धरान । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि विभिन्न चरणमा आन्दोलनहरु चर्किरहेको छ । प्रतिष्ठानको सेवा सुविधा सुधारको माग गर्दै स्थानीय सँगै चिकित्सकहरु पनि आन्दोलनमा रहेका छन् ।
यसै बिचमा प्रतिष्ठानले प्रतिष्ठानको सेवा र सुविधा सुधार गर्न थालेको छ । बिरामीको चाप बढे सँगै आवश्यक सेवा सुविधाहरु थप गर्न थालेको छ ।
प्रतिष्ठानले आकस्मिक कक्षमा वेड र ट्रली थप गरेको छ । विरामीको चाप बढे सँगै आवश्यक वेड अभाव हुँदा विरामीले भुईमै उपचार गराउनु पर्ने बाध्यता अब हटेको छ । आकस्मिक कक्षमा विरामी बोक्न प्रयोग गरिने ट्रली पनि थप गरे पछि सहजता हुने विश्वास गरिएको छ ।
एक बर्ष भन्दा लामो समयदेखि बीपी सुधारका अभियन्ताले बीपीको आकस्मिक कक्ष लथालिंग र आवश्यक सामाग्री नभएको विषयमा प्रदेश १ का प्रमुख भवानी खापुङ समक्ष गुनासो पोखेका थिए । खापुङले उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए पनि बीपीमा रहेको आकस्मिक कक्षको सुधार भन्दा पनि अझ अस्तव्यस्त बन्दै गएको थियो ।
पछिल्लो समय प्रतिष्ठानले आफ्नै पहलमा आकस्मिक कक्षमा २० वेड र १५ थान ट्रली थपिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखेरेलले बताए । उनका अनुसार प्रतिष्ठानको आकस्मिक कक्षमा आउने विरामीलाई सहज होस् भन्ने् उद्देश्यले आकस्मिक कक्षलाई सुधार गर्दै लगेको बताए । उनले भने, ‘बीपी रिफरल सेन्टर भएकोले विरामीको चाप अत्यन्तै हुने गर्छ, त्यसमाथि पनि प्रदेश नं. १ र २ का अस्पतालबाट पनि विरामीलाई वीपीमै रेफर गर्ने गरिएकोले प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुने गर्छ ।’ उनले विरामीहरुलाई थप सुलभ र प्रभावकारीढंगले उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरु वृद्धि गरिएको बताए । उनले भने, ‘विरामीहरुको चापलाई मध्यनजर गर्दै २० थान बेड थपिएको छ भने १५ थान ट्रली थप गरिएको छ अझै पनि पर्याप्त भने छैन ।’
इमर्जेन्सी भित्रका आवश्यक स्थानहरुमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ । यो मेशिनले अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वास लगायत मनिटर गर्ने काम गर्छ । यो मेशिनको जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरि गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानमा गम्भीर प्रकृतिका विरामीहरु आउने भएकाले उनीहरुलाई लक्षित गरी हाईफ्लो डिभाइस, डेफिब्रिलेटर लगायत उपकरणहरु र इर्मजेन्सी क्रास कार्ट पनि थप गरिएको बताए । उनले भने, ‘प्रतिष्ठानमा भेन्टिलेटर सहितको आइसियु एकदमै कम छ, जसले गर्दा विरामीलाई उपचार गराउन समस्या हुने गरेको छ, यसको विस्तारमा पनि प्रतिष्ठान लागि परेको छ ।’
उनले गम्भीर प्रकृतिका विरामी तर आइसियु नचाहिने विरामीलाई लक्षित गरी एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु चाडै जडान गरिने जानकारी दिए । उनले भविष्यमा प्रतिष्ठानमा आवश्यकता अनुसार वेड थप गर्दै लाने बताए ।
सहप्रवक्ता पोख्रलेले आकस्मिक कक्षमा आएका विरामीहरुलाई द्रुत, गुणस्तरीय उपचारका लागि प्रतिष्ठानले विस्तारै सुधार गर्दै लगेको बताए । उनले भने, ‘आकस्मिक कक्षमा आउने विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण ल्यापका परीक्षणहरु यहीबाट हुने व्यवस्था छ, अब कसैले पनि परीक्षणका लागि बाहिर जानु पर्दैन ।’