मेयर हर्कको ओरालो यात्रा

  • भदौ १५, २०७९
  • राजेश विद्रोही
alt

धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) चामत्कारिक रूपमा उदाएका नेता हुन् । धेरैका अविश्वास र आशङ्कालाई असफल बनाउँदै गत वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट उनी अकस्मात् मेयरमा निर्वाचित भए । उनी मेयरमा निर्वाचित होलान् भन्ने धेरैलाई लागेको थिएन तर तिनका अनुमानलाई गलत साबित गर्दै उनी मेयरमा निर्वाचित भए । उनको अनपेक्षित विजयले राजनीतिक वृत्तमा एक प्रकारको तरङ्ग नै ल्यायो । त्यो तरङ्गले ल्याएको कम्पन अहिले पनि साम्य भइसकेको छैन ।
अनपेक्षित रूपमा धरानका मेयरमा निर्वाचित बनेका भए पनि उनी यो स्थानमा त्यत्तिकै आएका भने होइनन् । मेयरमा निर्वाचित हुनुअघि उनले सामाजिक अभियन्ताका रूपमा करीब एक दशक लामो सङ्घर्ष गरे । त्यो सङ्घर्ष कठिन मात्र होइन, धेरैका लागि मरुभूमिमा पानीको खोजी जस्तै थियो । निर्वाचन प्रचारका क्रममा पनि उनका पछाडि ठूलो भीड थिएन । दुई–चारजना सहयोगीका साथ टेम्पो चढी चोक–चोकमा पुग्दै उनले स्रोताविहीन चोकमा ह्यान्ड माइक समाएर आप्mना कुरा राखेको देख्दा धेरैले वास्ता गरेका थिएनन् । कतिपय अवस्थामा उनी हास्यपात्रसमेत बने । त्यही सङ्घर्षको बलमा आर्जन गरेको जनविश्वास र अन्य दलहरूप्रतिको जनआक्रोश नै उनले निर्वाचनमा विजय प्राप्त गर्ने दरिला आधार बने ।

मेयरमा निर्वाचित भएदेखि नै राई चर्चामा छन् । कम्युनिष्टहरूको गढ मानिएको धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका राईले बलिया भनिएका दल र गठबन्धनलाई पनि धूलो चटाइदिए । हुन त उनको विजयको एक मात्र कारण उनको लोकप्रियता थिएन । दलहरूको भ्रष्ट प्रवृत्ति र दलतन्त्रबाट वाक्कदिक्क भएका नागरिकहरूले सुन्दर र समृद्ध नगर बनाउन परीक्षणका लागि यसपटक उनलाई छानेका हुन् । प्रयोगका लागि पटक–पटक मत परिवर्तन गरेका नागरिकहरूले एकपटक फेरि प्रयोगकै रूपमा स्वतन्त्र उम्मेदवारलाई छाने । यसमा उनले सामाजिक अभियन्ताका रूपमा गरेको लामो सङ्घर्षको भूमिका पनि पक्कै थियो तर बढी त राजनीतिक दल र तिनका नेताहरूको गलत प्रवृत्तिप्रतिको आक्रोशको अभिव्यक्ति नै कारक बनेको हो । जे होस्– धरानवासी मतदाताहरूले सुन्दर र समुन्नत धरानका लागि उनैमा असल नेतृत्वको सम्भावना देखे ।

त्यसयता उनी निरन्तर चर्चामा छन् । जितपछि पनि उनले देखाएको सादगीपन सबैका लागि अनुकरणीय छ । सर्दूको बगरमा वृक्षरोपण गर्ने क्रममा उनले पाएको जनसमर्थन र जनविश्वासलाई अभूतपूर्व नै मान्नुपर्छ । कुर्सीमा पुगेपछि आपूmलाई सर्वसाधारणभन्दा फरक ठान्ने र विलासी जीवन बिताउने आम नेपाली नेताहरूका विपरीत उनले आपूmलाई भूइँमान्छेहरूकै बीचमा राखेका छन् । यो उनको सकारात्मक पक्ष हो । उनको यही स्वभावका कारण उनका समर्थकहरू अहिले पनि उनीसँगै छन् । समर्थकहरूले उनलाई विश्वास गरेका छन् । मेयर राईले प्राप्त गरेको यो जनविश्वास लोभलाग्दो छ ।
हुन त विकासमा जनसहभागिताका लागि धरान देशकै नमूना शहर हो । धरानकै सिको गरेर देशका अन्य शहरहरूले पनि विकासका लागि जनसहभागिताको धराने मोडेललाई अनुसरण गरे । तत्कालीन मेयर ध्यानबहादुर राईको पालामा शुरु भएको जनसहभागिताको नीतिलाई अर्का मेयर मनोजकुमार मेन्याङ्बोले उत्कर्षमा पु¥याए । अहिले धरानको परिचय बनेर भानुचोकमा उभिएको घण्टाघर जनसहभागिताकै जीउँदो नमूना हो । पूर्वमेयर मेन्याङ्बोकै सक्रियतामा घण्टाघर ठडिएको हो । जनसहभागिता नभएको भए घण्टाघर ठडिने थिएन । यहाँ बनेका चिल्ला र फराकिला सडकहरू जनसहभागिताकै उदाहरण हुन् । धरानवासीहरू विकासका लागि श्रम र धन दुवै दान दिन तयार हुन्छन् । यसका अनेक उदाहरण छन् । आवश्यक छ त केवल विश्वासयोग्य नेतृत्वको । विकासप्रति नागरिकहरूको यो समर्पणको बलमा नगरलाई विकासको मार्गमा अघि बढाउन ठोस नीति तथा योजना र कार्यक्रम आवश्यक हुन्छ ।

