धरान । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आउदो चुनाबी लक्षित बजेट ल्याउन लागेको भन्दै चर्को बिरोध भए पछि आज बस्ने नगर कार्यपालिकाको बैठकले छलफल गरि दिउँसो हुने नवौं नगरसभामा धरानको बजेट, नीति तथा कार्यक्रम पेस हुने भएको छ ।
हिजो बुधबार बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि अनुमोदन हुन नसके पछि आज बस्ने बैठकले निर्णय गरे पछि दिउँसो २ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा हुने नगरसभामा पेस हुने भएको छ ।
हिजो बसेको नगर कार्य समितिको बैठकमा समयमा नै वडाहरुलाई बजेटको सिलिङ उपलब्ध नगराएको बिषयमा सदस्यहरुले असन्तुष्टी जनाएका थिए । २० वटै वडालाई २८ करोड बजेट दिने कुरा भए पछि कार्यपालिका बैठकमा वडा अध्यक्षहरुले नै बिरोध गरेका थिए ।
बजेट नगरस्तरीय आयोजना र महाशाखाहरुलाई धेरै राख्ने प्रस्ताव भएकोमा अध्यक्षहरुको चर्को असन्तुष्टी छ ।
उनीहरुले नगरमा केन्द्रीकृत नगरि वडाहरुमा बजेट विकेन्द्रीकरण गर्नुंपर्ने माग राखेका छन् । नगर गौरवको आयोजनामा पनि बढी बजेट राखिएकोमा उनीहरुको असन्तुष्टी छ ।
आज सहजीकरण समितिको बैठक बस्ने र १२ बजे कार्यपालिका बैठक बसेर बजेट, नीति तथा कार्यक्रम अनमोदन गर्ने योजना छ । त्यस पछि १ बजेदेखि सुनसरी उद्योग वाणिज्य संघमा नगर सभा उदघाट्न हुनेछ ।
नगरसभाको प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारी प्रमुख अतिथि हुनेछन् भने प्रदेश सभा सदस्यहरु सावित्री श्रेष्ठ, उमिता वराइली, चन्द्रप्रसाद श्रेष्ठ पनि बिशेष अतिथिकोरुपमा उपस्थिति रहनेछ ।
नगरसभामा आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
वडाको सिलिङको बिषयमा टुंगो लागेको र ब्रेक डाउनबारे उद्घाटन सत्रपछि छलफल हुने एक वडा अध्यक्षले बताए । उनले भने ‘वडाको सिलिङ के हो भन्ने थियो, त्यो टुंगो लागेको छ । ब्रेक डाउनबारे उद्घाटन सत्र पछि छलफल हुन्छ ।
यो बर्ष धरानको बजेट २ अर्ब बढीको आउदैछ । एक कार्यपालिका सदस्यका अनुसार धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख हाराहारीको पेश हुने तयारी छ । यो बजेट गत बर्षको भन्दा करिब २६ करोड बढी हो । गत बर्ष १ अर्ब ७७ करोडको बजेट पेश भएको थियो ।