मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिन संसारभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर श्रमिक–मजदुरका हक अधिकारबारे चर्चा गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झना गर्दै विश्वभर यसै दिन श्रमिक दिवस मनाउने गरिन्छ ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोटमा कसको संलग्नता थियो भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गरेको थियो । त्यस बेला प्रहरीको गोली लागेर सातजना मजदुरको ज्यान गयो । दमन भए पनि अन्ततः मजदुर आन्दोलन सफल भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष अङ्ग्र्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिएको छ । विश्वभरिका मजदुरहरूले यस दिवसलाई पर्वका रूपमा मनाउने गरेका छन् ।
उनीहरूले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दवाब दिने उद्देश्यले यो दिन विभिन्न कार्यक्रम गरी मनाउँछन् । विराटनरगमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा पनि यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
सोमबार (हिजो) मे १ का दिन १३४ औँ श्रमिक दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिए । श्रम गरेर जीवन चलाउने मजदुरका हक–अधिकार प्राप्तिका लागि भएको सङ्घर्षलाई स्मरण गराउने यो दिवसमा विभिन्न कार्यक्रम गरिए पनि श्रमिकहरू भने यसबारे बेखबर नै रहे ।
अरूले श्रमिक दिवसको बिदा पाए पनि मजदुरहरू भने आ–आप्mनो कार्यक्षेत्रमा खटिन बाध्य भए । यस्तो दिवसले उनीहरूलाई नछुनु विडम्बनाको विषय हो । मजदुरकै नाममा अनेक कार्यक्रम भए पनि उनीहरूका दुःखकष्ट भने उस्तै छन् । उनीहरूको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन ।
न रोजगारीको प्रत्याभूति छ, न उचित पारिश्रमिक छ । त्यै पनि उनीहरू काम गर्न बाध्य छन् ।
सङ्गठित रूपमा काम गरिरहेका मजदुरका लागि विभिन्न सङ्गठनले आन्दोलन गर्ने गरेका छन्, तर कृषि र अन्य क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने असङ्गठित मजदुरका पक्षमा भने बोलिदिने कोही छैन ।
उनीहरूका पक्षमा आवाज उठाउनु आवश्यक देखिन्छ । त्यस्ता मजदुरहरू र तिनका परिवारका लागि सरकारले विशेष व्यवस्था गर्नु आवश्यक छ । तिनका बालबालिकाहरू शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । उनीहरूका लागि राज्यले नीतिगत रूपमै व्यवस्था गर्नुपर्छ ।
मजदुर दिवस औपचारिकतामा सीमित भएको छ । वर्षको एक दिन नारा घन्काएर कार्यक्रम गर्दैमा मजदुरहरूको हित हुँदैन । उनीहरूका पक्षमा निरन्तर खबरदारी आवश्यक छ ।