मेयर राईले पनि आप्mना काममा जनसमर्थन पाएका छन् । यो जनसमर्थनको सदुपयोग भएमा पक्कै पनि धरानको काँचुली फेरिने विश्वास गर्न सकिन्छ तर यसका लागि वैज्ञानिक योजना र कार्यक्रम चाहिन्छ । के हाम्रा मेयरले अहिले गरिरहेका कामहरू कुनै निश्चित योजना र कार्यक्रममा आधारित छन् ? प्रश्न स्वाभाविक रूपमा उठ्छ किनभने योजनाविहीन काममा गरिएको श्रम र लगानी खेर जाने निश्चित हुन्छ । वृक्षरोपणका लागि छुट्याइएको जग्गाको क्षेत्रफल कति हो ? त्यस क्षेत्रमा कुन कुन जातका कति बिरुवा रोप्ने योजना छ ? ती बिरुवाहरूको दीर्घकालीन संरक्षण र व्यवस्थापनको योजना के छ ? के माटो परीक्षण गरेरै उपयुक्त बिरुवाहरू छानिएका हुन् ? यी र यस्ता प्रश्नहरूको जवाफ खोजिनु आवश्यक हुन्छ ।

योजनाविहीन काम परिणाममुखी नहुने भएकाले ठोस योजना आवश्यक हुन्छ । सुन्दा नमीठो लाग्ला । आमसञ्चारका माध्यमहरूमा आउने वृक्षरोपणका समाचारहरूलाई आधार मान्ने हो भने पछिल्ला केही वर्षभित्र देशको क्षेत्रफलभन्दा बढी क्षेत्रमा वृक्षरोपण भइसकेको छ । एउटै क्षेत्रमा फरक–फरक संस्थाले वर्षैपिच्छे वृक्षरोपण गर्ने गरेका छन् । संरक्षणको योजना नबनाई वृक्षरोपण गर्ने गरिएका कारण सकारात्मक परिणाम आउन नसकेको हो । धरानवासीलाई खानेपानी खुवाउन मेयर राईमा देखिएको हुटहुटी पनि प्रशंसनीय छ । उनी खानेपानीको खोजीमा सक्रिय छन् । यो खोजलाई परिणाममुखी बनाउन पनि दीर्घकालीन योजना आवश्यक छ । यसका लागि विज्ञहरूमार्फत् वैज्ञानिक अध्ययन गरिनु आवश्यक हुन्छ ।
अहिले एउटा महत्त्वपूर्ण प्रश्न खडा हुन्छ – उनका कामहरू व्यक्तिगत हुन् कि नगर प्रमुखका हुन् ? व्यक्तिगत कामको जवाफदेहिता लिने जिम्मा उनकै हो भने नगर प्रमुखका रूपमा उनले गरेका कामबारे उपमहानगर नै जवाफदेही बन्नुपर्छ । यस कारण नगर प्रमुखका रूपमा सार्वजनिक हुने उनका कतिपय अभिव्यक्तिबारे कार्यपालिका पनि जवाफदेही बन्नुपर्ने अवस्था आउन सक्छ । नगर प्रमुखका रूपमा सार्वजनिक हुने उनका व्यक्तिगत अभिव्यक्तिमाथि कार्यपालिकामा प्रश्न उठाइनु स्वाभाविक हुन्छ ।

गत वैशाख ३० पछि राई कुनै न कुनै सन्दर्भमा चर्चामै छन् । मेयर राई अहिले फेरि चर्चामा आएका छन् तर पछिल्लो समय भने उनी सकारात्मक कारणले भन्दा बढी नकारात्मक कारणले चर्चाका पात्र बनेका छन् । उनको लहडी स्वभाव, अहङ्कारपूर्ण बोली र अलोकतान्त्रिक प्रवृत्तिका कारण प्रस्ट हुँदैछ– उनी जुन तीव्रताका साथ लोकप्रियताको चुलीमा पुगे, त्यसभन्दा तीव्र गतिमा घृणाको फेदीमा झर्ने सङ्केत देखिँदैछ । उनले जुन शैली र प्रवृत्तिको प्रदर्शन गर्दैछन्, यसले उनलाई अगाडि होइन, पछाडि धकेल्ने प्रस्ट सङ्केत देखिएको छ ।

