आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका छन् ।
रोजगारीका लागि विदेशिने क्रम चालू आर्थिक वर्षका प्रारम्भिक महिनामा केही कम भएको थियो तर हिउँदमा यो क्रम निरन्तर बढ्न थालेको छ । यस वर्ष सुरुका महिनाको तुलनामा मङ्सिर र पुसमा विदेशिने क्रम उच्च दरले बढ्न थालेको देखिएको छ ।
गत साउन महिनामा कामको खोजीमा ५५ हजार ५ सय ७५ जना नेपाली विदेशिएका थिए ।
पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) गएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसो त नेपालीहरू कामकै खोजीमा कहिल्यै नाम नै नसुनेका देशहरूमा पनि गएका छन् ।
रुस–युक्रेन अहिले पनि जारी छ । कामका लागि रुसमा जान नेपाल सरकारले प्रतिबन्ध लगाए पनि नेपाली युवा त्यहाँ जाने क्रम रोकिएको छैन ।
रुसी सेनामा भर्ना भएका नेपाली युवाले सो रुस–युक्रेन युद्धमा ज्यान गुमाएका समाचारहरू प्रकाशित हुन थालेपछि नेपाल सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको हो तर नेपाली युवा आप्mनो ज्यानको माया मारेर भए पनि रोजगारका लागि रुस गइरहेकै छन् ।
गत असोज तेस्रो साता हमास विद्रोहीले गरेको आक्रमणको जवाफमा इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ ।
यस क्रममा २२ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यस युद्धका क्रममा १० जना नेपालीले पनि ज्यान गुमाएका छन् । यस्तो जोखिमपूर्ण अवस्थामा पनि नेपालीहरू इजरायल जाने क्रम रोकिएको छैन ।
यो वर्ष ६ महिनामा ३ सय १७ नेपाली श्रम स्वीकृति लिएर इजरायल गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
यो अत्यन्तै कहालीलाग्दो अवस्था हो । अब प्रश्न उठ्छ – के नेपाली युवा रहरले विदेश जाँदैछन् ? जोखिम मोलेरै भए पनि रोजगारका लागि विदेशी भूमिमा जानु नेपाली युवाको रहर हो कि बाध्यता ? उत्तर सहज छ – उनीहरू रहरले होइन, बाध्यताले गएका हुन् ।
स्वदेशमा रोगारीको अवसर नपाएपछि उनीहरू आप्mनो र परिवारको भविष्य निर्माणका लागि विदेश गएका हुन् । जीविकोपार्जनका लागि स्वदेशमै उचित वातावरण बन्ने हो भने वा स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास गर्ने अवस्था सिर्जना हुने हो भने धेरै नेपाली नागरिकहरू विदेश जाने थिएनन् ।
युवालाई स्वदेशमै रोक्न सरकारले विशेष नीति तथा कार्यक्रम बनाउनु आवश्यक छ । न यहाँको शिक्षामा आकर्षण छ, न त रोजगारको अवसर उपलब्ध छ । यसले गर्दा देश युवाविहीन बन्ने क्रम बढ्दो छ । यसतर्पm सरकार गम्भीर र संवेदनशील बन्नु आवश्यक छ ।