मोरङ/ गुणस्तरहिन सामग्री प्रयोग गरिएको मोरङको कानेपोखरी गाउँ पालिका वडा ३ को वडा भवन उदघाटन हुनु अघि नै चुहिन थालेको छ ।
नवनिर्मित भवन उदघाटन अघि देखिनै चुहिन थालेको वडाअध्यक्ष कृर्तिमान मादेनले बताए ।
गत असार २७ गते आयोजना गरिएको भवनको औपचारिक उदघाटन कार्यक्रममा वडाध्यक्ष मादेनले भवनको छतबाट पानी रसाउने जानकारी गरिए पछि भवन निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको आशंका गरिएको छ ।
भवनको छतबाट पानी रसाउन थालेको जानकारी ठेकदार र सम्बन्धित इन्जिनियरलाइ गराउँदा पनि कुनै सुनुवाई नभएको मादेनले बताए । कानेपोखरी गाउँपालिकाका प्रमुख इन्जिनियर रन्जन निरौलाले भवनको निर्माणाधिन अबस्थामा प्राबिधिक पक्षबाट कुनै गलत नभएको बताउँदै भवन रसाउनु दुर्भाग्य र संयोग भएको बताए ।
भवन निर्माण स्थलको भौगोलिक अबस्था र भवनको छत ढलाइ गर्दाको प्रतिकुल मौसमका कारण पनि भवनमा समस्या आएको हुन सक्ने इन्जिनियर निरौलाको भनाई छ । वडा कार्यालयको एक तले भवन निर्माणको लागि पुरुषोत्तम कन्ट्रक्सनले ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा ठेक्का लिएको हो ।
ठेकेदार कम्पनीका संचालक पुरुषोत्तम सुबेदीले भवन निर्माणका समयमा केही कमजोरीका कारण भवनको छत रसाउने समस्या देखिएको बताए । भवन सम्बन्धित पक्षलाइ हस्तान्तरण गर्न बाकी रहेकाले मर्मत कार्य जारी रहेको उनले बताए । पुर्ण रुपमा मर्मत पश्चात सम्बन्धित पक्षलाइ जिम्मा लगाउने सुबेदीले बताए । भवन निर्माणमा आर्थिक अनियमितता भएको पनि स्थानीयले गुनासो गरेका छन् । कानेपोखरी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र क्षेष्ठले निर्माण कार्य पारदर्शी रुपमा सम्पन्न भएको जानकारी गराए ।