उनी आपूmलाई सर्वज्ञ ठान्ने भूल गर्दैछन् । वास्तवमा कुनै पनि मानिस हरेक क्षेत्र र विषयको ज्ञाता हुन सक्दैन तर उनी आफू  सबै विषय र क्षेत्रका ज्ञाता भएको भ्रममा छन् । उनी आफूले गरेका र सोचेका सबै ठीक अनि अरूले गरेका सबै बेठीक भन्ने ठान्छन् । यही भ्रमले उनमा अहङ्कारको वृषवृक्ष हुर्किएको छ । उनले बुझ्नुपर्छ – अहङ्कारको वृक्षमा विनाशको फलबाहेक केही फल्दैन । उनी आफू लाई राज्य र आफ्नो शब्दलाई नै कानुन ठान्ने भूल गर्दैछन् । फ्रान्सेली राजा लुई चौधौँले यस्तै भ्रम पालेका थिए । सन् १६५५ को अप्रिल १३ मा पेरिसको पार्लियामेन्टलाई सम्बोधन गर्दै उनले घोषणा गरेका थिए – ‘म नै राज्य हुँ ।’

मेयर राईमा यही मानसिकता हुर्किएको छ । उनी आफ्नो शब्दलाई नै कानुन ठान्दैछन् । श्रम नगर्ने विद्यार्थीलाई उत्तीर्ण नगराउने उनको घोषणा यस्तै मानसिकताको उपज हो । श्रमका लागि विद्यार्थीलाई उत्प्रेरित गर्नु बेठीक होइन तर श्रमलाई अध्ययनसँग जोडेर विद्यार्थीलाई मानसिक दवाब दिनु कुनै पनि अर्थमा उचित होइन । कुन नीतिगत आधारमा टेकेर उनले यस्तो घोषणा गरे ? यस्तै नीतिगत व्यवस्था गर्ने हो भने पनि यस्तो नीति कार्यपालिकाबाट पारित हुनुपर्छ कि पर्दैन ? यस्तो नीतिलाई पारित गर्न बालअधिकार र मानवअधिकारजस्ता विश्वव्यापी मान्यता तथा आफ्नै देशका ऐन–कानुनहरूलाई हेर्नुपर्छ कि पर्दैन ? उनी आफ्नो मनमा लागेका कुरा फेसबुकबाट घोषणा गर्छन् र त्यसमा सबैले ताली बजाइदिनुपर्ने आग्रह पाल्छन् । उनले बुझ्नुपर्छ – उनलाई लाग्नेबित्तिकै त्यो कानुन बन्दैन र सबैले उनको हरेक कुरामा ताली बजाउँदैनन् ।

आप्mनो प्रशंसा सबैले रुचाउँछन् । यो मानवीय स्वभाव नै हो तर यो सामान्य स्वभाव आत्ममुग्धता (नार्सिसिजम) मा परिणत भएमा निकै खतरनाक हुन्छ । ग्रीक मिथकमा एउटा पात्र छ, जो तिर्खाएको छ । ऊ पानी खान भनेर तलाउमा निहुरिन्छ । त्यस क्रममा आफ्नो सुन्दर अनुहार देखेर ऊ कति मोहित हुन्छ भने पानी खान छाडेर ऊ आफ्नै अनुहार हेरिरहन्छ । अन्त्यमा त्यही तलाउमा डुबेर उसको मृत्यु हुन्छ । यस्तो चरित्रलाई नार्सिसिस्ट भनिन्छ । क्षणिक रूपमा कुनै संस्था वा आफूले नेतृत्व गरेको समूह र वर्गको उत्थान गरेजस्तो देखिए पनि कति जोखिम लिने भन्ने हेक्का राख्न नसक्ने कारणले गर्दा यस्ता व्यक्तिले आफ्नो अहम्का कारण कुनै पनि समयमा आफ्नो संस्थाको अस्तित्वसमेत समाप्त पार्न सक्ने खतरा मनोवैज्ञानिकहरू औँल्याउँछन् । आत्मरतिमा रमाउने यस्तो स्वभावले मानिसलाई अहङ्कारी बनाउँछ ।

