मेयर साम्पाङको काम : ‘कुहिरोमा हराएको काग जस्तै’

  • भदौ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ खानेपानीलाई मात्रै अर्जुनदृष्टि बनाएर समस्या समाधानमा लागेका धरानका मेयर हर्कराज राईको अभियानलाई स्थानीय सरकारको वैधानिक मान्ने कि अवैधानिक भन्ने विषयले धरानका स्थानीय अन्यौलमा छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ ले तोकेको मापदण्ड र विधि विपरित अभियान संचालन भएकाले त्यसलाई अवैधानिक हो भन्ने एक पक्ष स्थानीयहरु छन् भने अभियानमा संलग्न रहेका स्थानीयहरु मेयर आफै संलग्न रहेर परियोजनाहरु संचालन भएकाले वैधानिक नै हो भन्नेमा छन् । तर उपमहानगरपालिकाका कर्मचारी, बुद्धिजिवी, कानुनविदहरु यसलाई वैधानिक मान्न नसकिने तर्क गरिरहेका छन् ।
खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएर दोस्रो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार मेयर राई निर्वाचित भए पछि एकोहोरो त्यही अभियानमा लागेका छन् । निर्वाचित भए लगत्तै पकुवा खोलाबाट पानी ल्याउन अभियान चलाए, त्यस पछि अहिले निशाने, सर्दु र खर्दुको पानी संकलन गर्न ट्यांकी निर्माणमा जुटेका छन् । झट्ट हेर्दा र सुन्दा उनको अभियान सकारात्मक नै छ तर मेयर आफै संलग्न भएर स्थानीय सरकारको अधिकार विपरित काम गरेकाले उनको अभियान प्रति टिप्पणी पनि हुन थालेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को छ को एकमा विकास आयोजना तथा परियोजना सम्बन्धी निति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्यवन, अनुगमन, मुल्यांकन र नियमन स्थानीय सरकारको जिम्मेवारी भित्र रहने उल्लेख गरेको छ । त्यसै गरि ३ मा आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मुल्यांकन गर्ने जिम्मेवारी पनि स्थानीय तहलाई नै दिएको छ ।

मेयर राईले संचालन गरेको दुवै योजनाहरुमा धरान उपमहानगरपालिकाको संलग्न देखिन्दैन् न त योजनाका खर्चहरु उपमहानगरपालिकाको विधि र प्रक्रिया अनुसार नै चलेका छन् । उपमहानगरपालिकाले योजना संचालन गर्ने हो, भने नगरसभा, कार्यपालिकाबाट निर्णय हुनुपर्छ तर त्यसो भएको पाइन्दैन् । कार्यपालिकाले जलकुण्ड बनाउने निर्णय गरे पनि त्यसलाई धरान उपमहानगरपालिकाको योजनामा ल्याइएको छैन् । जलकुण्ड बनाउने योजना अनुसार नै निशाने, सर्दु र खर्दुको पानी संकलन गर्न बनिरहेको टंकी निर्माण कार्य हो भने त्यसको जिम्मेवारी उपमहानगरपालिकाले नै लिनुपर्ने हो तर मेयर राईले व्यक्तिगत अभियान अनुसार खर्च गरिरहेका छन् । त्यसका लागि आएका कुनै पनि आय व्यय धरान उपमहानगरपालिकामा दाखिला भएको छैन् । धरान उपमहानगरपालिकाका लेखा प्रमुख भेषराज अधिकारी भन्छन्, ‘मेयर साबको नेतृत्वमा भइरहेको योजनाहरुको कुनै पनि आय तथा व्यय उपमहानगरपालिकाको कोषमा आएको छैन्, त्यसलाई कसरी आधाकारिक मान्ने ? त्यसको जिम्मेवारी उपमहानगरपालिका अन्र्तगत आउदैन् ।’

मेयर साम्पाङले चलाएको अभियानमा देश तथा विदेशबाट सहयोग आइरहेका छन् । मेयर साम्पाङले चलाएको अभियानको आयव्यय खर्च दत्त लिम्बुले सञ्चालन गर्ने गरेका छन् । उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट विकासको नाममा आएको बजेट सकलन गर्न र लक्षित कामका लागि आएको रकम खर्च गर्न ‘मेयर सञ्चिती कोष’ निर्माण गरिएको छ । तर त्यो खातामा रकम नै जम्मा नभएको एक कार्यपालिका सदस्यले बताए । उनले भने–‘कार्यपालिका बैठकबाट मेयर संचिति कोष’ बनाइएको छ, त्यो खाता सहयोग स्वरुप आएको रकम त्यही खातामा जम्मा गर्ने र जुन कामको लागि आएको हो, त्यही काममा खर्च गर्ने निर्णय भएको छ ।’ तर त्यो लागू नभएको ती कार्यपालिका सदस्यले बताए ।

