रंगली/ गत सोमबार देखि तीन दिन सम्म परेको अबिरल वर्षाका कारण रंगेलीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण रंगेली क्षेत्रमा ३५ सय बिघामा लगाइएको धानखेती नष्ट भएको कृषि शाखा रंगेलीका प्रमुख बिरेन्द्र मंडलले बताए ।
उनका अनुसार मोरङको सिमावर्ती क्षेत्रको रंगेली, धनपालथान, सुनवर्सी, रतुवामाई, कानेपोखरी लगायतका क्षेत्रका अधिकांश किसानहरुले असार महिनामा सयौं बिघा जमिनमा लगाएको धान बाली अबिरल बर्षाका कारण नष्ट भएको छ । खेतमा कतै पहेंलै भएर पाकेको त कतै हरियो हुँदै गरेको धान खेतमा पानी भरिए पछि खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्षाेत्तम काफ्लेले बताए । दुख गरेर रोपिएको धान दुई दिनको हावाहुरीका कारण खेतैमा बाला मात्रै देखिने गरि हिलोले पुरिए पछि चिन्ता थपिएको कौशिला ताजपुरीया बताउँछिन् ।
मोरङमा बक्राह खोला, चिस्यान खोला, चेकाहा खोला, मरिया खोला लगायत अधिकांश खोलाको बहाव बढेपछि काटने अवस्थामा रहेको धानबाली घर भित्राउने समयमा बाली सोतर भएपछि किसानहरु चिन्तित छन् ।
गतवर्ष भन्दा यस बर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले किसानलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ । अविरल बर्षा, हावा हुरीसंगै कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको सत्यनारायण ताजपुरीयाले बताए ।