आत्मप्रशंसा रुचाउने मेयर राई मिडियालाई पनि भजनमण्डली बनाउन चाहन्छन् । आप्mनो स्वार्थको रोटी सेक्न उनका अघि–पछि कुद्नेहरू भजनमण्डलीका सदस्य बन्न सक्लान् तर सबै मिडियाले आलोचनात्मक चेत गुमाउँदैनन् । आलोचनात्मक टिप्पणी गर्नु मिडियाको धर्म हो । यो चेत नै मिडियाको प्राण हो । जुन दिन मिडियाले यो चेत गुमाउनेछ, त्यसै दिन मिडियाले जीवन गुमाउनेछ । पैसाका लागि दगुर्नेहरूले स्वाभिमानलाई बन्धकी राख्न सक्लान् तर सबै उस्तै हुँदैनन् भन्ने हेक्का उनले राख्नैपर्छ । स्थायी प्रतिपक्ष मानिने मिडियाले आफ्नो धर्म निर्वाह गर्न छाडेमा शासकलाई ‘अन्धो’ र ‘बहिरो’ हुनबाट जोगाउने दायित्व कसले पूरा गर्ला ?

मेयर राई आलोचक जति सबैलाई विरोधी ठान्छन् र सामाजिक सञ्जालबाट अभद्र शैलीमा जाइलागिहाल्छन् । हरेकका सल्लाह–सुझाव सुन्ने धैर्य उनले राख्न्ुपर्छ । सही आलोचना गर्नेहरू नै वास्तवमा निस्वार्थ शुभचिन्तक हुन्छन् । झुटो प्रशंसाले मानिसलाई भूइँमा पछार्छ । त्यसैले झुटा प्रशंसकहरूको भीडबाट निस्किएर आफूलाई आलोचकहरूको संसारमा उभ्याउने आँट उनले गर्नैपर्छ । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु ठान्थे – आलोचना नै आफ्ना कमजोरी सुधार्ने उपयुक्त माध्यम हो तर कोही पनि उनको आलोचना गर्न अघि सर्दैन थिए । आलोचनाविना आफ्ना कमजोरी थाहा नहुने ठानेर उनी सर्वसाधारणलाई आफ्नो आलोचनाका लागि प्रेरित गर्न अखबारहरूमा छद्म नामबाट आफैँले आफ् नो आलोचना लेखेर पठाउँथे ।
त्यस कारण मेयर राईले आलोचनाबाट आत्तिनु हुँदैन । आलोचनालाई नकारात्मक अर्थमा मात्र लिनु हुँदैन । उनको भलो चिताउने र उनमा सुधार चाहनेले नै आलोचना गर्छन् भन्ने उनले बुझ्नु आवश्यक छ । उनले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा सचेत हुनुपर्छ ।

अरूप्रति सार्वजनिक रूपमा उनले प्रयोग गरेका शब्दहरू कुनै पनि सभ्य समाजका लागि पाच्य हुन सक्दैनन् । अरूका प्रति यति अशिष्ट र अमर्यादित शब्दको प्रयोग कुनै पनि विचारशील मानिसका लागि शोभनीय होइन । उनी अहिले व्यक्ति मात्र होइनन्, धरान उपमहानगरका मेयर हुन् । त्यसैले उनका बोली र व्यवहार धरान र धरानवासीको प्रतिष्ठा र मर्यादासँग जोडिन्छन् । अहिले उनका बोली र व्यवहारका कारण धरानवासीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ । उनलाई मतदान गर्ने मतदाताहरूको निर्णयप्रति प्रश्न उठ्न थालेका छन् । त्यसैले आप्mना मतदाताहरूको मर्यादा र सिङ्गो धरानवासीको प्रतिष्ठाका लागि पनि उनले शब्द–प्रयोगमा आत्म–संयम हुनैपर्छ ।

आप्mनै कारणले उनको ओरालो यात्रा प्रारम्भ भइसकेको छ । यति चाँडै उनको ओरालो यात्रा प्रारम्भ होला भन्ने अनुमान थिएन तर विजयी बन्दा अनुमानलाई गलत साबित गरेजस्तै आफ्नो ओरालो यात्राको प्रारम्भमा पनि उनी हाम्रा अनुमानलाई गलत प्रमाणित गर्दैछन् । उनले आफ्ना बोली र व्यवहारमा सुधार ल्याएनन् भने धराने मतदाताले एकपटक फेरि आफ्नै निर्णयप्रति पश्चात्ताप गर्नुपर्नेछ । धराने मतदाताले मेयर राईबाट आशा गरेका छन् । यो आशालाई मर्न नदिनु उनको दायित्व हो । उनी असफल हुनु भनेको धराने मतदाताका आशा र सपनाको हत्या हो । त्यसकारण उनी असफल बन्नु हुँदैन । धराने नागरिकहरूको यो आशा र विश्वासलाई उनले जोगाउनुपर्छ । धराने मतदाताका सपना, विश्वास र विकासका आकाङ्क्षामाथि तुषारापात नहोस् भन्ने हार्दिक शुभकामना छ । यो शुभकामनालाई सार्थक बनाउने जिम्मेवारी पनि उनकै हो ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved