‘वीपीमा अत्यावश्यक उपकरण नै भरपर्दो छैन’ : बिरामी बाहिर जान बाध्य

  • कार्तिक २९, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ दक्षिण एसियाकै उत्कृष्ठ मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ ।
प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् तर समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले सास्ती भोग्नु परेको हो ।

टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराईलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काटेर विभागमा एमआरआई गर्ने समय माग्न जाँदा कर्मचारीले एमआरआई विग्रेको एक बर्ष भएको जानकारी दिए । एमआरआई विग्रेकै कारण उनलाई विराटनगर गएर चेकजाँच गर्न ल्याबका कर्मचारीले सम्झाए । यति ठूलो अस्पतालमा एउटा एमआरआइ मेसिन नभएकाले विराटनगर नै जानुपर्ने बाध्यता प्रति उनी रुष्ट भए । उनी भन्छन्, ‘एमआरआई जस्तो अति सम्वेदनशील उपकरण प्रतिष्ठानमा नहुनु विडम्बान हो । यहाको व्यवस्थापनले यसलाई किन चासो नदिएको बुझ्न सकिएन ।’

त्यस्तै धरान १४ का बीरेन्द्र खनालले समेत एमआरआई गर्न बीपी जाँदा एमआरआई विग्रिएकाले बाहिर गराएर ल्याउनु भनेको बताए । प्रतिष्ठानमा ८ हजारमा हुने एमआरआई विराटनगरमा गएर साढे १२ हजारमा गराउन उनी बाध्य भए । पछिल्लो पटक भिडियो एक्स–रे गर्न जाँदा समेत हैरानी व्यहोर्नु परको गुनासो उनले पोखे । नशाको समस्या भएर प्रतिष्ठान गएका खनाल प्रतिष्ठानमा चाहिने उपकरण विग्रिएको र भएका उपकरणबाट समेत समयमै काम गर्न नसकेको गुनासो पोखे । पेटको समेत समस्या देखिएका उनलाई भिडियो एक्सरे गर्न चिकित्सकले लेखेर दिए पनि उनलाई एक महिना पछिको मिति तोकिदियो । उनी भन्छन्, ‘उत्कृष्ट अस्पताल भनेर टाढाटाढाबाट विरामी उपचारमा आउँछन् तर यहाको उपचार गुणस्तरीय नै छैन, चिकित्सकले एमआरआई, भिडियो एक्स रे गरेर आइज भन्छ, एमआरआई मेसिन विग्रिएका कारण बीपीमा हुनै सक्दैन भने भिडियो एक्सरे गर्न पनि एक महिना भन्दा लामो समय तोकिदिन्छ ।’ विरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको समयमा एक महिनासम्म विरामीको भिडियो एक्सरे नहुँदा समस्या हुने उनी बताउँछन् ।

प्रतिष्ठानमा एमआरआई नभएको, भिडियो एक्स रे तथा सिटिस्क्यान जस्ता अत्यावश्यक उपकरण समय समयमा विग्रिने गरेको प्रतिष्ठानमा उठ्ने गरेको छ तर चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता पदाधिकारीले गर्ने गरे पनि समस्या भने जस्ताको तस्तै रहेको धरान १७ का गोपीधन राई बताउँछन् । उनले भने, ‘यो विषयमा समय सयममा कुरा उठ्ने गरेको छ, वैसाखमा समेत नागरिक समाज लगायत सबै पक्षबीच एमआरआइ विग्रिएको विषयमा छलफल हुँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक महिनाभित्रमा उपकरण मर्मत गर्ने प्रतिबद्धता जनाएका थिए, अहिले कार्तिक पनि जान लाग्यो, एक महिना भएकै छ कि छैन त्यो उहाँहरुलाई नै थाहा छ ।’

एमआरआई लगायत चेकजाँच गर्ने उपकरण विग्रिदा एकातिर सर्वसाधारणले हैरानी व्योहोर्नु परेको छ भने अर्कोतर्फ प्रतिष्ठानको आम्दानी समेत गुमाउदै आएको छ । उनले भने, ‘एमआरआई विग्रिदा सर्वसाधारणले त दुःख पाए पाए, प्रतिष्ठानको समेत आम्दानी मरेको छ, यसतर्फ व्यवस्थापनपक्षले चासो दिन नसक्नु आश्चर्यको कुरा हो ।’
धेरैले त प्रतिष्ठानमा विग्रिएको उपकरण नयाँ नआउनुमा प्रतिष्ठानकै कर्मचारी दोषी भएको बताउँछन् । मर्मत सम्भारका नाममा रकम अपचलन गर्न सहज हुने कारण नयाँ उपकरण नल्याई मर्मत सम्भार गरिरहने परम्परा रहेको आरोप लगाएका छन् ।

एमआरआई मात्र हैन अहिले प्रतिष्ठानको आकस्मिक कक्षभित्र सञ्चालनमा रहेको सिटिस्क्यान समेत एक हप्ता अगाडिदेखि विग्रिएको छ । धरान १४ का इन्द्रबहादुर श्रेष्ठले श्रीमति विरामी भएर प्रतिष्ठानको आकस्मिक कक्षमा लादा सिटिस्यान विग्रेका कारण विजयपुर अस्पतालमा गराएको बताए । उनले भने, ‘श्रीमतिलाई सिटिस्क्यान गर्न चिकित्सकले लेखिदियो, तर त्यहाको सिटिस्क्यान विग्रिएको रहेछ, विजयपुर अस्पतालमा गराएर ल्याए ।’

आकस्मिक कक्षमा चौवीसै घण्टा दुरुस्त राख्नुपर्ने सिटिस्क्यान विग्रेको एक हप्ता भएको त्यहा कार्यरत एक सुरक्षाकर्मीले बताए । उनले भने, ‘आकस्मिक कक्षभित्र सञ्चालन भएको सिटिस्क्यान विग्रेको एक हप्ता भयो, अहिलेसम्म सुचारु भएको छैन, विरामीले धेरै सास्ती व्यहोर्नु परेको छ ।’

सिटिस्यान तथा एमआरआईले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुने चिकित्सहरु बताउँछन् । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि यी उपकरण अत्यावश्यक भएको चिकित्सकको भनाई छ । एमआरआई, सिटिस्क्यान लगायतका टेष्ट गर्ने दैनिक ३ सय भन्दा बढी विरामी हुने गरेको अस्पताल स्रोतले बताएको छ । दैनिक लाखौं रुपैया यी उपकरणबाट नै प्रतिष्ठानलाई आम्दानी हुने गर्छ । बर्षमा दुई महिनाभन्दा बढी सिटिस्क्यान नचल्ने, एमआरआई एक बर्ष भन्दा बढीदेखि सञ्चालन नहुदा प्रतिष्ठानमा आएका विरामीले हैरानीमात्र व्यहोर्नु परेको छैन आम्दानी समेत गुमेको चिकित्सकहरु नै बताउँछन् । यस विषयमा जिम्मेवार पदाधिकारीहरु भने केही बोल्न चाहदैनन् ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved