पहाडी क्षेत्रमा ठूलो मात्रामा कृषियोग्य जमीन बाँझो रहेको देखिएको छ । त्यसो त यो समस्या पहाडी क्षेत्रमा मात्र होइन, मेचीदेखि महाकालीसम्मै छ । त्यै पनि तराईमा भने ठूलो मात्रामा जमीन बाँझो राख्ने समस्या छैन । पहाडका अधिकांश जिल्लामा भने जग्गा बाँझो राख्ने निकै ठूलो समस्या छ । यो सुखद् अवस्था होइन । हरेक पहाडी जिल्लामा २० देखि ४० प्रतिशतसम्म कृषियोग्य निजी जमीन बाँझो छाडिएको बताइन्छ । देशभरिमा कति जमीन बाँझो भनेर व्यवस्थित अध्ययन नभएको हुँदा यसबारे आधिकारिक तथ्याङ्क त छैन तर पहाडी क्षेत्रमा २५ देखि ४० प्रतिशतसम्म कृषियोग्य जमीन बाँझो रहेको जानकारहरूले बताउने गरेका छन् । कतिपय सरकारी जमीन पनि बाँभैm राखिएको पाइन्छ ।
नेपाली युवाको आकर्षण वैदेशिक रोजगारमा हुन थालेपछि कृषियोग्य जमीन बाँझो हुन थालेका हुन् । युवाहरू वैदेशिक रोजगारमा जान थालेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएका कारण यस्तो अवस्था आएको स्पष्ट छ । अधिकांश युवा विदेश जाने र विदेश नजानेहरू पनि गाउँबाट शहरतिर सर्न थालेपछि ग्रामीण क्षेत्रमा कृषि क्षेत्र उपेक्षित हुन थालेको छ । जनशक्तिको अभावसँगै जङ्गली जनावरहरूले पनि दुःख दिन थालेपछि कृषिमा आकर्षण घट्न थालेको देखिन्छ । बजार र उचित मूल्यको अभावले गर्दा पनि कृषिमा समस्या देखिएको हो ।
यो निकै भयावह अवस्था हो । यसले भविष्यमा पर्यावरण र खाद्य सन्तुलन दुवै क्षेत्रमा असर पुग्ने सम्भावना छ । यो समस्या समाधान गर्न बेलैमा ध्यान नपु¥याउने हो भने यसले भयावह समस्या निम्त्याउने देखिन्छ । यसका लागि नीतगत रूपमै केही ठोस कदम चाल्नु आवश्यक छ । युवा जनशक्तिलाई विदेश जानबाट रोक्न सक्नुपर्छ । यसका साथै जङ्गली जनावरको व्यवस्थापन पनि प्राथमिकतामा पर्नुपर्छ । सबै शहरी क्षेत्रमै जाने र गाउँ रित्तो हुँदै जाने हो भने यसले निम्त्याउने जनसाङ्ख्यिक असन्तुलनले पनि थप समस्या सिर्जना गर्न सक्ने यथार्थलाई उपेक्षा गर्नु हुँदैन ।
सरकारको ध्यान यसतर्पm बेलैमा जानुपर्छ । जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दै गएमा यसले पार्ने सामाजिक र आर्थिक प्रभाव दीर्घकालीन हुन्छ । सबै जग्गामा खेती गर्दा बेरोजगारी समस्या पनि केही कम गर्न सकिन्छ । कृषिमा आत्मनिर्भरताका लागि पनि कृषियोग्य जमीन बाँझो राख्नु घातक छ । त्यस कारण खाद्य आपूर्ति र विदेशी मुद्राको सञ्चिति बढाउन पनि कृषियोग्य जमीनको सदुपयोग आवश्यक छ । यसका लागि सबैको भूमिका आवश्यक छ ।