खुवालुङ (ढुङ्गाको बाटो ) ‘क्रोनिकल डिस्अर्डर’ : उपकथाले मिचेको मूलकथा

  • आश्विन ३, २०७९
  • नवराज विष्ट
alt

चलचित्र निर्माताहरु आफ्ना चलचित्रको निर्मम समीक्षा सुन्न चाहँदैनन् । किनभने चलचित्र चल्दैन । घाटा हुन्छ । एकाङ्की र नाटक निर्माताहरुको मनोदशा पनि यो भन्दा भिन्न नहुनसक्ला ।
तर सर्जकहरु समालोचनात्मक चेतलाई सम्मान गर्छन् । र सच्चिन्छन् पनि । म समाचार लेख्ने मान्छे हुँ । हामी समाचारलाई अन्तिमसम्म सम्पादन गर्छौं । समाचारको मर्म सम्पादनसँग हुन्छ । अहिले सिर्जनाहरु पनि सम्पादन हुन्छन् । आख्यानमात्र होइन । कविता पनि सम्पादन हुन्छन् । र तिनका सम्पादक हुन्छन् ।

नाटक मञ्चनीय विधा हुनाले यसलाई मिहिन ढङगले प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । काठमाडौंमा ४२ अङ्क सफल मञ्चन भइसकेपछि नाटक ‘खुवालुङ’ ढुङ्गाको बाटो ... धरानमा मञ्चन भइरहेको छ । नाटक खुवालुङको सर्वत्र प्रशंसा र चर्चा छ । यो आदिवासी जनजातिको आस्था, सभ्यता, संस्कृति र सौन्दर्यसँग सम्बन्धित नाटक हो । जसले आदिवासी जीवनपद्धति र अस्तित्वलाई स्थापना गरेको छ ।
पृथ्वीमा मानिसको उत्पत्ति भयो । प्रकृतिले जीवन जिउने सीप दियो । उसले बाँचिरहन विभिन्न कला आर्जन गर्दै गयो । आदिम सिकारीबाट कृषि युगमा प्रवेश गरेको मान्छेले प्राकृतिक विपत्ति खेप्दै गयो । आवादीको विस्तारमा लालायित मान्छेले महामारी झेल्यो । खोरिया, भस्मे फाँड्दै जाँदा वैरी पनि कमायो ।
माटो र भाग्य मान्छेका लागि ‘माङ’ (देउता) ले लेखिदिएको हुनुपर्छ । जति छ, भोगचलन त्यति मात्रै हुन्छ । माटोले मात्रै पुग्दैन, मान्छेलाई अब बाटो पनि चाहिन्छ । पृथ्वीमा मान्छेले आफ्नो सभ्यताको विकास र विस्तार गर्दै अगाडि बढ्नुपर्छ ।

यो नाटक हेरेपछि वास्तवमा नेपालमा पूर्वी सभ्यताको विकासलाई किरात कालीन युगको आलोकमा हेर्ने हो भने त्यसको उद्गम विन्दू र सभ्यताको विकासमा ती आदिम धर्तीपुत्रहरुको जीवन संघर्ष, बलिदानी र आणुवांशिक विकासका लागि गरेको जीवनको जोहोलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको पाइन्छ ।
नाटक खुवालुङले हाम्रो मुलुकको प्राचीन सभ्यता शुरु हुनु भन्दा अघिका विभिन्न ४ चरणलाई मिहिन ढंगले उजागर गर्ने प्रयास गरेको छ । पहिलो पाषाणकालीन युगमा मानिसको प्राणीप्रतिको आशक्ति र आश्रय, दोस्रो कृषि र वनस्पतिमा मानिसको आश्रय, तेस्रो आवादीको युग र बसोबासको समय साथै चौंथो राज्य विस्तार र मानव युद्धको सुरुवातको समय । यसपछि मात्र एउटै झुण्डमा बस्ने मानिस विभक्त भएर सभ्यताको विकासका चरणमा अघि बढेको पाइन्छ ।

