धरान । धरानमा बादर आतंक भर्खैरै मात्र भएको होइन, यो आतंक बर्षौदेखि छ । बादर आतंकबाट सर्वसाधारणलाई छुट्कारा नपाउने भएपछि २०७० सालमा बादर पीडित संघर्ष समिति गठन भयो ।
समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई समेत ज्ञापनपत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउँदा पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय धरानमा बादर आतंकले सर्वसाधारण झन आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकारले गम्भीतापूर्वक लिएको छ न त प्रदेश तथा संघीय नै ।
२०७० सालमा सु्नसरी प्रदेश नं. १ बाट सांसद बनेकी सावित्रा जोशीले सदनमै धरानको बादर आतंकको विषयमा उठाइन् । उनले दुई बर्ष अगाडि सदनमै कुरा उठाउँदा त्यहा उपस्थिति सासदहरु समेत अचम्मित बनेका थिए । उनले भनेकी थिइन्, ‘प्राय बादरले खेतिपाती विगार गर्छ, कृषकको उठिबास गराउछ तर पर्यटकीय क्षेत्र धरानमा भने बादर बस्तीमै पसेर अनेक दुःख दिन्छ ।’
२०७६ फागुन ६ गते उनले सदनमै कुरा उठाउदा पनि यो विषय सांसद भवनमा मजाक बनेको थियो । उनले भनेकी थिइन्, ‘नजिकैको जंगलबाट बादर हुलका हुल धरान बजार पस्ने, सर्वसाधारणले पकाएको खाना खाइदिने, विगार गरिदिने, व्यापारीको फलफूल चोरिदिने, विजुलीको पोलमा भएको तार सर्ट गराइदिने, टेलिफोनको तार चुडाइदिने लगायतका उछृखंल काम बादरले गर्दा धरानका सर्वसाधारण हैरान भएका छन् ।’ उनले बादरले मानवीय क्षति समेत गर्ने गरेको बताइन् । उनले संसदमार्फत धरानको बादर आंतकको विषयमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी थिइन् ।
बादर आतंकले पीडित बनेका स्थानीयले २०७० सालमा बादर पीडित संघर्ष समिति गठन गरेर तीन वटै सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । संघर्ष समितिका अध्यक्ष सकुल श्रेष्ठले बारम्बार जानकारी गराउदा समेत तीन वटै सरकारले आफूहरुको कुरालाई मजाकको विषय बनाएर गम्भीर नभएको दाबी गरे । समितिका अध्यक्ष श्रेष्ठले भने, ‘स्थानीय, प्रदेश तथा संघीय सरकारलाई समितिले पटक पटक ध्यानाकर्षण गराउने काम गरेका छौ, यसतर्फ गम्भीर बनेको पाइएन ।’
केही समय अघि तत्कालिन धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको पहलमा स्थानीय सरकारले बादरलाई व्यवस्थापन गर्ने काम गरेपनि त्यो दीर्घकालीन हुन नसक्दा अहिले धरानमा यो समस्या झन ठूलो भएको छ । बादरबाट खासगरी धरान १, २, ३, १२, का सर्वसाधारण सबैभन्दा बढी पीडित बनेका छन् ।
संघर्ष समितिका संयोजक श्रेष्ठ भन्छन्, ‘धरानका बादरहरु यति हिंस्रक बनेका छन्, मानवलाई आक्रमण गर्नेदेखि लिएर ठूलो उप्रदो गर्ने गरेका छन् ।’ उनले बादरले तार चुडाएकै कारण सयौचोटी केवलको तार, विजुली तार, इन्टरनेटको तार जोड्न खबर गरिरहनु पर्ने समस्या भोगेको बताए । उनले भने, ‘बादर व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाले ५ लाख बजेट त्यसबेला छुट्याएको भन्ने सुनेको थिए, त्यसबेला वन विभागसँग मिलेर व्यवस्थापनको काम पनि गरेको थियो, तर अहिले अवस्था जस्ताको तस्तै छ, समाधान भएको छैन ।’
विगतको भन्दा अहिले बादरको संख्या थपिदै गएको उनी बताउँछन् । अहिले धरानमा २ सयदेखि २ सय ५० वटा बादर रहेको अनुमान गरेका छन् । उनी भन्छन्, ‘बर्षेनी बादरको संख्या बढ्दै गएको छ, जति जति बादरको संख्या बढ्दै गयो त्यति त्यति बादरले उप्रदो मच्चाउन थालेका छन्, हिंस्रक बन्दै गएका छन् ।’ यसलाई तीनै तहका सरकारले मजाकको रुपमा नलिई गम्भीर रुपमा लिएर समाधानमा लाग्नुपर्नेमा उनले जोड दिए ।