्जना भएको बताए ।
सहमतिको लागि पटक पटक छलफल गरे पनि सहमति नभएको र बजेट होलिडे सम्मको अवस्था सिर्जना भएको बताए ।
साँगुरीगढी गाउँपालिकाको कार्यपालिकामा एमाले निटक जनप्रतिनिधिहरुको वहुमत छ ।
कांग्रेस निकट अध्यक्ष सहित कार्यपालिका सदस्य छन् । जेसिभि खरिदको विषयमा नेकपा एमाले र कांग्रेस निकट जनप्रतिनिधि विच विवाद रहेको छ ।