धरान । सुनसरीमा निषेधाज्ञा थप खुकुलो बनाउँदै सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाउदै जोर–बिजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्ने समयसिमा तोकेर होटल व्यवसाय पनि संचालन गर्न पाइने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसीएमसीको बैठकले १० औं पटक निषेधाज्ञा अवधि थप गर्दै सुनसरीमा विस्तारै दैनिकीलाई सहज स्थितिमा फर्काउने तयारी थालिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजनिक तथा निजी सवारी साधन जोर–बिजोर प्रणाली लागू गर्ने सोमबार बसेको बैठकले निर्णय गरेको जानकारी दिए ।
यस्तै, प्रशासनले राजमार्ग छेऊछाउका होटल व्यवसाय पनि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । कोभिड १९ महामारीको दोस्रो लहर शुरु भएपछि सुनसरीमा पहिलोपटक वैशाख १३ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।
यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने अझै पनि पाउने छैन । संक्रमणको जोखिम यथावतै रहेकोले बालबालिका भेला हुने विद्यालय भने बन्द नै रहने भएका हुन् । बाँकी क्षेत्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ ।