धरान । धरानमा चुलिएको खानेपानी अभावका कारण नर्सरी व्यवसाय संकटमा पर्दै गएको छ । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पानी अभावकै कारण धरानमा रहेका दुई दर्जनभन्दा बढी व्यवसायीले व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । १० बर्षदेखि धरान ७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गर्दै आएका राजेश राईले नर्सरी व्यवसाय पानी विना चल्नै नसक्ने बताए । उनले भने, ‘यो समस्या अहिलेको मात्र हैन, बर्षेनी हुने गर्छ, सुख्खा मौसमका समयमा खानेपानी वितरण गर्ने जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण बर्षेनी यस्तो समस्या आएको हो ।’
पानी अभावका कारण लगाएको फूलका विरुवा सुकेर सबै नष्ट भएको उनी गुनासो पोख्छन् । अहिले आकाशबाट पनि पानी नपरेका कारण नर्सरीका फूलका विरुवाका लागि पानी किनेर हाल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
नेपाल फलोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव समेत रहेका राईले पानीकै अभावका कारण विरुवा मर्दा करोर्डौ रुपैया घाटा व्यहोर्नुपरेको बताए । उनले भने, ‘एक एक बर्षको मात्र हैन, बर्षौदेखिको समस्या हो, यसको समस्या समाधानमा हामीले खानेपानी बोर्डमा पटक पटक कुरा राख्यौ, हाम्रो कुरा कहिल्यै सुनुवाई नै भएन ।’
धरान ९ पूर्णपथमा एन्जिला नर्सरी सञ्चालन गर्दै आएका रतन वेराको अवस्था पनि राईकै जस्तै छ । उनी पनि पानी अभावका कारण आफूले लगाएको विरुवा जोगाउनै गाह्रो भएको बताउँछन् । उनी भन्छन्, ‘पानी नभएकै कारण एक हप्तामा ६ हजार लिटर पानी किनेर लगाउनुपर्छ, एकदमै समस्या भयो ।’
नेपाल लगायत विदेशबाट समेत आयात गरी ल्याएका विरुवा पानीको समस्याले हुर्काउनै गाह्रो भएको उनले भने । उनले भने, ‘विदेशबाट पनि फूलका विरुवा ल्याउनुपर्ने अवस्था छ, यहाँ ल्याएर त्यो फूल बेच्न गाह्रो छ, एउटा विरुवाको मूल्य ६ हजारसम्म पर्ने छ, लामो समय विक्री भएन भने हामीलाई धेरै समस्या हुन्छ ।’
एसोसिएसनका अनुसार धरानमा मात्रै २५ वटाभन्दा बढी साना र ठूला नर्सरी सञ्चालनमा छन् । पानीकै अभावले खरिद गरेर ल्याएको विरुवा हुर्काउन नसक्दा व्यवसाय नै चौपट्ट बनेको छ । यहा उत्पादन भएका फूलका विरुवाहरु स्थानीय स्तरमा विक्री हुनेमात्र हैन काठमाण्डौ लगायत भारतका विभिन्न स्थानमा समेत निर्यात हुने गरेका छन् । तर पानीकै अभावका कारण यो पेशाबाट विस्थापित हुने अवस्था आएको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।