प्रतिष्ठानमा भ्रष्टाचारको जालो ! (सम्पादकीय)

  • असार ८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

पटक–पटक विवादमा आइरहने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही समययता फेरि चर्चामा छ । यहाँका चिकित्सकहरू एक सातायता आन्दोलनमा छन् र उनीहरूले सामूहिक राजीनामाको चेतावनी दिएका छन् । अनियमितताका कारण प्रतिष्ठान धरासायी हुन लागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् तर आन्दोलनको एक साता हुँदासम्म उपकुलपतिले चासो नदेखाएपछि चिकित्सकहरू आक्रोशित भएका छन् । उपकुलपति ज्ञानेन्द्र गिरी अझै काठमाडौँमै छन् । उपकुलपतिले आन्दोलनलाई बेवास्ता गरेको भन्दै संयुक्त सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् ।

एउटा प्रतिष्ठित स्वास्थ्य संस्थाका चिकित्सकहरूले सामूहिक राजीनामा दिने अवस्थाको सिर्जना हुनु सामान्य अवस्था होइन । चिकित्सक तथा विद्यार्थीहरूले गरेको आन्दोलनलाई प्रतिष्ठानका नर्स र कर्मचारीहरूले पनि साथ दिएका छन् । यस्तो अवस्था आउन नदिनु पदाधिकारीहरूको मुख्य दायित्व हो । प्रतिष्ठानमा सिर्जित समस्या नयाँ होइन । केही वर्षयता प्रतिष्ठानमा नयाँ–नयाँ समस्या आउने क्रम जारी छ । पटक–पटक वार्ता र संवाद हुन्छन् । समस्या समाधान भएको बताइन्छ तर केही समयपछि अर्को वा पुरानै समस्याले आकार ग्रहण गर्छ ।
प्रतिष्ठानको मुख्य समस्या नै भ्रष्टाचार हो । अब यो लुकेको विषय रहेन । भ्रष्टाचारको अन्त्य नै समस्या समाधानको एकमात्र उपाय हो तर यो त्यति सजिलो छैन । भ्रष्टाचारलाई मलजल र सञ्चालन गर्ने राजनीतिक सञ्जाल, चिकित्सक र कर्मचारीभित्र रहेको गुटबन्दी तथा स्वार्थी पदाधिकारीहरूका कारण यहाँ भ्रष्टाचार मौलाएको हो । पदाधिकारी, माफिया व्यापारी र केही कर्मचारीहरूको मिलोमतोमा यहाँ भ्रष्टाचारको जालो बनाइएको छ ।
यो जालो भत्काउन सजिलो छैन । राजनीतिक संरक्षणकै कारण यो विषय जटिल बनेको हो । सरकार इमान्दार हुने हो भने समस्या समाधान हुन कुनै गाह्रो छैन तर ‘माथि’ ब्रिफकेस बुझाएर नियुक्ति लिएकाहरूमाथि हस्तक्षेप गर्न सरकारलाई पनि अप्ठ्यारो छ । यही अप्ठ्यारो यहाँका भ्रष्टहरूका लागि सजिलो भइदिएको छ ।

पदाधिकारी, चिकित्सक र कर्मचारीहरू प्रतिष्ठान र सर्वसाधारण नागरिकप्रति उत्तरदायी हुने हो भने कुनै समस्या नआउने निश्चित छ तर निजी स्वास्थ्य संस्थासँग कमिसन लिएर प्रतिष्ठानका उपकरण बिगार्नेहरू तथा कमिसनकै लागि बिरामीलाई बाहिरका प्रयोगशाला र पसलमा पठाउने चिकित्सकहरू भएसम्म न प्रतिष्ठान बलियो हुन्छ, न त बिरामीहरूले सुलभ र गुणस्तरीय सेवा पाउनेछन् । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ । यहाँभित्र हुने भ्रष्टाचार र बेथिति रोक्न केके गर्नु आवश्यक छ ? नीतिगत सुधारदेखि संरचनागत परिवर्तनसम्म केके गर्नु आवश्यक छ भन्ने अध्ययन गरिनुपर्छ ।

चिकित्सक र विद्यार्थीहरूको आन्दोलनलाई गम्भीरतापूर्वक लिइनुपर्छ । यो आवाजलाई बेलैमा सुनिएन भने परिणाम भयावह हुन सक्छ । ढाकछोप गरेर समस्याको दीर्घकालीन समाधान सम्भव छैन । त्यसैले दीर्घकालीन समाधानका लागि सबै पक्ष इमान्दार हुनु अपेक्षित छ । आ–आफ् नो स्वार्थ राखेर गरिने कृत्रिम प्रयासबाट समस्या समाधान नहुने पक्का छ । सबैले कमजोरी स्वीकार गर्दै आगामी दिनमा कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । सामूहिक र इमान्दार प्रयत्नले मात्र प्रतिष्ठानमा सुधार हुन सक्छ । माफिया व्यापारीहरूको जालो तोड्नुपर्छ । यहाँका आर्थिक क्रियाकलापहरू पारदर्शी हुनुपर्छ । यसतर्फको सबैको ध्यान जानु अपेक्षित छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved