धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ ।
२०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन ।
स्थानीयहरुले पनि पुरानो बराहक्षेत्रको ११ वटा वडामध्ये तथा हालको १ र २ वडा विकासको क्षेत्रमा पछाडि रहेको बताउछन् । सडक जीर्ण अवस्थामा छ भने अन्य भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको दृष्टिले पछि परेको स्थानीयहरु गुनासो पोख्छन् । उनीहरु साविकको बराहक्षेत्र गाविस नै बराहक्षेत्र नगरपालिकाभित्र उपेक्षित भएको बताउछन् । स्थानीय पुष्प पौडेलले नगरपालिका हुनूपूर्वको बराहक्षेत्र गाविस अन्य वडाभन्दा विकासको क्षेत्रमा पछि परेको बताउछन् । उनी भन्छन्–‘यो वडामा स्थानीय सरकारको आखा नपुगेकै कारण शिक्षा, स्वास्थ्य तथा सडक निर्माणदेखि लिएर भौतिक पूर्वाधारमा पछि नै परेको छ ।’
उनको जस्तै सोही स्थानका रञ्जित लोहनीको भनाई छ । उनले त राजनीतिक खितातानीका कारण साविकको बराहक्षेत्र गाविस र हालको बराहक्षेत्र नगरपालिका १ र २ वडा राजनीतिक पहुच नपुगेकै कारण विकास हुन नसकेको बताउछन् । उनी भन्छन–‘विकासको नाममा पनि राजनीति हुने गरेको छ यही चपेटामा यी दुई वडा परेको मैले महसुस गरेको छु ।’
तर नगरपालिकाले वराहको अन्य वडा सरह १ र २ मा पनि विकास निर्माणको काम गरेको दाबी गर्दै आएको छ । उपप्रमुख कमला मगरले अन्य वडाजस्तै वराहको १ र २ मा पनि विकास निर्माणका कार्यहरु गरेको बताउछिन् । उनले विगतमा सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचना निर्माण, सडक निर्माृण, शिक्षा स्वास्थ्यमा बराहले उल्लेख्य काम गरको दाबी गरिन । उनले भनिन्– स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबै वडामा भवन निर्माणदेखि लिएर शिक्षा, स्वास्थ्यमा समेत विकास भएको छ । विकास भएकै छैन भन्न मिल्दैन ।’
धरानबाट १७ किमी उत्तरमा पर्ने साविकको बराहक्षेत्र गाविस र हालको वडा नं. १ र २ को बाटो भएर सिधा नेपालकै एक धाममध्ये बराहक्षेत्र धाम पुग्न सकिन्छ । त्यहा पुग्ने बाटोमा खाल्डाखुल्डी हुदा सवारी साधन पु¥याउन नै मुस्किल हुने गर्दछ । यी यावत कुराहरु नगरपालिकाले गर्न नसकेको सर्वसाधारणको गुनासो छ ।
२२२.९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिका सुनसरीको सबैभन्दा ठुलो नगरपालिका पनि हो । २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या ७७ हजार ४ सय ८ रहेको छ ।