केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबान–कटान भएका समाचारहरू आइरहेका छन् । देशका विभिन्न भागमा कयौँले ज्यान गुमाएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा सडकहरू अवरुद्ध भएका छन् भने कतिपय बस्तीहरू जलमग्न भएका छन् । कतिपय पुलहरू उद्घाटन नहुँदै भास्सिने र भत्किने दृश्यहरू देखिएका छन् । ‘असारे विकास’ को दुर्दशा पनि देखिँदैछन् ।
यो वर्षाले देशका थुप्रै बेथिति र विसङ्गतिलाई फेरि एकपटक उदाङ्गो बनाइदिएको छ । यो हरेक वर्ष दोहोरिने नियति हो तर यो नियतिलाई घटाउन वा यसबाट नागरिकहरूलाई सुरक्षित बनाउन सरकार र सम्बन्धित निकायहरूले गम्भीर चिन्ता र चासो देखाएको पाइँदैन । अहिले अरू सबै काम छाडेर विस्थापितहरूको व्यवस्थापन गर्नुपर्ने बेला छ । उनीहरूको सुरक्षित बसोवास, खाना र लुगा अहिलेको प्राथमिकतामा पर्नुपर्छ ।
बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू अझ बढी संवेदनशील हुन्छन् । उनीहरूको स्वास्थ्य र सुरक्षाका विषयमा थप गम्भीर बन्नुपर्छ । विस्थापित परिवारका बालबालिकाहरूको शिक्षा थप चुनौतीको विषय बनेको छ । उनीहरूको शिक्षा प्राप्त गर्ने अधिकारको रक्षा गर्नु राज्यको दायित्व हो । यस्तो गम्भीर अवस्थामा पनि सरकारको प्राथमिकता भने अर्कै विषय छ । सत्तारुढ दलभित्रको किचलोले शासन व्यवस्था नै कमजोर बनेको छ ।
प्रधानमन्त्रीको प्राथमिकतामा आफ्नो कुर्सी जोगाउने काम परेको छ । सत्तारुढ दलभित्रको किचलो तत्काल साम्य बनाएर एकताबद्ध भएर राष्ट्रिय सङ्कटको सामना गर्नु नै अहिलेका लागि बुद्धिमानी हुनेछ तर यस्तो सङ्केत भने कतैबाट देखिँदैन ।
देशको राजनीतिक–प्रशासनिक र आर्थिक बेथितिको मारमा सर्वसाधारण नागरिक परिरहेका छन् । हाम्रो देशको सन्दर्भमा यो अवस्था नियमित आकस्मिकताका रूपमा दोहोरिने गरेका छन् । जुनसुकै प्रधानमन्त्री आए पनि यो बेथिति घट्नुको साटो दिनदिनै बढ्दै गएको देखिन्छ । उद्घाटन नै हुन नपाई भत्किएका वा भास्सिएका पुलले के बताइरहेका छन् ? यही असारमा सडकमा गरिएको कालोपत्रे एक महिना पनि नभई बग्नुको अन्तर्यमा हाम्रो ‘असारे विकास’ को कस्तो कथा लुकेको छ ?
के यी विषय लुकेका छन् ? के यसमा अन्तर्निहित यथार्थ सरकारलाई थाहा छैन ? भ्रष्टाचार र अनियमितता देशका पहिचान नै भएका छन् । भ्रष्टाचारको बाछिटाबाट सरकार नै चोखो नभएको विषय आम चर्चामा आउने गर्छ । वास्तवमा भ्रष्टाचारकै कारण हाम्रा भौतिक संरचनाहरू दिगो र स्थायी बन्न सक्दैनन् । यसको मार भने सर्वसाधारण नागरिकहरूले खप्नु परेको छ । तिनकै जीवन कष्टकर बनेको छ ।
यो कस्तो देश हो, जहाँ बस्ती र सडकहरू जलमग्न छन् तर कतिपय नागरिकहरू खानेपानी नपाएर कहालीलाग्दो जीवन बाँच्न बाध्य छन् । यसतर्पm सरकारको ध्यान तत्काल जानु आवश्यक छ । सिंहदरबारबाट भाषण गर्दैमा नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन नआउने निश्चित छ । यसका लागि त योजना र कार्यक्रमको तर्जुमा अनि भरपर्दो कार्यान्वयन चाहिन्छ । त्यसको अभावमा विकास वा नागरिकका जीवनमा परिवर्तन त नारामात्र हुने पक्का छ ।