भ्रष्टाचार, अनियमितता र अख्तियारको दुरुपयोग हाम्रो विकासका मुख्य बाधक हुन् । हाम्रो देशको हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितता छ । हरेक प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्ने भाषण गरे पनि भ्रष्टाचार भने झन्–झन् बढ्दै गएको पाइन्छ । भ्रष्टाचार र अनियमितताबाट सुरक्षा निकाय पनि अछुतो छैन । सुरक्षाकर्मीहरू नै तस्करीमा संलग्न रहने गरेका घटनाहरू बारम्बार प्रकाशमा आइरहन्छन् ।
एउटा यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । भारतीय सीमामा हुने स्याउ तस्करीमा प्रहरीको संलग्नता रहेको विषय प्रकाशमा आएको छ । सुनसरीको भन्टाबारी सीमा प्रहरी चौकीका इन्चार्जसहित तीनजनाको संलग्नता रहेको समाचार आएको छ । प्रदेश १ प्रहरी कार्यालयले उनीहरूलाई निलम्बन गरेको छ ।
यो निकै दुःखद् र चिन्ताको विषय हो । सीमा क्षेत्रमा हुने अनियमितता र तस्करी रोक्ने दायित्व बोकेको प्रहरी नै तस्करीमा संलग्न हुनु दुःखद् विषय हो । प्रहरीहरू नै अनियमितता र तस्करीमा संलग्न हुँदा यस्ता पक्षलाई कसले नियन्त्रण गर्ने ? यो गम्भीर प्रश्न हो । चीनबाट नेपाली बजारका लागि आएको स्याउ भारततिर तस्करी गरेको अभियोगमा उनीहरूलाई निलम्बन गरिएको हो । तस्करी जघन्य अपराध हो । राजस्वमा चचुहावट गर्नु गम्भीर अपराध हो । तस्करीका कारण राजस्व गुम्ने भएकाले यस्ता कामले प्रोत्साहन पाउनु हुँदैन ।
देशको हरेक क्षेत्र ‘सेटिङ’ मा चल्ने गरेको चर्चा चल्ने गरेको छ । न्यायालयमा समेत सेटिङ हुने गरेको विषय अहिले सर्वाधिक चर्चामा छ । यस्तो अवस्थामा उनीहरूले पनि सेटिङ मिलाएर स्याउ तस्करी गरेको सन्दर्भ अहिलेको विषय हो । उनीहरूमाथि छानबिन गरेर दोषी ठहरिए कानुनबमोजिम कारवाही गरिनु आवश्यक छ । उनीहरूले कुनै पनि अवस्थामा उन्मुक्ति पाउनु हुँदैन ।
देशको हरेक क्षेत्रमा अराजकता र उच्छृङ्खलता सिर्जना हुनुमा प्रमुख कारण दण्डहीनता नै हो । दण्डहीनताको अन्त्य नभएसम्म देशमा शान्ति–सुरक्षा र सुशासन कायम नहुने निश्चित छ । तस्करीजस्तो जघन्य अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिइनु हुँदैन ।