यो देश कागजी विकासमा रमाउने देश हो । सर्वसाधारणलाई अनेक रङ्गीन सपना देखाएर राजनीतिक दलका नेताहरूले राज्यकोषबाट विलासी जीवन बिताउने देश यही हो । निर्वाचनताका अनेक नारा र सपना बाँडेर दलहरूले सर्वसाधारणलाई सपनाको स्वर्गमा पु¥याउँछन् तर जब निर्वाचित हुन्छन्, सर्वसाधारणले ती नेताको दर्शन पनि पाउँदैनन् । ती नेताहरू सर्वसाधारणका आकाङ्क्षा र सपनाको लासमा आप्mनो विलासी जीवनको महल ठड्याउँछन् ।
यो कुनै स्वैरकाल्पनिक उपन्यास वा कथाका पङ्क्तिहरू होइनन् । हाम्रै देशको यथार्थ हो । यो यथार्थलाई बुझ्न वा हेर्न धेरै टाढा गइरहनु पर्दैन, आफ्नै वरिपरि हेरे पुग्छ । कागजी विकासमै रमाउनु हाम्रो नियति बन्न पुगेको छ । नेताहरूले कागजमा त विकासका ठुल्ठुला योजना छिनभरमै सम्पन्न गरिसक्छन् तर यथार्थमा भने सर्वसाधारणको जीवन जहाँको त्यहीँ छ ।
इटहरीका तीन ठुला विकासे योजनाहरू कागजमै सीमित भएको समाचार प्रकाशमा आएको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेट तथा नीति कार्यक्रममा परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माणजस्ता अर्बाैं रुपैयाँका ठुला विकास योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् । इटहरीमा मात्र होइन। देशभरिको अवस्था उही छ । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजना तथा कार्यक्रमहरू समयमा पूरा नहुनु यहाँको परिचय नै बनिसकेको छ ।
योजना निर्माणकै तहमा पनि कमजोरी देखिन्छ । मतदाताहरूलाई आकर्षित गरेर विजय हात पार्ने उद्देश्यले दलहरू असम्भव योजनाका सपना बाँड्छन् । काठमाडौँमा मोनोरेल वा देशमा पानीजहाज सञ्चालन, घर–घरमा ग्यासको पाइपजस्ता योजनाहरू यस्तै योजना हुन् । सपना देख्नु र नागरिकहरूलाई सपना देख्न सिकाउनु गलत अभ्यास होइन तर यस्ता योजनाहरूलाई दीर्घकालीन योजनाका रूपमा राखिनुपर्छ । सर्वसाधारणलाई पनि त्यही रूपमा बुझाउनुपर्छ ।
नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र केही महिना वा वर्षमा पूरा गर्न सकिने योजनाहरू निर्माण गरेर नागरिक जीवनलाई उन्नत बनाउनु आजको आवश्यकता हो तर यस्तो गरिँदैन । दल र तिनका नेताहरूले निजी स्वार्थ पूरा हुने तथा आफ्ना आसेपासे र कार्यककर्ताहरूलाई पोस्न सकिने योजना र कार्यक्रमहरूमा ठुलो रकम खर्च गर्छन् । यस्तै प्रवृत्तिले देशको उन्नति र प्रगति अभैm पनि कागज र नारामै सीमित हुन पुगेको छ ।
यस्तो प्रवृत्तिको अन्त्य नभई देशको विकास र समृद्धि असम्भव छ । योजना निर्माणको तहमै निजी वा गुटगत स्वार्थ हेरिने, त्यस क्रममै आर्थिक अपचलन हुने र कार्यान्वयनको तहसम्म पुग्न दशकौँ लाग्ने प्रवृत्तिको अन्त्य आवश्यक छ । अब फेरि स्थानीय तहको निर्वाचन नजिक आउँदैछ । अनेक असम्भव सपनाहरू फेरि बाँडिनेछन् । यसपटक भने मतदाताहरू सचेत हुनु आवश्यक छ । तिनका क्षणिक सपनामा लोभिएर होइन, आप्mनै विवेकको प्रयोग गरेर मतदान गर्नु आवश्यक छ ।