धरान । राष्ट्रिय भावना समेटिएको ‘हाम्रो देश’ बोलको गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।
धरानका पत्रकार रिकेश विश्वकर्माद्वारा लेखिएको ‘हाम्रो देश’ बोलको गितको म्युजिक भिडियो मंगलबार एक कार्यक्रम बिच धरान उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् ।
विभिन्न समुदाय, जातजातिको प्रतिनिधि झल्कने गरि राष्ट्रियता प्रती समर्पित रहेको गितको म्युजिक भिडियोको निर्देशन पनि गितकार विश्वकर्माले नै गरेका छन् । गितमा विकाश निर्माण प्रती सचेत गराउदै भाषा र भेषभुषा संरक्षणका आव्हान गरिएको छ । वडा नम्बर ११ को लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट करिब १ लाख ८० हजार रुपैयाको खर्चमा गितको रेकर्डिङ सहित म्युजिक भिडियो तयार गरिएको हो ।
मकालु कला केन्द्रको प्रस्तुति गितमा धरान ११ कै गायकहरु जसोदा सुब्बा, साजन लामिछाने सहित राष्ट्रिय गायक एपि शेर्पा र सन्देश बम्जन लामाको पनि स्वर रहेको छ । कोरोना महामारीको कारण ढिलो सार्वजनिक गरिएको म्युजिक भिडियोमा सबै धरानका कलाकारहरु र धरानकै विभिन्न स्थलमा छायाँकन गरिएको छ ।
सुजन रसाइलीको संगीतमा बनेको गितमा एरेन्जर मनोज महतोको रहेको छ भने गरिमा डान्स सेन्टरले नृत्य निर्देशन गरेको छ । म्युजिक भिडियोमा छायाँकन र सम्पादन पनि धरान ११ कै एदम लिम्बुले गरेका छन् ।