यही विकास चरणको प्रारम्भिक विन्दू किरात सभ्यता, धर्म, संस्कृति, संस्कार त्यही खुवालुङबाट सुरु भएको छ । र नाटकको केन्द्र पनि यही नै हो । माङको इच्छा, चाहाना र उसैले देखाइदिएको बाटो त्यही खुवालुङ भएर जान्छ । र, आज पनि त्यो सभ्यता बाँचेका मान्छेहरु भन्छन्, ‘त्यो ढुंगा मात्र होइन हाम्रो माङ हो ।’
नाटक ‘खुवालुङ’ को यो प्रयासलाई हाम्रो भूगोलको प्राचीनतम सभ्यता किरात सभ्यताको आलोकमा हेर्ने प्रयत्न गर्नुपर्ने हुन्छ ।
मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङद्वारा लिखित र किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको १ घण्टा ४० मिनेटको नाटक धरानमा साँझ ५ बजेदेखि नियमित मञ्चन भइरहेको छ ।
आज हाम्रो समयमा हामी त्यही खुवालुङको सेरोफेरोमा छौं । यो हाम्रो भूगोलले, हाम्रो समयले यो हाम्रो प्रदेशले यो नाटक एकपटक अवश्य हेर्नैपर्छ ।
आख्यानकार मुकारुङका लेखनतिर म जान्नँ । किनभने त्यो कहीँ कवितात्मक छ । कहीँ गेयात्मक छ । संगीतबद्ध छ । झर्रा, टेठ, पाल्सी, तीनै शब्दशक्तिका प्रयोग भएका, समग्रमा हाम्रो भूगोल सुहाउँदो लवज छ । भाषा उसैगरी खस भाषिका र माझ किरातको मीठासले भरिएको छ ।

नाटकमा ‘प्रोप्स’, प्रतीक र बिम्बतिर पनि जान चाहिँन । तर उल्लेखीय कुरो भनेको चाहिं कलाकारको संवाद र अभिनयको जीवन्तता हो । त्यही भएर पनि म नाटक हेर्न मन पराउँछु । कलाकारको जीवन्त अभिनयले कति ठाउँ कुत्कुती लगाएर जान्छ । कति ठाउँ चिमोटेर जान्छ । कति ठाउँ भक्कानो फुटाउँछ । कति ठाउँ आँखाबाट आँशु खसाउँछ ।
नाटकको शीर्षक सार्थकताको विषयमा मैले किन जान्ने हुन पर्यो र ? खुवालुङ किरातकालीन सभ्यताको कोशेढुंगो हो । र नाटकको शीर्षक ‘खुवालुङ ढुंगाको बाटो’ राखिएको छ । यत्ति हो नबुझेको कुरो खुवालुङ भनेको ढुंगाको बाटो हो भन्न खोजिएको हो कि के ? त्यो नबुझेर त्यसलाई मैले शीर्षकमा कट्टा लगाइदिएको छु ।
होइन भने नाटकअनुसार त ‘खुवालुङ’ माङले देखाइदिएको नयाँ गन्तव्यको सुरुवात हो । जीवनको सम्भावना हो । संस्कार हो । संस्कृति हो । धर्म हो । प्रकृतिको वरदान हो । नयाँ घर हो । नयाँ आवादी हो । र सन्तान, दरसन्तानहरुको सुरक्षित भाग्य र भविष्य हो ।

नाटक र कालाक्रमिक विचलन
किरातकालीन सभ्यताको विकास हुनुभन्दा अगाडि वा भनौं किरातहरुले खुवालुङ तर्नु अघि उनीहरु एउटा झुण्डमा थिए । त्यस झुण्डमा रहँदा उनीहरु पाषाणकालीन युगमा थिए ।
नाटककै विषयवस्तु लिने हो भने किरातीहरुको नेपालमा अस्तित्व पाषाणकालीन समयमै रहेको थियो । अर्कातिर आधुनिक समयका किरातीहरुले उनीहरुका पुर्खाहरु ह्वाङ्हो नदीको किनारै किनार हालको नेपालतर्फ प्रवेश गरेको पुर्खाहरुबाट सुन्दै आएका छन् ।

नाटक अनुसार पाषाण कालमा किरातीहरु जनावारको सिकार गरी जीवन गुजारा गर्थे । जीवनयापन गर्दै जाँदा कालान्तरमा अब सिकार मर्न छाड्यो । सिकार किन मरेन ? माङलाई पुकारा गरी ल्याउँदा, हेरी ल्याउँदा उनीहरुको भाग– भोग त्यस ठाउँमा समाप्त भएको रहेछ । उनीहरु त्यस ठाउँ छाडी अर्कै नयाँ ठाउँको खोजीमा लाग्छन् ।
यो दृश्यले प्रतीकात्मक रुपमा पाषाण युगको अन्त्य भई सभ्यता कृषि युगमा प्रवेश गरेको बुझ्न सकिन्छ । स्थानान्तरणको युगमा अब जनावार जन्तु होइन, मान्छेले जोतभोग र माटोमा आश्रय लिनुपर्ने हुन्छ ।
कृषि युगमा प्रवेश गरेपछि कालान्तरमा किरातीहरुले खोरिया फाँडेर निर्माण गरेको आवादिमाथि शत्रुको आँखा लाग्छ । र, आफ्नो भूमि बचाउन किरातीहरुले युद्ध गर्छन् । र, यो युद्ध तत्कालीन कुँवर साशकसँग भएको उल्लेख छ । ठ्याक्कै यहाँको ऐतिहासिकता र ‘टाइम फ्रेम’ हेर्दा नाटक क्रोनिकल डिसअर्डर (कालाक्रमिक विचलन) को भूमरीमा फसेको हो कि भन्ने लाग्छ । अर्थात् ऐतिहासिक विवरणको क्रमसंगत विचलनतर्फ ।
कहाँको कृषि युगको सुरुवाती समय, कहाँको कुँवर साम्राज्यको युग ।

