फाइल तस्वीर
धरान/ आगलागी मानव सिर्जित घटना हो । मानिसकै असावधनिका कारण आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको छ ।
सावधानी नपनाउदा पछिल्लो समय सुनसरीमा आगलागीका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्सेनि सुनसरीमा आगलागीको घटना बढ्दै गएको देखिएको छ । चालू वर्षमा ८ महिनामा १ सय वटा आगलागीको घटना भएको छ । अघिल्लो वर्ष कुल १ सय ३१ वटा आगलागीका घटना भएको थियो ।चालु अर्थिक वर्षको फागुन १८ गतेसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ७६ दशमलब ३३ प्रतिशत आगलागीको घटना भएका छन ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ व.को ८ महिनामा आइपुग्दा आगलागीबाट जिल्लामा १ सय वटा घटना हुँदा ६ करोड १४ लाख ६ हजार बराबरको क्षति भएको छ । ४५ वटा घरमा पुर्णरुपमा क्षति हुँदा १ जनाको मृत्यु हुदाँ १३ जना घाइते भएका छन् भने २५ घरमा आशिंक क्षति पुगेको छ । आगालगी बाट १ सय १९ परिवारमा क्षति पुगेको छ ।
अघिल्लो वर्ष आगलागीका कारण १ सय ६८ परीवारमा क्षति भएको थियो भने १ जना महिलाको मृत्यु भएको थियो । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने ४३ घरमा आशिंक क्षति पुग्दा १० जना घाइते भएका थिए ।
आगालीबाट कुल १६ करोड ६८ लाख १६ हजार ३ सय बराबरको क्षति भएको तथ्याङकले देखाएको छ । जिल्लाको स्थानीय तह अन्तर्गतको तथ्यांक अनुसार बराहक्षेत्रमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । बराहक्षेत्रमा आगालागीका १८ वटा घटना हुँदा १ करोड १८ लाख ८६ हजार बारबरको क्षति भएको छ भने भने १८ परिवारमा क्षति पुगेको छ । त्यस्तै, कोशी गाउँपालिकामा आगलागीका १४ घटना हुँदा १ करोड ३९ लाख ३८ हजार बराबरको क्षति भएको छ भने २० परिवारमा क्षति पुगेको छ ।
धरान उपमहानगरपालिकामा चालु आ.व.को फागुन १८ गते सम्ममा १३ घटना हुँदा १ करोड ४९ लाख ७५ हजार बराबरको क्षति भएको छ भने १४ परिवारमा क्षति पुगेको छ । त्यस्तै भोक्रहा नरसिंह गाउँपालिकामा ११ घटना हुँदा ४९ लाख ५१ बराबरको क्षति भएको छ भने, २० परिवारमा क्षति पुगेको छ । इटहरीमा उपमहानगरपालिकामा ११ घटना हुँदा १२ परिवारमा क्षति हुँदा २९ लाख ७० हजार बराबरको नोक्सानी भएको छ ।
यता इनरुवा नगरपालिकामा आगलागीका ८ वटा घटना हुँदा ८ परिवारमा क्षति हुँदा ६८ लाख ५७ हजार बराबरको नोक्सानी भएको छ । देवानगञ्ज गाउँपालिकामा ६ वटा घटनामा ६ परिवारको क्षति हुँदा १० लाख ३५ हजार बराकारको नोक्सानी भएको छ भने १ जनाको पुरुषको मृत्यू भएको छ ।
हरीनगर गाउँपालिकामा ६ घटना हुँदा २३ लाख ९६ हजार बराबारको क्षति भएको छ भने ८ परिवारमा क्षति भएकोे छ , रामधुनी नगरपालिकामा ५ घटना हुँदा ३० लाख ८० हजार बराबरको क्षति भएको छ भने, ५ परिवारमा क्षति भएको छ । तथ्यांक अनुसार गढी गाउँपालिकामा ३ घटना हुँदा १ लाख ९० हजार बराबरको क्षति भएको छ भने ३ परिवार बिस्थापित भएका छन् । त्यस्तै बर्जु गाउँपालिकामा ३ घटना हुँदा २ लाख बराबरको क्षति भएको छ भने ३ परिवार बिस्थापित भए भने दुहबी नगरपालिकामा सबैभन्दा कम २ घटना हुँदा १७ लाख बराबरको क्षति भएको छ भने ३ परिवार बिस्थापित क्षति भएका छन्।
यता सुनसरी जिल्ला विपद तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जनचेतना प्रभावकारि नहुदा आगलागीका घटना बढ्ने गरेको बताउँछन् । उनले भने, ञजाडो मौसममा चौपाय तथा मानिसलाई न्यानो बनाउन भित्रि गाँउहरुमा घुर ताप्ने प्रचलन छ त्यहीँबाट अगालागीका घटनाहरु बढेको हो ।
यादवका अनुसार मंसिर महिनामा धान थ्रेसर गर्ने क्रममा आगलागी हुने गरेको र थ्रेसर गर्ने क्रममा बिजुलीको तारमा परालले छुँदा सर्ट भएर आगलागीका घटना भएको उनको भनाइ छ । उनले भने, ‘मंसिर महिनामा धान थ्रेसर गर्ने क्रममा थे्रसर मेसिनमा आगलागी हुन्छ त्यस्तै मानिसको असावधानिका कारण बिजुलीका तारमा लागेर बिजुली सर्ट भएर आगलागीको घटना धेरै भएका छन् ।’ घटनालाई न्यूनिकरण गर्न जनचेतना वृद्धी गराउने काम भइरहेको प्र.जि.अ. यादवले बताए ।
ठुला खालका आगलागी भए त्यस्ता घटना सँग लड्न आवश्यक जनशक्ति र स्रोत साधनको कमि भएका उनले बताए । उनले भने, ‘सामान्य खालको पातलो बस्तीमा भएको आगलागी नियन्त्रण गर्न हामी सँग जनशक्ति छ तर ठुला किसिमका केमकिल फ्याक्ट्री पेट्रेल पम्प घना वस्तीमा त्यस कसिमिको आगलागी भयो भने हामी सँग वेल ट्रन्ड म्यानपावर छैन ।’
जिल्ला विपद व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा पनि मानिसका असावधानीका कारण आगलागी हुने गरेको बताउँछन् । घटना नियन्त्रण गर्न जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘आगलागी भनेको मानिसबाट सिर्जित विपद हो यो मानिसकै असावधानीबाट सिर्जना हुन्छ ।’
आगालीका घटनालाई न्यूनिकरण गर्न नसक्दा वर्षेनि करोडौंको क्षति हुने गरेको तथ्याङकले देखाएको छ । क्षति कम गर्न आवश्यक पर्ने जनशक्ति तथा उपकरणको राज्यले उचित ब्यवस्थापन गर्न नसक्दा पनि बढी क्षति हुने गरेको देखिन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले स्थानियतहलाई विपद जोखिमको पूर्वतयारीदेखि प्रतिकार्य गर्ने सम्मको अधिकार दिएको छ । अधिकार पाइएका स्थानियतहले आवश्यक उपकरणको जोहो गर्न नसक्दा विपद व्यवस्थापनको काम खासै प्रभावकारी हुन सकेको छैन् । प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र दमकल सेवा प्रवाह गर्नुपर्ने कानुनी प्रावधान छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार ७५३ स्थानीय तहमध्ये ६५५ पालिकामा अझसम्म पनि दमकल सेवा सञ्चालन छैन । कतिपय स्थानियतह मा दमकल सम्बन्धी पूर्वाधार एवं संरचना केही पनि छैन ।