धरान । ‘रिकेबुंकका रागालाई, चुके बुकको चुलेसीले, ताप्लेजुङमा ताकेर कालेबुंगमा काटेर । अरुण तमर तरौला तीते फापर छरौला, फूलै लाउला केसरी खाउँला बेसरी’
यो गीत चर्चित गीत हो । नेपाली भौगोलिक परिस्थिति र संस्कृतिलाई सुरेश गन्धर्वलले कुनै बेला पस्केको गीत अहिले पनि उत्तिकै मार्मिक र चर्चित छ । गन्धर्व संस्कृतिलाई बचाउने एक श्रष्टाको रुपमा उनी चिनिन्छन् ।। उनकै कारण भोजपुरको अरुण गाउँपालिकाको जरायो टारमा धेरै गन्धर्व जन्मिए, जन्मिएकामध्ये केहीले यही पेशालाई अंगालिरहेका छन् धेरैले यो पेशा छोडेर वैकल्पिक पेशा रोजेका छन् ।
नेपालको संस्कृतिसँग जोडिएको यो गीत अहिले बजारमा निस्किएका उच्खृंल गीतहरुले ठाउँ लिइरहेको बेला रमेश प्रसाईले यो गीतलाई पुनर्ताजगी बनाउने काम काम गरे । अत्यन्तै लोकप्रिय गायक तथा सर्जक सुरेश गन्धर्व केही समय अगाडि विरामी हुँदा समेत कसैले हेरेनन् । चन्दा र दाताको सहयोगमा धरानस्थित बीपी कोइराला स्वास्थ्य उपचारमा गराएपछि भने केही सञ्चो भने भएका छन् । अहिलेका गायक तथा सर्जकले एउटा एल्बम निकाल्दा करोडौ रुपैया कमाइ हुने भए पनि गन्धर्वको आर्थिक अवस्था झन नाजुक छ । उनलाई पैसा भन्दा पनि आफ्नो सस्कृति लोप हुने चिन्ता बढी छ । झुप्रोमा बसेर पनि गन्धर्व सँस्कृति लोप हुन्छ कि भन्ने चिन्ता उनमा छ । उनी भन्छन्–‘मलाई पैसा कमाउनु छैन, गन्धर्व सँस्कृति संकटमा पर्दैछ, सरकारले संकट हुनबाट बचाउन सहयोग गर्नुपर्छ ।’
सुरेश गन्धर्वको पदचापलाई पन्छाएर भोजपुरका तेजेन्द्र गन्धव र वेता गन्धर्वले ‘भ्वाइसअप नेपाल’ मा निकै चर्चा कमाए, अझ तेजेन्द्रले निर्मला पन्तको घट्नामा आधारित मार्मित वास्तविक गीत गाएपछि निकै चर्चामा पुगे ।
तर पछिल्लो समय गन्धर्व सँस्कृति बचाउन लागेकाहरुलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको पाइएको छ । २६ बर्ष लामो समयदेखि नेपाल तथा भारतका विभन्न सहर तथा गाउँमा गीत गाउँदै आएका भोजपुर जयरायोटारका ६० बर्षीय बाबुराम गन्धर्वले गन्धर्व पेशालाई राज्यले त सहयोग गरेन गरेन आफूहरुको पेशालाई माग्ने पेशाको लिएको गुनासो पोखे । उनले भने–‘गन्धर्व सँस्कृति नेपालकै संस्कृति हो, अहिले बजारमा आएका उच्छृंखल गीतले गन्धर्वले गाउने गरेको घट्नामा आधारित गीतहरु ओझेलमा परेका छन्, हाम्रो मूल्यांकन छैन, सबैले हामीलाई माग्नेको रुपमा हेर्ने गर्छन् ।’
विगतमा गन्धर्वहरुले कुनै घट्ना परिवेश तथा गाउँ घरमा भएको लोकसँस्कृतिलाई समेटेर सार्वजनिक ठाउँमा गीत गाउने गर्दथे तर् अहिले आधुनिक रहनसहन र बजारमा निस्किएका आधुनिक गीत र चलचित्रको गीतहरु मन पराउने भएकोले मौलिकपन समेत हराउदै गएको डम्बर गन्धर्वको समेत भनाई छ
भोजपुरको जयरायोटारमा मात्र २२ घर परिवार गन्धर्व जाति रहेको अर्का सर्जक टंक गन्धर्व बताउछन् । उनले यसमध्ये ७ घर परिवारले यो पेशालाई संरक्षण गरेको बताए । राज्यले सहयोग नगरेको, यो पेशा गर्दा हेयको भावना हेर्ने गरिएको लगायताक कारण युवा पुस्ता विदेश पलायन हुने तथा वैकल्पिक पेशा रोज्न थालेपछि गन्धर्व सँस्कृति पलायन हुँदै गएकोे भनाई छ । उनले भने–‘गन्धर्व संस्कृति नेपालको मौलिक संस्कृति हो, तर राज्यले यसको संरक्षण गर्न सकेको छैन, भविष्यमा यो संस्कृति नहराउला भन्न सकिदैन ।’
सँस्कृतिलाई लोप हुन नदिन भोजपुरको अरुण गाउँपालिकाकाका मेयरलाई केही बर्ष अगाडि संगीत विद्यालय सञ्चालन गर्न माग गरे पनि त्यसको सुनुवाई नभएको टंकको भनाई छ । उनले २०७४ सालमा जितेर आएका मेयरलाई गन्धर्व पेशा गन्धर्वमामात्र सीमित नभई अरुलाई पनि सिकाएर संरक्षण गर्नुपर्ने सोच राखेर संगीत विद्यालय सञ्चालन माग गरेपनि पहिलो कार्यकाल सकिएर दोस्रो स्थानीय निर्वाचनबाट नया मेयर आएपनि आफूहरुले राखेको माग पूरा नभएको बताए । उनले भने–‘यो सँस्कृति गन्धर्वको मात्र हैन, यो नेपालकै संस्कृति हो, यसको संरक्षणका लागि सरकारले उदासीन देखाएको छ, त्यही भएर हामीले भोजपुरको अरुण गाउपालिकामा संगीत विद्यालय निर्माण गर्न माग गरेका हौं ।’
गन्धर्व सँस्कृतिको जगेर्ना अहिले प्रदेश न.. १ मै भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटारका गन्धर्वले बचाएका छन् । नेपालको सास्कृतिक पहिचान झल्किने यस्ता संस्कृतिको विकासमा राज्य उदासिन भएकै कारण भएका गन्धर्व पनि अन्य पेशा अंगालेर पलायन भएका छन् । यस्ता संस्कृति राज्यका गहना हुन् यसको संरक्षणमा तीनै तहको सरकार लाग्न जरुरी भइसकेको छ ।