धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिने आधारभूत पत्रकारिता कार्यशाला सम्पन्न भएको छ ।
महाविद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि आयोजित सो कार्यशालामा चारओटा सेक्सनका गरी १३२ जना विद्यार्थी सहभागी भएका थिए ।
राष्ट्रगानबाट सुरु भएको कार्यशालाको उद्घाटन महाविद्यालयका प्राचार्य रवीन्द्र थापा, महाविद्यालयका व्यवस्थापकीय अधिकृत एवम् प्रमुख सेनानी शान्तकुमार थापा र प्रशिक्षक राजेश विद्रोहीले संयुक्त रुपमा गरेका थिए ।
उनीहरूले पानसमा दीप प्रज्ज्वलन गरी सरस्वती देवीको तस्विरमा माल्यार्पण गरेका थिए ।
कार्यशालाका क्रममा प्रशिक्षक एवम् कोशीपत्र दैनिकका सम्पादक विद्रोहीले सञ्चार, पत्रकारिता र समाचारबारे विद्यार्थीहरुलाई आधारभूत जानकारी दिएका थिए ।
उनले विद्यार्थीहरूलाई समाचार र सम्पादकीय लेखनका साथै सम्पादकलाई चिट्ठी लेख्ने विषयमा प्रशिक्षण दिएका थिए ।
प्राचार्य थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाविद्यालयका सहायक प्राचार्य केशव विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयकै शिक्षक लीलाप्रसाद भट्टराईद्वारा सञ्चालित कार्यक्रमका अन्त्यमा विद्यार्थीहरूले नमुना समाचार तयार पारेका थिए ।
उनीहरूमध्ये केही विद्यार्थीले समाचार वाचन गरेर पनि सुनाएका थिए ।
विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने र पाठ्यक्रममा समावेश गरिएको विषयमा सम्बन्धित विज्ञबाटै विशेष ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य थापाले बताए ।
कार्यक्रमको संयोजन महाविद्यालयमा नेपाली भाषा विभागका प्रमुख मधुसूदन घिमिरेले गरेका थिए ।