धरान/ पाठेघरको मुखको समस्या हुदा समेत महिलाहरु लाजका कारण अगाडि आउन नसकेको अवस्थामा धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर वडाका सबै ठाउँमा निःशुल्क चेकजाँच अभियान चलाएको छ ।
महिलामा भएको पाठेघरसम्बन्धी समस्या न्युनिकरण गर्ने उद्दश्यले नगरका सबै वडाहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
पछिल्लो समय महिलाहरुमा हुने पाठेघरको समस्या महिलाहरुमा सचेत नहुदा बढ्दै गएको पाइएपछि धरान उपमहानगरपालिकाले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर २० वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क चेकजाँच शुरु गरेको हो ।
धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भएको यो अभियान आइतबार धरान ८ मा सम्पन्न हुदैछ । शुक्रबार यो अभियान अन्तर्गत धरान ३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
वडा कार्यालय अगाडि राखिएको सो शिविरमा १ सय २० भन्दा बढी महिलाहरुले चेकजाँच गरेका थिए ।
विगतदेखि नै पाठेघरको समस्या भएका तर गरिबी लगायत विविध कारणले चेकजाँच गराउन नपाएकाहरु बढी लाभन्वित भएकौ बाबाधाम टोलविकास समितिकी अध्यक्ष जमुना रानाले बताइन् ।
वडाले किटमार्फत महिलाहरुको पाठेघरको समस्या चेकजाँच गरिएको थियो । यसको रिपार्ट भने १५ दिनमा आउने चेकजाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यसलाई एच विवि डिएनए प्रविधि समेत भन्ने गरिएको चेकजाँचमा संलग्नहरुले बताएका छन् ।
महिलाहरुबाट लिएको स्याम्पल प्रदेश ल्याब विराटनगरमा चेकजाँच गरिने स्वास्थ्यकर्मी अम्बिका पोख्रेलले जानकारी दिइन् ।
लाजका कारण चेकजाँच नगराउने महिला दिदीबहिनीहरुलाई लक्षित गरी टिएलओमार्फत सूचना प्रवाह गरेर चेकजाँज गरिएको ३ नं. वडा कार्यालयका अध्यक्ष विद्या शाक्यले बताए ।
विश्वमै पाठेघरको मुखको क्यान्सर भयावह अवस्था रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।
विश्वमा हरेक बर्ष ५ लाख १० हजार विरामी थपिने गरेका छन् भने यो रोगबाट २ लाख ८८ हजारको मृत्यु हुने गरेको छ ।
नेपालमा भने बार्षिक ३ हजार भन्दा बढी पाठेघरको क्यान्सरको विरामी थपिने र १ हजार ८ सयले ज्यान गुमाउनुपर्ने अवस्था रहेको तथ्यांक छ ।
यो रोगको न्यूनिकरणका लागि नेपाल सरकारले अभियान चालेको छ । सोही अभियान अन्तर्गत सरकारले वडा वडाबाट चेकजाँज अभियान शुरु गरेको हो ।