सुनसरी/ इटहरीको इतिहासका विभिन्न पक्ष बारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।
इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
३ सय ३६ पृष्ठको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ । ्वर्तमान अवस्थाका साथै इटहरीको भावि सम्भावनाहरु समेत पुस्तकले उजागर गरेको छ । कार्यक्रमका अवसरमा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने तीनजना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसी सम्मानित भएका छन् । तीनै जना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो समयदेखि सक्रिय छन् ।
विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री रामकुमार सुब्बाले पुस्तकले भविष्यको लागि अझ दायित्व थपेको बताए । उनले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझाव दिए । उनले इटहरीको ऐतिहासिक घटनाबारे समेत बताएका थिए ।
यस्तै पुर्व मेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गरेर समेट्न सुझाव दिए । यस्तै इटहरीका मेयर द्वारिकलाल चौधरीले पुस्तक प्रकाशन भएकोमा सह्राना गर्दै यो ऐतिहासिक उपलब्धी भएको बताए । इटहरी बन्नमा सबैको योगदान रहेको कुरा किताबमा समेटिएको पाइएको बताउँदै उनले इटहरीका विभिन्न स्थानहरुको नामाकरणबारे चर्चा गरेका थिए ।
विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका नगरवासीहरुको उपस्थिती रहेको कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य तथा आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई, एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले समेत शुभकामना दिएका थिए । कार्यक्रममा नेप्ली मिडिया प्रालिका निर्देशकतथा पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँचवर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको बताए । उनले पुस्तकमा भएका कमीकमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्ने समेत बताए । उनले इतिहासलाई बेलैमा अभिलेख गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पुस्तक प्रकाशन टिममा रहेर विविध जिम्मेवारी निभाउने विभिन्न व्यक्तिहरुलाई धन्यवाद पत्र समेत दिइएको थियो । कार्यक्रम भूमिका पाख्रिनले सञ्चालन गरेकी थिइन् । नेप्ली मिडिया प्रालि विगत ६ वर्षदेखि वृत्तचित्र निर्माण, तालिमहरु, रिसर्च, विज्ञापन, प्रबद्र्धन लगायतका क्षेत्रमा सक्रिय छ । ‘इतिहासमा इटहरी’ नामक वृत्तचित्र निर्माण गरेर प्रदर्शन समेत गरीसकेको उक्त संस्थाले विराटनगरको ऐतिहासिक वृत्तचित्र ‘विराट विराटनगर’ लगायत विभिन्न स्थान, संस्थाहरुको वृत्तचित्र निर्माणको काम गरिसकेको छ ।