धरान । ट्युसन पढन गएकी उदयपुर बेलका नगरपालिका ३ बुद्धचौकीकी एक १५ वर्षिय बालिकाको हत्या भएको छ ।
मंगलबार विहान घरबाट ट्युसन पढ्न निस्किएकी बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको हो । उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने जानकारी दिए ।
कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिव ७ सय मिटर र घरबाट करिव दुई किलोमिटर पर रहेको स्थानीय सुमनसागर खतिवडाले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले कविताको हत्यामा साथीकै संलग्नता देखिएको छ । प्रहरीले कविताकै दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ परेका दुईजना दाजुबहिनी रहेको खुलेको छ । पक्राउ पर्नेमा मृतक छात्राकै १७ वर्षीय सहपाठी र उनका दाजु (काकाका छोरा) विनोद ढकाल रहेको उदयपुर प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गाईघाट पु¥याइएको बुझिएको छ । ‘नियन्त्रणमा रहेका एक जना २२-२३ वर्षका छन् । कविताकै साथी हुन् । सधैं ट्युसन जाने रहेछन्, तर आज नगएपछि खोजी गर्दा उनको पनि शरीरमा चोटपटक देखिएको छ । कविताको अनुहार क्षतविक्षत अवस्थामा छ । उनको अनुहार चिन्न निकै गाह्रो हुने अवस्थामा भेटिएको छ ।’ उदयपुर प्रहरी स्रोतले भन्यो ।
कविता र उनकै कक्षामा पढ्ने अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको प्रहरी स्रोतको दावी छ । एसईईको तयारी गरिरहेका उनीहरूबीच एक युवतीको विषयमा विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको जनाएको छ । प्रहरीले ढकाल थरका किशोरकिशोरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन् ।