धरान । पहाडी क्षेत्रका सर्वसाधारण सुविधा खोज्दै तराईका सुविधायुक्त सहरमा बसाई सर्ने क्रम बढ्दै गएको छ ।
यातायातको पहँुच नपुगेको, विरामी हुदा अस्पताल नहुँदा समस्या भोग्नुपर्ने, सुखसयलमा जीवनयापन गर्नकै लागि गाउँ छोडेर तराई लगायत राजधानी बसाई सर्ने गरेको पाइएको छ ।
लालीगुराँस नगरपालिका बसन्तपुरका दिपेन्द्र घिमिरे ५ बर्ष अगाडि राजधानी काठमाण्डौ बसाई सरे । ५ बर्ष कोरिया बसेर आएका उनको बसन्तपुरमा अहिलेको याक होटल सञ्चालन गरेको घर हो । बसन्त माविबाट एसएलसी पास गरेर कोरिया गएका उनी कोरियामा मनग्गे आम्दानी गरेपछि काठमाण्डौ सरेका हुन् । अहिले उनले काठमाण्र्डाैको गोंगवुमा शर्मा होटल सञ्चालन गर्दै आएका छन् । भविष्य खोजेर राजधानी छिरेका उनले सोचेभन्दा राम्रो कमाई गर्न थालेपछि बसन्तपुरमा रहेको घर विक्री गरेर काठमाण्डौमा घर खरिद गरे । घिमिरे भन्छन्, ‘बाहिर गएपछि कमाई भएको रकमले राजधानीमै बसेर काम गर्ने सोच आयो, त्यही भएर आफ्नो जन्मभूमि छोडेर काठमाण्डौ बस्न थालेको हु“ ।’
उनी जस्तै सोही स्थानका ज्ञानेन्द्र गुरुङ पनि कोरियामा बसेर कमाई गरेपछि विर्तामोडमा घर बनाएर बस्न थालेका छन् । बसन्तपुरमा पाथीभरा होटल सञ्चालन गर्दै आएका गुरुङको पुख्र्यौली घर भने ताप्जुङको सदरमुकाम फुङलिङ हो । सानै उमेरदेखि बसन्तपुर बसेर पढ्दै आएका उनी पनि नौ कक्षा पढ्दापढ्दै कोरिया छिरे । ७ बर्ष कोरिया बस्दा ४५ लाख लिएर आए । उनी भन्छन्, ‘४५ लाख रुपैया लिएर आएपछि पहिला मैले धरान १६ मा घर किने, अहिले त्यो घर बेचेर काठमाण्डौंमा लिएको छु ।’
यी दुईमात्र हैन बसन्तपुरमा चल्तीफुर्तीसँग बसेका हेम गुरुङ, नवराज पोख्रेल लगायत पनि अहिले बसन्तपुरमा रहेको जग्गा जमिन निमिट्यान्न पारेर काठमाण्डौ बसाई सरेका छन् ।
वैदेशिक रोजगारीमा गएर पैसा कमाउनेहरुको पहिलो उद्देश्य नै सुविधा सम्पन्न स्थानमा घर जोड्ने र परिवार पाल्ने हो । तेह्रथुमको लालीगुराँस नगरपालिकाका सर्वसाधारणमात्र हैन धनकुटाका केही स्थानबाट समेत वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँ नै छोडेर सहरतिर पस्ने क्रम बढेको छ । महालक्ष्मी नगरपालिका वडा नं. ४ का निर्मल चापागाई चार बर्ष वैदेशिक रोजगार साउदीमा बसेर आएपछि अहिले गाउँलाई चटक्कै छोडेर केराबारी गाउँपालिका वडा नं ९ घंघरुमा परिवारसंगै बस्दै आएका छन् । २ बर्ष अगाडि घंघरुमा आएका उनले छोराछोरीलाई राम्रो विद्यालय पढाउने र विरामी हुँदा सजिलैसंग उपचार गराउन पाउने उद्दे्श्यले गाउँ छोडेर आएको बताउँछन् । उनी भन्छन्, ‘गाउमा राम्रो विद्यालय छैन, छोराछोरीलाई राम्रै विद्यालय पढाउ भनेर म चानुवा छोडर घंघरु झरेको बताउँछन् ।
पछिल्लो समय गाउँघरमै कृषि पेशामा सम्भावना भएपनि ऐस आराम जीवन विताउनकै लागि भएपनि बसाई सराई सर्ने क्रम बढ्दै गएको छ । जसले गर्दा गाउँका जग्गा बाझो हुने गरेको छ । स्थानीय सरकारले समेत कृषि पेशालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरे पनि वास्तविक किसानले राज्यबाट पाउने सेवा सुविधा वास्तविक कृषकसम्म पुग्न नसक्दा उनीहरुको विकल्पको रुपमा वैदेशिक रोजगार हुने गरेको छ । वैदेशिक रोजगारबाट आएपछि उनीहरुले देशका ठूला सहरहरुमा घर घडेरी जोड्ने्, घर बनाउने र गाउँलाई चटक्कै विर्सिने गरेका छन ।
यसरी गाउँबाट बसाई सराई गरेर सुविधासम्पन्न सहरतिर बसाई सर्न बाध्य राज्यले बनाउने गरेको छ । गाउमै केही गर्ने अठोट बोकेका नौजवानहरु समेत वैदेशिक रोजगारी जाने र गाउँ छोड्ने क्रम रोकिएको छैन, यसतर्फ राज्यले खासै चासो देखाउन सकेको छैन । एकातिर कृषियोग्य जमिन घडेरीमा परिणत हुदै जानु र अर्कोतर्फ गाउमा कृषि पेशा अंगालेर बसेकाहरु वैदेशिक रोजगारपश्चात सुविधा सम्पन्न सहरतिर छिर्नु देशकै लागि दुर्भाग्य हो । बसाई सर्नेको यकिन तथ्यांक नभए पनि यसले भविष्यमा ठूलो विकराल समस्या भने ल्याउने पक्का छ ।