एउटा कविलामा बसेका किरातीहरुमाथि कुँवरको आक्रमण भएको समयलाई ऐतिहासिक कालखण्डमा हेर्ने हो भने यो १७ औं शताब्दीको कुरा हुन आउँछ । आजभन्दा ४ सय वर्ष अघिको कुरा । जतिबेला कुँवरहरु साम्राज्य विस्तार गर्न युद्धमा निस्कन्थे । उनीहरु काजी थिए ।
तर, आजभन्दा ४ सय वर्षअघि किराती समुदाय कविलामा मात्र थियो त ? उनीहरुको सभ्यता विकास भएको थिएन त ?
नेपालको प्राचीन तथा ऐतिहासिक राजनीतिको प्रामाणिकता हेर्दा किरात काल नै पहिलो भन्ने बुझिन्छ । हुन त गोपाल र महिषपाल वंशको पनि उल्लेख छ । तर त्यो अपुष्ट छ । प्रामाणिक तथ्यअनुसार २५ सय वर्षअघिदेखि किरातको अस्तित्व छ । र उनीहरुले ८०० वर्ष शासन चलाएका छन् ।
१७६८ पछिमात्र पृथ्वीनारायण शाहलाई भेटिन्छ र उनका कुँवर काजीहरुलाई देखिन्छ ।
स्थानीयतामा पनि यो समयलाई हेरिहेरौं । किरातीहरु चारकोशे झाडी दक्षिणको तराईको समथरभूमिमा आइपुगेको हुनुपर्छ । युद्धपछि किरातीहरुको विजय भएको छ । युद्ध जितेपछि कालान्तरमा वैरीले मात्र होइन प्रकृतिले अर्थात् महामारीले पनि किरातीहरुमाथि आक्रमण गरेको छ ।
यो कुन महामारीको कुरा हो ? कतै औलो त होइन ?
यो महामारीको समय भनेको सेनवंशी राजाहरुको समय हो । जहाँ कोशीको किनारमा रहेको गुप्त वराहमा राजा मुकुन्द सेन (१८०९–१८३९) लाई औलो लागेको र औलिया बाबाले औलो झारेको ऐतिहासिक तथ्यमा पाइन्छ ।

महामारीका कारण धेरै किरातीहरुको ज्यान जान्छ । जनावर मारेर खाँदा पनि भएन माटोमा अन्न उमारेर खाँदा पनि भएन । वैरी लाग्यो । महामारीले सोत्तर पार्यो किन ? माङलाई बुझी ल्याउँदा, हेरिल्याउँदा फेरि यो ठाउँमा किरातीहरुको जोतभोग सकिएको देखिन्छ । र, माङकै सदीक्षा र निर्देशअनुसार उनीहरु अरुण, तमर, दूधकोशीको संगम भएको ठाउँ खुवालुङबाट उत्तरतर्फ लाग्छन् ।
त्यहाँबाट मात्र नयाँ किराती सभ्यताको सुरुवात भएको पाइन्छ । के किरातीहरुले आफ्नो सभ्यताको विकास अघि नै कुँवरसँग युद्ध गरेका थिए ?
इतिहासलाई हेर्दा किराती सभ्यताको विकासपछि कालान्तरमा मात्रै किरातीहरुले लामो समय नेपालमा किरात राज्य सञ्चालन गरेको तथ्य पाइन्छ ।
नाटक ‘खुवालुङ ढुङ्गाको बाटो’ को कथानकमा ऐतिहासिक विचलन देखिएको हो कि होइन ? इतिहास बुझ्ने दर्शक पाठकले यसबारेमा प्रश्न गर्छन् नै ।

