धरान/ एक समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका ल्याबहरुमा गरिएको टेष्टले मान्यता पाउँदैनथे । विरामीले बाहिरबाट ल्याएका ल्याव टेष्ट, एक्स–रे, सिटिस्यान, एमआरआइको रिपोर्टलाई मान्यता नदिएकै कारण प्रतिष्ठानभित्रै टेष्ट गराउन लगाइन्थ्यो ।
तर अहिले अवस्था ठ्याक्कै उल्टो छ । प्रतिष्ठनमा उपचारमा आएका अधिकांश विरामीले बाहिरबाट ल्याव टेष्ट, सिटिस्क्यान, भिडियो एक्स–रे, एक्स–रे गर्न बाध्य छन् । प्रतिष्ठानका चिकित्सकहरुले नै बाहिर ल्याब टेस्ट गर्न सुझाव दिन थालेका छन् ।
दुई दिन अघि हाडजोर्नी विभागमा एक बिरामीको खुट्टाको सिटिक्यान रिपोर्ट बेडमै झुण्ड्याएको थियो । ट्रकका चालक योगेन्द्र भण्डारी दुर्घटना भएपछि हाडजोर्नी वार्डमा उपचार गराइरहेका उनले विजयपुर हस्पिटलमा गरिएको सिटिस्यानको रिपोर्ट झुण्ड्याएको थियो । उनी भन्छन्, ‘खुट्टा भाच्चिएर थला परेको अवस्थामा रेडियोलोजी विभागमा सिटिस्क्यान गर्न जाँदा हुन सकेन, त्यसपछि आकस्मिक कक्षमा रहेको सिटिस्यान पनि विग्रिएको भने पछि बाध्य भएर विजयपुर हस्पिटलमा गराए ।’ दुर्घटना भएर खुट्टा भाचिएपछि आकस्मिक कक्षमा उपचार गराउन आएका उनलाई हाडजोर्नी वार्डमा सिफ्ट गरिएको थियो । प्रतिष्ठानको रेडियोलोजी विभागमा रहेको सिटिस्क्यान विग्रिएकोले बिरामीहरुलाई सिटिस्क्यान गर्न बाहिर पठाउने गरिएको छ । हाडजोर्नी वार्डमै उपचार गराइरहेका सप्तरीका सन्तोष साहले पनि विजयपुरमै सिटिस्क्यान गराएका थिए ।
कतिपय टेष्टहरु धरानमा नीजि अस्पतालमा समेत नहुँदा प्रतिष्ठानमा उपचारार्थ विरामीहरुले विराटनगर गएर पनि टेष्ट गराएर आउनु पर्ने बाध्यता छ । धरान १५ का चक्र रामदामले टाउकोको एमआरआइ गर्न विराटनगर स्थित न्यूरो अस्पतालमा पुग्नुप¥यो । दुई बर्ष भन्दा अगाडिदेखि एमआरआई विग्रिएर थन्किएको भएपनि मर्मत सम्भार तथा नयाँ एमआरआइ खरिदमा प्रतिष्ठानले ध्यान दिन नसक्दा विराटनगर नै पुग्नुपरेको विरामीका आफन्तले बताए ।
केही बर्ष अघि बाहिरको टेष्टलाई मान्यता नदिने प्रतिष्ठान अहिले बाहिरकै टेष्टको भरमा उपचार गर्न बाध्य छ । यसले प्रतिष्ठानको गुणस्तरमा प्रश्नचिन्ह खडा गरिदिएको छ भने विरामीले समेत अनावश्यक सास्ती भोग्नु परेको छ ।
धरान ७ सन मेडिकलका सञ्चालक कृष्ण ठाकुरले प्रतिष्ठान भित्र टेष्ट नहुँदा विरामीले समस्या भोग्नुपरेको बताउँछन् । उनले भने, ‘म विरामी भएर बसेको एक हप्ता भन्दा बढी भयो, तर यहाँ आउने विरामीको सहज रुपमा टेष्ट भएको पाइन, सबै बाहिरबाट नै टेष्ट गराएर ल्याएको देखेको छु ।’
प्रतिष्ठानमा भएको उपकरण विग्रिएको विषयमा समय समयमा आवाज उठ्ने गरेको छ । केही समय अगाडि नागरिक समाज, प्रतिष्ठानका आन्दोलनरत पक्ष र जिम्मेवार पदाधिकारीबीच भएको छलफलमा प्रतिष्ठानभित्र रहेका उपकरणलाई चुस्त दुरुस्त बनाउने प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिबद्धता जनाए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । यसले गर्दा प्रतिष्ठानको गुणस्तरीय सेवानै प्रभावित बनेको छ ।