धरान / सायद यो पहिलो नै हुनुपर्छ एकै घरका ४६ जनाले आफ्नो अभिभावकको क्रियाकर्म गरेको घट्ना । तर उदयपुरको बेलका नगरपालिका बेलका ४ स्थित विष्ट परिवामा ४६ जनाले एकै ठाउमा क्रियाकर्म गरेका छन् ।
दिवंगत लालबहादुर विष्टको परिवारमा ४६ जनाले एकै पटक क्रियाकर्म गरेका हुन् ।
विष्टको ७ श्रीमती, १९ छोरा, १२ छोरी, १७ बुहारी, ४७ नाति , ३२ नातिनी, १२ पनाति र १० पनातिनी रहेका छन् । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो दुई सय भन्दा बढी रहेका छन् । साउन ७ गते देहान्त भएका गाउमा दाङ्खाली बाको नामले परिचित लालबहादुर विष्टका मृत्यु भएको थियो ।
पहिला पहिला बुढापाकाहरुले कुनै पनि शुभकार्यमा आर्शीवाद दिँदा सन्ताले डाँडाकाडा ढाकुन भन्ने आर्शिवाद दिने गर्दथे । तर पछिल्लो समयमा यो आर्शीवाद परिवर्तन भएर आर्शिवाद दिँदा दुई सन्तान ईश्वरको बरदान भन्न थालियो । अहिलेको यो समयमा एकै परिवारका ४६ जना क्रियाकर्ममा लाग्नु भनेको सायदै यो नौलो हुनुपर्छ ।
९० बसन्त वर्षको उमेरमा देहान्त भएका उनको त्रियाकर्ममा विदेशमा रहेका ८ छोराबाहेक छोरा–छोरी र बुहारी गरी ४६ जना एकै ठाउँ क्रिया कर्ममा सहभागी रहेकाछन् । उनका सन्तानका ११ छोरा, १२ छोरी, १७ बुहारी र ६ आमा एकै ढिकुरोमा क्रियाकर्म गरिरहेका छन् ।
उदयपुरको बेलका नगरपालिका ४ कटारीस्थित विष्ट निवासमा सोमबार पुग्दा कोरोनामा बसेकाहरुले दुःख व्यक्त गरे पनि सबै परिवार एकै ठाउमा बसेर क्रियाकर्म गर्न पाएकोमा भने उनीहरुले आफूहरुलाई भाग्यमानी ठानेका थिए । सोमबार १२ औं दिनको कर्म चलिरहेको समयमा क्रियाकर्ममा बसेका परिवारले सबै एकै ठाउमा क्रियाकर्म गर्न पाउदा बाबुको आत्माले शान्ति पाउने उनीहरुले बताए ।
घर सानो भए पनि क्रियाकर्म गर्ने घर भने मूल घर रहेको परिवारले बताएका छन् । सानो घरमा क्रियाकर्म गर्नेकै खचाखच भीड देख्न सकिन्थ्यो । परिवारका धनी लालबहादुर विष्ट सामाजिक व्यक्तित्व समेत रहेका थिए । िवि.सं. १९८९ साल फागुन १८ गते तत्कालीन यूँ गाविस हाल आमचोक दाङ्खा भोजपुरमा जन्मिएका विष्ट नेपाली कांग्रेस पार्टीबाट राजनीति जीवन सुरु गरी स्वतन्त्रता सेनानी समेत बनेका थिए ।
नेकपा एमाले भोजपुर जिल्ला कमिटिका सचिवालय सदस्य लालबहादुरका नाति खगेन्द्र विष्टले हजुरबुबा यूँ गाविसबाट ४ पटक वडाध्यक्ष भएको बताए । उनका अनुसार उनी पटक –पटक चण्डिबजार व्यवस्थापन समिति अध्यक्ष भएका थिए । त्यतिमात्र हैन उनी थिदिन्खा गाउँ पञ्चायतका दुई कार्यकालका निर्वाचित प्रधानपञ्चसमेत भएर गाउमा राम्रो काम गरेको स्मरण अझै पनि स्थानीयहरुले गर्ने गरेका छन् ।
उनी शिक्षा क्षेत्रको विकासमा समेत अहोरात्र खटिने व्यक्ति रहेकोृ परिवारबाट बुझ्न सकिन्छ । गाउमा शिक्षाको ज्योति छर्न कम्मर कसेर लागेका उनी सरस्वती प्रावि, चण्डेश्वरी माविको स्थापनामा उनको ठूलो देन रहेको नाति खगेन्द्र विष्ट बताउछन् । उनी भन्छन्–‘शिक्षा क्षेत्रको विकासमा उहा यस्तो लाग्नुभयो विद्यालय स्थापना गरी त्यसको संस्थापक अध्यक्ष भएर काम गर्नुभयो ।’ शान्ति सुरक्षाको सवालमा समेत उनी अत्यन्तै सवेदनशील रहेको नाति विष्ट बताउछन् । उनी ०३१ सालमा बयाङ भोजपुरमा प्रहरी चौकी स्थापना गरेको स्मरण गर्छन् ।
विपत्तका समयमा समेत सहयोग गर्न पछि नपर्ने स्व. विष्टले ०४५ सालको भुकम्पमा सर्वसाधारणलाई सहयोग गरेवापत राज्यले भूकम्प सेवा पदक दिएको स्मरण नाति खगेन्द्र सुनाउछन् ।
भनिन्छ अभिभावक जस्तो हुन्छ उसका सन्तान पनि त्यस्तै हुन्छ । शायद त्यही भएर होला बुवा लालबहादुरकै प्रेरणा पाएर छोराहरुले समेत त्यसको सिको गरे । बुबाको पदचापलाई पछ्याउने क्रममा जेठा छोरा धनकेशर विष्ट भोजपुर जिविसका उपसभापति भएका थिए भने माइला छोरा टिकाकुमार विष्ट जिविस सदस्य भएका थिए ।
उनको श्रद्धाञ्जली र परिवारका सदस्यलाइृ समवेदना दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत मृत्यु भएको नवौ दिन निजको निवास नै पुगेको परिवार बताउछन् ।