चिया किसानको पीडा: नेताले जिते चिया किसानले हारे

  • कार्तिक १७, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम/ आगामी मङ्सिर चारमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहौल निक्कै तातेको छ । उम्मेद्वारहरु यति बेला आफ्ना कार्यकर्ता रिझाउँदै घर घरमा पुगेका छन् । चुनावी माहौल तातिँदै गर्दापनि इलामका चिया किसानलाई भने अहिले सम्म चुनावले छोएको छैन ।
उनीहरु भन्छन्–‘जसलाई जिताए पनि हाम्रो समस्या कहिल्यै समाधान हुन सकेन ।’ देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर चिया टिपेर, बेचेर दैनिकी चलाउँदै आएका छन् । चिया मजदुरी गरेर गरेर परिवारको शिक्षादिक्षासँगै परिवारको लालनपोषण गर्ने गर्छन् ।

यो क्षेत्रबाट जसले जितेर गए पनि आफू जस्ता मजदुरलाई नहेरेको गुनासो उनको छ । उनी भन्छन् ‘ धेरै नेतालाई भोट दिएर राज्यको निर्णायक तहमा पु¥यायौ, तर हाम्रो समस्या कसैले हेरेन ।’ गरिब किसानले अहिले सम्म राहत पाउन नसकेको अधिकारीको दुखेसो छ । अबको निर्वाचनबाट चिया किसानका लागि मल बिउ पर्याप्त मात्रामा पु¥याउने नेताको आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्, ‘चिया टिप्दा प्रयोग हुने डोकाजस्ता अत्यावश्यक कुरा नेपाल सरकारले उपलब्ध गराइदिए हामीलाई पनि सहज हुने थियो ।’

चिया टिप्दा खुट्टामा लगाउने गम्बुट, हातमा लगाउने पन्जा, प्लास्टिकका डोकाजस्ता आधारभूत वस्तुहरू नेपाल सरकारले उपलब्ध गराइदिए सहज हुने थियो ।’ अहिले चिया टिप्दा चोयाबाट बुनेका डोका प्रयोग हुँदै आएका छन् । बर्खामा चिया टिप्दा भिज्ने र १५ दिन सम्म पनि नथाम्ने भएको कारण चिया टिप्न आधुनिक प्लास्टिकका डोका आवश्यक रहेको भनाई छ । हातले भन्दा मेसिनबाट चिया टिप्न छिटो हुने भएकाले विभिन्न औजारहरू सरकारले उपलब्ध गराइदिए सहज हुने अधिकारीको भनाई छ । उनी भन्छन्, ‘हातले पाँच किलो सम्म टिपिन्थ्यो भने मेसिनले २० किलो सम्म टिप्न सकिन्छ ।’
इलामको देउमाई नगरपालिका ८ की प्रेमीमाया तामाङ चिया टिप्न व्यस्त छिन । बिहान बेलुका घरको काम गरेर दिउँसो चिया टिप्न निस्कने तामाङको दैनिकी मजदुरीमै बित्ने गर्दछ । चिया मजदुरी गरिरहेका किसान यो वर्षको अन्तिम चिया टिप्दै छन् । उनको मजदुरी अव नयाँ चिया उत्पादन नभएसम्म सकिँदै छ । उनी यसरी दिनैपिच्छे रोजगारी नपाउने भन्दै रोजगारी गरेर खानेहरूका लागि सरकारले रोजगारी पाउने गरीको बनाइदिए दैनिकी चलाउन सकिने बताउँछिन् ।

देउमाई नगरपालिका ३ का उमाराम अधिकारी पनि चिया मजदुर हुन । चोक चोकमा चुनावको चर्चा चलिरहँदा उनी डोको बोकेर चिया बगानमा चिया टिप्न व्यस्त छन् । पाँच वर्ष अगाडिको निर्वाचनमा भोट माग्न नेता आउँदा सबै समस्या समाधान गर्ने भन्दै आश्वासन बाँडे पनि पूरा गर्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘किसानका लागि सुविधा भनेको बाटो र खानेपानी रहेछ, आवश्यक पर्दा बाटो सजिलो भए बिरामी हुँदा जुनसुकै बेला उपचारमा जान सकिने थियो अर्को कुरा यहाँ खनेपानीको समस्या छ यति पूरा गर्दिए हामीलाई पुग्थ्यो ।’

तामाङ र अधिकारी प्रतिनिधि पात्र मात्र हुन । इलामका अधिकांश किसान चिया खेतिमा आबद्ध छन् । धेरै जसो मजदुर चिया बगानमा काम गर्छन् । जिविको पार्जनको मुख्य श्रोत रहेको चिया खेतिमा भएका समस्या अहिलेसम्म सम्बोधन हुन सकेका छैनन् । यस अघिका निर्वाचनमा पटक पटक समस्या राख्दा आश्वासन पाए पनि पूरा हुन नसकेपछि अबको निर्वाचनमा पनि तिनै समस्या देखाउन किसान बाध्य भएको बताउँछन् । चियाको बजारीकरण र मूल्यमा त समस्या छँदै छ, चियामा लगाउने मल, टिप्ने औजार, पन्जा, गम्बुट, डोको जस्ता आधारभूत आवश्यकता नै पाउन नसकेको उनीहरुको गुनासो छ । निर्वाचन हुने भएसँगै उम्मेदवारले चियाका समस्या समाधान गर्ने बाचा त गर्छन् तर अहिले सम्म कार्यान्वयन नगरेको किसानको गुनासो छ । सरकारले पनि चियाका लागि अहिलेसम्म बजेट विनियोजन नगरेको उनीहरुको गुनासो छ । कृषिमा बजेट छुट्ट्याएपनि वास्तविक चिया किसानले नपाएको उनीहरुको दुःखेसो छ ।

चिया खेति सुरु भएको यति लामो समय बितिसक्दा पनि चिया किसानका समस्यामा कसैका आँखा पुगेका छैनन् । इलामको सूर्योदय नगरपालिकामा सबैभन्दा बढी चिया खेती हुने गरेको छ । जिल्लाका इलाम, माई र देउमाई नगरपालिकाका अधिकांश किसान चिया खेतिमा आबद्ध छन् । वि.सं. १९२० मा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिएपछि थापाले इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ ।

त्यसपछि पूर्वी पहाडका पाखा पखेरामा चिया खेति हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेति भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेति विस्तार हुन सकेको छैन । चिया तथा कफी विकास बोर्डको २०७७÷०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९ सय २० हेक्टरमा चिया खेती हुन्छ । जसबाट २३ हजार सात सय ४५ दशमलव ९ मेट्रिकटन चिया उत्पादन हुने गर्दछ । तथ्याङ्क अनुसार इलाम जिल्लामा सात हजार दुई सय ३६ हेक्टरबाट ६४ लाख ३१ हजार तीन सय ३० किलो चिया उत्पादन हुने गर्दछ । जुन जम्मा क्षेत्रफलको झन्डै आधा इलाममा मात्र खेति हुने गरेको पाइन्छ ।

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved