धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ ।
धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् ।
यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर पानी थाप्नतिर लाग्छन् । तर आइतबार भने दिनभरि पर्खिदा पनि पानी नआएपछि उनीहरु रित्तो भाडा लिएर फर्किन बाध्य भए । धरान ७ की नुतन खानले पानी आउने पालोमा पनि पानी नआएपछि खानेपानी नथापि रित्तो भाडा लिएर फर्किनु परेको बताइन् । उनले भनिन् ‘दिन विराएर धारामा पानी दिने गर्छ, आइतबार पनि पालो भएकोले दिनभरि पर्खिए, धारामा पानी आएन, रित्तो भाडो लिएर घर फर्किए ।’
उनले पानी आउने दिन सबै काम लथालिंग हुने बताइन् । बच्चालाई स्कुल पठाउनेदेखि लिएर घरको सबै काम भ्याउन नै मुस्किल हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘पानी आउने दिन भनेर हतार हतार नानीहरुलाई खाना खुवाएर स्कुल पठाए, घरको काम लथालिंग छोडेर पानी थाप्न धारा रुगेर बसे, तर खानेपानी नै आएन, दिनभरि बेकार बसियो ।’
धारा छेउमा भाडामा बस्ने सविता सुवेदीको गुनासो पनि खातुनको भन्दा फरक छैन । उनी पनि त्यही धारामा दिनभरि पानी आउने आशामा पर्खिएर बसिन, तर दिनभर पानी नआएपछि रित्तो भाडा लिएर फर्किइन् । उनी भन्छिन्, ‘पालो मिलाएर पानी दिन्छ, पालोको दिन कहिले पानी नै आउदैन, कहिले पानी सानो आउछ एउटा भाडा भर्न पनि तीन घण्टाभन्दा बढी लाग्छ ।’ धाराबाट पानी थापेर खाने सबैको हविगत यस्तै छ । दिनभरि बस्दा पनि कहिले पानी नआउने र आएपनि सानो पानी आउने गर्दा दिनभरि पानी थाप्नमै समय वित्छ ।
यता खानेपानी बोर्डले भने खानेपानीको समस्या समाधान गर्न अझै समय लाग्ने बताउने गरेको छ । तत्कालिन नेपाल खानेपानी संस्थान धरानले वितरण गरेको पानी अन्य समय भन्दा सुख्खा मौसममा अभाव झेल्दै आएपछि एकीकृत सहरी विकास आयोजना अन्तर्गत एडिवीको ऋण तथा अनुदानमा आयोजना सम्पन्न भएको खानेपानी परियोजनाले समेत पानी खुवाउन नसकेको बोर्डका पदाधिकारीहरु बताउँछन ।
धरान उपमहानगरपालिकाका प्रमुख तथा धरान खानेपानी बार्डको अध्यक्ष समेत रहेका तिलक राईले विविध कारणले खानेपानी खुवाउन नसकेको स्वीकार गरे । उनले भने, ‘आयोजना आउनु धरानको लागि राम्रो हो, तर यो आयोजनाले धरानेहरुलाई पर्याप्त खानेपानी खुवाउन सकेन ।’ उनले भविष्यमा अन्यत्रबाट पानी ल्याउने विषयमा छलफललाई निरन्तता दिएको बताए । अहिलेलाई भने धरानमा आउने स्रोत जलाधार क्षेत्रको मुहानलाई संरक्षण गर्दै खानेपानीको स्रोत बढाउने बताए ।
विगतमा खानोपानी समस्या हुदा खानेपानी संस्थानले ट्यांकरबाटै खानेपानी वितरण गर्ने कुरालाई कोट्याउदै उनले खानेपानी संस्थानलाई बोर्डमा मर्च गर्ने समयदेखि नै संस्थानले बोर्डलाई असहयोग गरेको बताए । उनले भने, ‘शुरुदेखि नै संस्थानले परियोजनालाई असहयोग गर्दै आयो, बोर्ड गठन भएपछि ट्यांकर पनि अन्य शाखालाई दियो, त्यही भएर अहिले खानेपानी अभाव भएको छ, ट्यांकरको व्यवस्थापनमा बोर्ड चाडै लाग्छ ।’
बर्षेनी धरानमा खानेपानीको हाहाकार भएपछि नेपाल सरकार तथा एसियाली बैंकबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषबाट ३५ प्रतिशत ऋण तथा धरान उपमहानगरपालिकाबाट १५ प्रतिशत लगानीमा खानेपानी परियाजना शुरु गरिएको हो । ०७१ मा सम्झौता भएर ०७२ अषाढ ३० गतेदेखि शुरु भएको आयोजना ०७४ आषाढ २३ गते सक्ने सम्झौता भएपनि परियोजना समयमै पूरा भएन । प्रतिदिन १ करोड ५२ लाख पानी उत्पादन गर्नुपर्ने सम्झौता भएको र त्यो अनुसार पानी उत्पादन गरिएको दाबी गरेपनि अहिले त्यति पानी उत्पादन गर्न सकेको छैन ।
परियोजना असफल भएको विषयमा विगतमा नगरको विकासमा दलीय संयन्त्रमा रहेका माओवादीका स्थानीय नेता चोत्लुङले धरानमा खानेपानीको समस्या चुलिदै जानुमा असफल परियोजनाका साथै बोर्डद्वारा व्यवस्थापनको कमी भएको बताए । उनले भने ‘खानेपानी परियोजनाको अहिले पनि काम पूरा भएको छैन, त्यसमाथि बोर्डको व्यवस्थापन पनि राम्रो छैन, जसले गर्दा धरानमा दिनप्रतिदिन खानेपानीको अभाव चुलिदै गएको हो ।