धरान/ कोशी प्रदेशमै छात्रामात्र अध्ययन गर्ने धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औँ वर्ष पुरा गरेको अवसरमा हीरक महोत्सव मंगलबारदेखि शुरु भएको छ ।
विद्यालय भवन परिषरमै आयोजित कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले गरे । तीन दिनसम्म चल्ने सो महोत्सवको उद्घाटन पश्चात बोल्दै मेयर राईले स्थानीय सरकार धरान उपमहानगरपालिकाले शिक्षामा लगानी बढाउने बताए ।
उनले अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताऐ ।
उनले विगतको तुलनामा यस बर्षदेखि २० देखि ३० लाख बजेट शिक्षा क्षेत्रलाई छुट्याउने बताए । उनले बालिका स्कुल छात्रामात्र पढ्ने कोशी प्रदेशकै नमूना विद्यालय भएको र यसले ७५ बर्ष पार गरिसकेकोले यसको शैक्षिक गुणस्तरमा उपमहानगरपालिकाले थप योजना अगाडि ल्याउने बताए ।
वि.सं. २००४ सालमा स्थापना भएको यो विद्यालयमा व्यवासायिक शिक्षा दिदै आएको व्यवस्थापन समितिले जनाएको छ ।
व्यवस्थापन समितिकी अध्यक्ष इवा श्रेष्ठले यो विद्यालयले छात्राहरुको शैक्षिक अभिवृद्धिसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको बताइन् । उनले समयको माग अनुसार यस बर्षदेखि धरान उपमहानगरपालिकामार्फत कक्षा ११ र १२ का लागि व्युटिसिन कक्षा सञ्चालन गरेको बताइन् ।
तीनदिनसम्म चल्ने महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् ।
अभिभावकहरूमा क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविर सञ्चालन गरिने भएको छ ।
छात्रालाई खेलप्रति आकर्षित गर्दै छात्रा खेलाडी उत्पादन गर्न नगर स्तरीय छात्रा भलिबल प्रतियोगिताको आयोजना गर्दै अतिरिक्त क्रियाकलामा कविता प्रतियोगिता, नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सहित महोत्सव समापन जनाइएको छ ।
हाल यस विद्यालयमा ५ सय छात्राहरु अध्ययनरत छन् । विद्यालय परिसरमा २५ जना छात्रा बस्ने छात्रावास छ । फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट र परिसर भित्रै क्यान्टिन पनि सञ्चालनमा छ ।
विद्यालयमा ४४ जना छात्रवृत्ति दाताहरूबाट ३२ लाख छात्रवृत्ति कोषमा स्थापना गरिएको छ । उक्त कोषबाट वार्षिक दुई दर्जन गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।