खानेपानी समस्या समाधानका लागि सहयोगवापत जिन्सी, नगद रकम समेत धमाधम आइरहेका छन् । आयव्ययको हरहिसाब दत्त लिम्बुले नै राख्र्ने गरेका छन् । उनलाई यस विषयमा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । खर्च विवरणको विषयमा मेयर साम्पाङसँग बुझ्दा सबै विदेशी सहयोग भएको भएपनि के कति आयो एकिन नभएको बताए । उनले भने–‘धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि खर्च आइरहेको छ, हामीले खानेपानी ट्यांकी पनि निर्माण गर्दैछौं, के कति रकम आयो, के कति खर्च भयो त्यो भने हेर्नुपर्छ ।’ उनले राम्रो कामको लागि निर्णय नै चाहिन्छ भन्न नहुने तर्क गरे । उनले भने–‘म खानेपानी धराने जनतालाई खुवाउन निर्वाचित भएको हु, त्यसमा म प्रयासरत छु, राम्रो काम गर्नेलाई सबैले सपोर्ट गर्छन, यसमा कसैले विरोध गर्दैमा काम रोकिदैन ।’
यता राजनीतिक विश्लेषक प्रा.डा राजेन्द्र शर्माले मेयर जी को सल्लाहकार पनि छैनन, अवाधिक योजना नबनाई कुहिरोको काग जस्तै हिडेको जस्तो देखिएको बताए । उनले भने–‘हर्क साम्पाङमा काम गर्ने उत्साह, जागर र इमान त छ, तर उनीसँग नगर विकासको भिजन भने केही नभएको हो कि भन्ने भान अहिले धरानेहरुलाई परेको छ । उहाँलाई राम्रो सल्लाहकारको खाँचो रहेको छ ।’

२०४६ सालमा प्रजातन्त्र आएपछि निर्वाचित भएका दलहरुमा मुलुकको विकासका लागि केही खाका थिएन, अहिले स्वतन्त्रबाट उमेद्वार भएर धरान उपमहानरपालिकाबाट निर्वाचित भएका हर्क साम्पाङको पनि दीर्घकालीन योजनाको खाका नभएको देखिएको बताए । शर्माले साम्पाङ खानेपानी समस्या समाधान र भ्रष्टाचार न्यूनिकरणको मुद्दालाई अगाडि सारेर भएर निर्वाचित भए पनि उनले सामाजिक सञ्जालमार्फत प्रयोग गरेका भाषा, शैलीले उनलाई नै समस्या हुने बताए । उनले सामाजिक सञ्जालमार्फत सबै कुरा सार्वजनिक गर्दा आधिकरिक नहुने बताउदै सय दिनको काम पनि उनले सामाजिक सञ्जालमार्फत गरेको बताए । उनले भने–‘सय दिनको काम सञ्चारकर्मीमार्फत सार्वजनिक गर्नुपर्नै थियो, उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो, यो नगरपालिकाबाट संस्थागत रुपमा हुनुपर्ने थियो ।’

पछिल्लो समय मयर साम्पाङले सामाजिक सञ्जालमा प्रस्तुत गरेका भाषा शैलीले उनमा नगरपिता अर्थात अभिभावकमा हुने गुण नदेखिएको प्रष्ट हुने बताए । उनलाई सबैले साथ दिँदादिँदै पनि उनको भाषा शैलीका कारण विवादित हुदै गएको उनको भनाई थियो । डा. शमाले भने–‘यसलाई उहाँले सुधार्नुपर्छ ।’

उनले साम्पाङलाई स्वतन्त्र रुपमा जिताउनुको प्रमुख कारणमा धरानेहरुले विगतमा राजनीतिक दलहरुप्रति जनताको वितृष्णा र उनीभित्र भएको विद्रोही स्वभाव मुख्य कारण भएको बताए । विदेशबाट आएको सहयोगका विषयमा डा. शर्माले उनी विगतदेखि नै भ्रष्टारविरुद्धको अभियन्ता भएका कारण हिसाब पारदर्शी नै भए पनि प्रक्रियागत रुपमा आएको रकम कार्यपालिकाको निर्णय अनुसार परिचालन गरिदिए अझ राम्रो हुने बताए । उनले भने–‘विदेशमा रहेका नेपालीहरुले मेयर साम्पाङलाई केही गर्छ भनेर रकम पठाएका हुन्, उहाँले काम पनि गर्दै हुनुपर्छ, उहाँले गरेको काम नियमसँगत हुनुपर्छ, सामाजिक सञ्चालबाट हैन ।’

मेयर राईले खोला, वनमा संचालन गरेका योजनाहरु कुनै पनि स्थानीय तह वा सम्बन्धीत निकायबाट अनुमति लिएर बनाइएको छैन् । जबरजस्ती मेयर भएकै दम्भमा आफुखुशी योजनाहरु संचालनमा ल्याएका छन् । राष्ट्रिय सम्पत्तिको सदुपयोग गर्न कानुनी विधि र प्रक्रिया अपनाउनु पर्ने हुन्छ । दुवै योजनामा कतै पनि अनुमती लिएको पाइँदैन् । अवैधानिक ढंगले धरान उपमहानगरपालिकाको विकाशका लागि भन्दै अभियानका लागि उठाइएको आर्थिक सहयोगको हिसाब सहयोगदाताहरुलाई कसले दिने ? त्यसको जिम्मेवार स्थानीय सरकारले लिने कि मेयर हर्कराज राई वा खानेपानी समस्या समाधानका अभियन्ता हर्क साम्पाङले ? स्थानीयको प्रश्न बढ्दै गएको छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved