कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको चर्चा चलिरहेका बेला सङ्घीय राजधानी काठमाडौँमा निषेधाज्ञामा थप कडाइ गर्न थालिएको छ भने अन्य कतिपय शहरी क्षेत्रमा पनि निषेधाज्ञा लम्ब्याउन थालिएको छ । कतिपय स्थानमा त पुनः बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने चर्चा चल्न थालेको छ । कोरोना सङ्क्रमणको नकारात्मक प्रभावबाट अछूतो रहेको कुनै क्षेत्र छैन । त्यै पनि यसको सबैभन्दा बढी प्रभाव निम्न र निम्न मध्यमवर्गीय नागरिकहरूका साथै शैक्षिक तथा व्यापार–व्यवसायको क्षेत्रमा परेको छ ।
तेस्रो लहरको हल्लाले फेरि एकपटक सबैलाई आतङ्कित बनाउन थालेको छ । पहिलोभन्दा दोस्रो लहरले धेरैको ज्यान लिएको घटनाका प्रत्यक्षदर्शी बनेका नागरिकहरू अहिले आतङ्कित हुनु अस्वाभाविक पनि होेइन । काठमाडौँ उपत्यका कोरोना महामारीको ’रेडजोन’ मै रहेकोले गतिविधि पुनः ठप्प पार्ने सङ्केत त्यहाँका प्रमुख जिल्ला अधिकारीले गरेका छन् । के बन्दाबन्दी नै कोरोना सङ्क्रमण रोक्ने एक मात्र विकल्प हो त ? जनस्वास्थ्य विज्ञहरूले भने जनजीवन पूरै ठप्प पार्न आवश्यक नभएको बताउन थालेका छन् । कतिपय व्यक्तिले खोप लगाइसकेका र लगाउने क्रम जारी नै रहेका कारण पनि अब बन्दाबन्दीलाई नै एक मात्र विकल्प बनाइनु हुन्न भन्ने विज्ञहरूको सुझाव छ ।
व्यवसायीहरू पनि बन्दाबन्दीको पक्षमा छैनन् । हुन पनि लामो समयसम्म सारा आर्थिक गतिविधि ठप्प पार्नु प्रत्युत्पादक हुने निश्चित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावलाई पुनर्जीवन दिन सजिलो हुनै छैन । त्यसैले आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नगरी कोरोना सङ्क्रमणको सामना गर्ने तयारी गर्नु श्रेयष्कर हुने देखिन्छ । जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै सुरक्षित रूपमा गतिविधि सञ्चालन गर्नु नै उत्तम विकल्प हुन सक्छ ।
पछिल्लो समयमा सङ्क्रमण र मृत्युदर पनि बढ्न थालेको छ । अस्पतालमा बिरामीको चाप बढेको छ । यस्तो अवस्थामा आत्तिएर होइन, धैर्यपूर्वक परिस्थितिको सामना गर्न तयार हुनुपर्छ । स्वास्थ्य पूर्वाधारमा सरकारी लगानी बढाउनु आवश्यक छ । एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा रोकथामका उपाय अपनाउनु उचित हुने देखिन्छ । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले सतर्क रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भए पनि बन्दाबन्दी (लकडाउन) का नाममा नागरिकलाई तर्साउन नहुने धारणा व्यक्त गरेका छन् । कतिपयले खोप लगाइसकेका कारण जनजीवन ठप्प पार्न आवश्यक नभएको उनको तर्क छ । उनको तर्क सर्वथा उचित छ । जनजीवन नै ठप्प पार्दा भावी दिनमा अर्थतन्त्र धराशायी हुने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो अवस्था आएमा जनजीवन अझ कठिन हुनेछ । सुरक्षा प्रदान गर्नकै लागि खोप लगाईको हुनाले अब बन्दाबन्दी गर्नु आवश्यक छैन ।
पहिलो र दोस्रो लहरबाट कोरोनाले ९८ प्रतिशतभन्दा बढी मानिसलाई खासै असर नगर्ने पुष्टि भइसकेको र धेरैजनाले खोप पनि लगाइसकेकाले सबै क्षेत्र ठप्प पारेर नागरिकलाई सास्ती दिन नहुने डा. दीक्षितको भनाइ छ तर जनस्वास्थ्यका मापदण्ड पालनामा भने लापर्वाही गर्न हुँदैन । देशभरका बन्द कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताललाई पुनः सूचीकरण एवम् सञ्चालन गर्नु आवश्यक छ । अस्पतालहरूमा उपचारात्मक सेवा विस्तारका लागि हाई डिपेन्डेन्सी युनिट बेड थपिनुपर्छ । भेन्टिलेटरको सङ्ख्या बढाइनुपर्छ भने बालबालिकाका लागि पनि भेन्टिलेटरसहित आईसीयू बेड थपिनुपर्छ । यसैगरी अक्सिजन कन्सन्ट्रेटरको उपलब्धता पनि सहज हुनुपर्छ । यसो भएमा बन्दाबन्दी नगरी कोरोनाको सामना गर्न सकिन्छ ।