धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।
एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् ।
वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका लागि उपकरण प्रयोग गर्न बिजुलीको सहजता समेत छैन् ।
धरान १५ का रमेश बस्नेतले आफ्ना बुबालाई श्वास प्रश्वासमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार मेडिसिन वार्डमा भर्ना गरे । निमोनियाको समस्याले ग्रस्त बनाए पछि उपचारका लागि मेडिसिन युनिट वानमा राखेर उपचार गराउँदा गराउदै धेरै कफ जमेर श्वासप्रश्वास अवरुद्ध भयो । बुबाको उपचारमा संलग्न चिकित्सक डा. प्रियंका केसीले मेसिनबाट कफ निकाल्नुपर्ने र यसका लागि चाडै व्यवस्थापन गर्ने बताईन् । विहान ९बजे देखि रात ८ बजेसम्म पनि उपकरण वार्डमा आइपुगेन । बस्नेतका अनुसार समयमा कफ निकाल्ने उपकरण नआउदा समस्या भयो । उनले भने, कफ बढेर बुबालाई श्वास फेर्नै कठीन भयो, त्यसपछि वार्डमा गएर चाडो ल्याउन आग्रह गरे, आग्रह पश्चात उपकरण त आयो तर सञ्चालन गर्ननै कठिन भयो, बेड छेउमा राखिएको प्लग विग्रिएको रहेछ, त्यहाबाट नभएपछि राति ११ बजे क्यामगेटमा रहेको एउटा मेडिकल पसललाई आग्रह गरेर मल्टीप्लग ल्याएर जोड्यौ त्यसपछि मात्र बल्ल कफ निकालियो ।’
प्रतिष्ठान भित्र ठूला प्रकृतिका समस्या त एकातिर छन् तर साना साना समस्या समेत समाधान हुन सकेको छैन । धरान १६ का एक विरामीका आफन्तका अनुसार ह्विल चेयर अभावका कारण विरामीलाई समयमै भिडियो एक्स–रे गर्न लान समेत सकिएन् । उनले भनिन्, ‘विरामी बोक्ने जम्मा एउटा स्टेचर रहेछ, त्यो पनि अर्को वेडको विरामीलाई भिडियो एक्स–रे गर्न प्रयोग गरिएको रहेछ, समयमा स्टेचर नपाएर त्यो दिन भिडियो एक्सरे नै गर्न पाइएन ।’
वार्डमा कार्यरत नर्सका अनुसार जम्मा चारवटा स्टे«चर मेडिसिन युनिट १ का लागि छुट्याएको भएपनि तीनवटा विग्रिएर थन्किएको छ । उनले भनिन्, ‘जम्मा चारवटा स्टेचर छ, त्यसमा विग्रिएर तीनवटा स्टेचर कामै लाग्दैन भएको एउटा पनि हारालुछ हुन्छ त्यो पनि अगाडिको चक्का खुस्किन लागेको छ ।’ उनले अस्पताल प्रशासनसँग पटक पटक कुरा राख्दा समेत वेवास्ता गरेको बताइन् । सामान्य ह्विल चियर र स्टेचर समेत अस्पतालमा नहुँदा काम गर्दै गाह्रो भएको उनको भनाई छ ।
प्रतिष्ठानमा सामान्य कुराहरु समेत नभएको बेला बेलामा कुरा उठेका पनि छन् । केही दिन अघि सामान्य स्टेचर र ह्विलचियरका विषयमा धरान उपमहानगरपालकाको सभाहलमा राज्यमन्त्रीसँग छलफल समेत चलेको थियोे । जनसरोकार मञ्च धरानका अध्यक्ष हर्क साम्पाङले यस विषयमा मन्त्रीसँग चासो राखेका थिए । उनले आकस्मिक कक्षमा बेड अभावका कारण विरामीलाई भुईमै राखेर उपचार गराउनुपर्ने बाध्यता, आकस्मिक कक्षको शौचालय दुर्गन्धित भएको, पर्याप्त ह्विलचियर र स्टेचर नभएको विषय राज्यमन्त्रीलाई सुनाएका थिए ।
छलफलमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले अत्यावश्यक सामाग्रीका विषयमा चाडै नेपाल सरकारमा कुरा राख्ने र चाडो भन्दा चाडो उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि प्रतिवद्धता अझै पनि पुरा भएका छैनन् । विगतमा जस्तो थियो अहिले पनि उस्तै छ, अहिले त झन समस्या थपिदै गएको छ, कार्यरत एक नर्सले बताइन् ।