धरान । जिल्ला समन्वय समिति इलाममा एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने काङ्ग्रेसले एक्लै मनोनयन गरेको छ । एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको छ भने काङ्ग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार बनेका छन् । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली उम्मेदवार छिन् । माङ्सेबुङ गाउँपालिकाको उपाध्यक्ष जितेको जनता समाजवादी पार्टीले चाहिँ जिससको कुनै पनि पदमा उम्मेदवारी दिएन ।
महिला सदस्यमा एमालेबाट मीनाकुमारी राई, सीता कार्की तथा खुला सदस्यमा एमालेकै प्रेमराज गुरुङ, शेरबहादुर खालिङ र रामप्रसाद लिम्बूले उम्मेदवारी दिएका छन् । नेकपा (एस)बाट महिला सदस्यमा सपनादेवी राई र दलित वा अल्पसंख्यक सदस्यमा तृष्णा लोहारको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्यले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा कमला अधिकारी बराल, महिला सदस्यहरूमा रीना राई र ख्यामकुमारी घले, दलित वा अल्पसंख्यक सदस्यमा पार्वती विश्वकर्मा, खुला सदस्यमा विष्णुप्रसाद भट्टराई र राजकुमार लिम्बूले उम्मेदवारी दिएका छन् ।
जिल्लाका १० स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी २० जना जिससको उम्मेदवारका मतदाता हुन् । २० जनामध्ये एमाले–नेकपा (एस) गठबन्धनतर्फ १२ मतदाता छन् भने कांग्रेसतर्फ ७ जना छन् । जसपाका १ जना छन् । यसअघि पनि सूर्याेदय नगरको कार्यपालिका गठनमा एमाले र नेकपा (एस)को गठबन्धन बनेको थियो । गठबन्धनका सबै उम्मेदवारले कार्यपालिकामा विजय हासिल गरेका थिए । जिससमा भएको तालमेल स्थानीय तह निर्वाचनको गठबन्धन बीपरितको रहेको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो । जिसस नेतृत्वको उम्मेदवारी मनोनयन दर्ता गराउँदा सत्ता गठबन्धन फुटेर नेपाली काङ्ग्रेस एक्लै भएको छ भने नेकपा (एस)ले नेकपा (एमाले)सँग तालमेल गरेको छ ।