धरान । छिमेकीको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी एक दलित महिलालाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको छ ।
एक महिना अघि छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरे पछि मानसिक सन्तुलन गुमाएकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जी १२ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी छिन् । मानसिक अवश्थामा अझै पनि सुधार आउन सकेको छैन् । चिसाङ खोलामा गिटि कुटेर जिविकोपार्जन गर्ने उनको परिवारको आर्थिक अवश्था कमजोर रहेकाले थप उपचारमा कठिनाई बढ्दै गएको शोभाकी आमा देवी दर्जीले बताईन् ।
उमेश तामाङ सँग अन्तरजातीय विवाह गरेकी शोभा ३ महिनाको गर्भवती छिन् । उनको ८ वर्षको पहिलो छोरो पनि छ । श्रीमानबाट नागरिकता बनाएकाले उनको नागरिकतामा नाम डुकादेवी तामाङ छ । उनको दिन प्रतिदिन मानसिक अवश्था बिग्रदै गएको छ । केही दिन अघि सम्म सामान्य होसमा रहेकी उनी अहिले पुर्ण बेहोस झै हुने गरेको आमा देवी दर्जीले बताईन् । उनले भनिन्, ‘४÷५ दिन अघि सम्म आफै ट्वाइलेट जाने, यता उता गर्ने, अहिले त होसै छैन्, बाँधेर राख्नुपर्छ, छाडिदियो भने सम्हाल्नै सकिन्दैन् ।’ आर्थिक अवश्था कमजोर रहेकाले उपचारमा समस्या बढ्दै गएको उनले बताइन् ।
गत वैशाख ३० गते मोवाइलको सिमचोरी गरेको झुठो आरोपमा छिमेकीले कुटपिट गर्दा उनले मानसिक सन्तुलन गुमाएकी हुन् । उनलाई स्थानीय पुष्पा मगर र बिन्दा मगरले कुटपिट गरेका हुन् । आमा देवी दर्जीका अनुसार एक वर्ष अघि शोभाको छोराले सिम सहितको मोबाइल फोहोर फ्याक्ने ठाउँमा भेटेका थिए । एक वर्ष पछि सिम चोरेको आरोपमा उनी माथि कुटपिट भएको हो । यस अघि पनि मगर परिवारले विभिन्न बहानामा शोभालाई कुटपिट गर्ने गरेको देवी दर्जी बताउँछिन् ।
आर्थिक अभावले उपचारमा समस्या बढ्दै गए पनि घटनामा संलग्नहरुलाई कुनै कारवाही हुन सकेको छैन् । न त पिडकहरुनै सम्पर्कमा आएका छन् । उनका श्रीमान उमेश तामाङ पनि श्रीमती स्याहार्ने व्यस्त बने पछि झन आर्थिक बोझ थपिदै गएको छ । छोरीको उपचारमा सहयोग गरिदिन उनले सबैलाई आग्रह गरेकी छिन् । साथै पिडकलाई कारवाहीको लागि पहल गरिदिन समेत उनले आग्रह गरेकी छिन् ।