उपकथाले मिचेको मूल कथा
हिन्दू धर्मग्रन्थ रामायणको पुष्पक विमान, हनुमानले खोजेको संजीवनी बुटी र उठाएको वृन्दाचल पर्वतभन्दा फरक होइन ‘खुवालुङ’ । यी हिन्दू धर्मका पवित्रता हुन् भने खुवालुङ किरातीहरुको आस्थाको केन्द्र, माङको वचन र सभ्यताको सुरुवात हो । यहाँ खुवालुङ मुन्धुमको आलोकमा देखिएको छ । यो कहीँ कतै कुनै इतिहासविद्ले लेखेको शास्त्रीय प्रमाणमा आधारित कुरा होइन । कथा हो खुवालुङ । स्वैरकल्पना हो खुवालुङ । दैवी शक्ति, मुन्धुमी शक्ति हो खुवालुङ । यसको अर्थ आस्था होइन भन्न खोजिएको होइन । यो पवित्रताको सूचक हो ।
मुन्धमअनुसार नै खुवालुङ रुइवा (सप्तकोशी) को गर्भमा विलुप्त भएको छ । धर्तीमा पाप, अपराध बढ्दै गएपछि खुवालुङलाई कसैले देख्न सकेन । खुवालुङको दर्शन पवित्र आत्माले मात्र पाउँछ ।
लेखकले नाटकलाई चिरिच्याट्ट पार्न उपकथाहरु जोडेका छन् । ढुंगे युगको कथा, सिकारीको कथा, कृषि युगको कथा, सभ्यता विकासको कथा, मानवीय युद्धको कथा, अन्तरजातीय प्रेमको कथा र समर्पणलाई जोडेका छन् । तर कथाको मूल भाव मुन्धुमी शक्तिलाई वेवास्ता गरेका छन् ।

खुवालुङलाई विश्वास गर्नेहरु अहिले पनि बर्सेनी खुवालुङ क्षेत्रमा बाख्रा, कुखुरा, हाँस, बोका, राँगाको बली (पञ्चवली) दिई सुभ्भेफाब्बेको कामना गर्छन् । त्यहाँ वर्षमा एकपटक मेला लाग्छ । उनीहरु बालीनाली, जीउज्यानको राम्रो होस् भनी कामना गर्छन् ।

तर नाटक खुवालुङले पूजाप्रार्थना र आह्वानबाहेक मुन्धुमी शक्तिको मूल कथालाई नजरअन्दाज गरेको जस्तो देखिन्छ । बरु कोशीले मान्छेको बली लिएको छ । प्रेमीहरुको बलिदान मागेको पक्कै पनि होइन होला सप्तकोशीले । जहाँ खुवालुङ रोइरहँदा, ‘मलाई फुटाउँछन् रे, मलाई ध्वस्त बनाउँछन् रे’ भनिरहँदा पूर्जा अर्चना गरिरहेकाहरुबाट खुवालुङ खुसी हुन सकेको छैन । ‘खुवालुङ ढुङ्गा मात्र होइन, हाम्रो माङ हो ।’ ‘हामी रक्षा गर्छौं, हामी तिमीलाई खुसी पार्र्छौ’ भन्न सकेको छैन नाटकले ।

नाटकले खुवालुङ तर्न नसकेका भाइहरु तराईका लिम्बू भनेर चिनिने धिमाल र थारु जाति भएको, ‘दाजुभाइ छुट्टियौं है, आआफ्नो भाग–भोग गरिखाऊँ’ भन्दै तमोरतिर लाग्नेहरु लिम्बू जाति भएको, अरुण तिर लाग्नेहरु राई जाति भएको र दूधकोशीतिर लाग्नेहरु सुनुवारलगायत भएको जनश्रुतिलाई पुष्टि गरेको देखिन्छ । र, खुवालुङलाई साक्षी राखेर यसैलाई आस्थाको केन्द्र मानेर आफ्नो जीवन गुजारा गर्ने प्रणसँगै किराती सभ्यताको विकासको सुरुवात भएको तथ्यलाई पुष्टि गर्दै नाटक समापन भएको छ ।

यी सबै कुरालाई नहेर्ने हो भने, नाटक ‘खुवालुङ ढुङ्गाको बाटो’ किराती सौन्दर्यको दृष्टिमा बनेको अत्यन्तै सुन्दर प्रस्तुति हो । जीवन्त कलाको आयाम हो । यसले आदिवासी जनजातिको आस्था, सभ्यता, संस्कृति र सौन्दर्यलाई कलात्मक तरिकाले प्रस्तुत गरिरहेको छ । जुन नाटक माझ किरातको धरानमा मञ्चन भएको छ । यो एउटा हेर्नै पर्ने नाटक पनि बन्न पुगेको छ ।

भोजपुरे खुकुरीको माग ...

भोजपुर/  भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, &l ...

परम्परागत दशै हरायो ...

धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर् ...

धरान उपमहानगरको बेथि ...

विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न ...

काम हामीले गर्‍यौ प् ...

इलाम/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2022 - Koshipatra.com All rights reserved