धरान । परिवारको जेठो छोरो नै क्यान्सर पीडित हुँदा धरान ११ सुनौलो टोलस्थित सुकुम्बासी बस्तीका एक परिवारको बिचल्ली भएको छ ।
जायजेथा नहुँदा उनीहरुले छोराको उपचार गर्न सकेका छैनन् । बुवा जितबहादुर थापा मगरले परिवारको सहारा जेठो छोरोलाई क्यान्सर लागेपछि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् ।
चिकित्सकका अनुसार घुँडाभित्र हड्डीमा क्यान्सर भएका हर्कबहादुरको उपचारका लागि स्टिल लगाउनुपर्ने हुन्छ । स्टिल लगाउनका लागि मात्रै ५ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । तर मगर परिवारलाई सामान्य खर्च जुटाउन पनि धौधौ छ ।
धरान ११ स्थित सुनौलो सक्षम महिला समूहकी अध्यक्ष सहारा गुरुङले पीडित हर्कका लागि सहयोग संकलन गर्ने प्रयास गरे पनि ५० हजार रुपैयाँ संकलन गर्न पनि गाह्रो भएको बताइन् । २ हजार रसिद छापेर सहयोग संकलन गर्दा पनि झण्डै ५४ हजार रुपैयाँ संकलन गरेको बताइन् ।
सहयोग संकलनका लागि जिल्ला प्रशासन कार्यालयसम्म पुगेको उनको भनाइ छ । तर स्थानीय सरकारका मेयर, उपमेयरले आर्थिक संकलनका लागि सहयोग नगरेको दुखेसो गरिन् । ‘सिडिओले मेयर उपमेयरको सिग्नेचर चाहिन्छ भन्यो, नगरपालिका जाँदा मेयर र उपमेयरले सिग्नेचर गरिदिनु भएन ।’ संस्थाकी अध्यक्ष गुरुङले भनिन् ।
सानैदेखि आँखाको समस्या भएका हर्कबहादुर थापा मगर डकर्मीको काम गर्थे । र, परिवारको आर्थिक सहारा थिए । उनी नै क्यान्सरपीडित भएर ३ महिनादेखि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत भएपछि परिवारको कन्तविजोग भएको छ ।
पीडितलाई सहयोग गर्न इच्छुकले ९८१०५१५७३१, ९८१४३१६९३८ र ९८०७३३६४४३ नम्बरमा फोन सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्ने पीडित परिवारले आग्रह गरेको छ ।
पीडितलाई सहयोग
जन्मदिनको अवसरमा समाजसेवी तथा व्यवासायी लक्ष्मी प्रधानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेकी छन् ।
आफ्नो ३३ औं जन्मदिनको अवसरमा प्रधानले क्यान्सर पीडित हर्कका बुवा जितबहादुरलाई नगद ३ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिन् । आफूले प्रदान गरेको रकम थोरै भए पनि सहयोगी भावनाको विकास होस् भन्ने उद्देश्यले रकम प्रदान गरेको बताइन् ।