धरान–१५ को वडा कार्यालयअगाडि रहेको अस्थायी प्रहरी चौकीमा यही जेठ १३ गते साँझ भएको आक्रमणको घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
घटनामा संलग्न १० मध्ये पाँचजना पक्राउ परेको र बाँकी पाँचजनालाई पनि चाँडै पक्राउ गरिने प्रहरीको भनाइ समाचारमा आएको छ । घटनाका मुख्य नाइके रेगन लिम्बू र वसन्त राई भएको तथा उनीहरूलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरू पक्राउ पर्नु सुखद् विषय हो । नागरिकहरूको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो । कुनै पनि नागरिकमाथि कुनै पक्षबाट असुरक्षा हुन नदिने दायित्व प्रहरी हो ।
यसका लागि देशभरिका प्रहरी एकाइहरू दिनरात नभनी खटिरहेका हुन्छन् । आफ्नै लागि खटिरहेका प्रहरीलाई सुरक्षा प्रदान गर्नु नागरिकहरूको पनि दायित्व हो । यसरी प्रहरी र नागरिकबीच सुरक्षाको दोहोरो सम्बन्ध हुन्छ ।
एकअर्कासँगको यही सम्बन्धबाट नै समाजमा शान्ति सुरक्षा कायम भएको हुन्छ तर नागरिकहरूको जीउधनको सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीहरूमाथि नै साङ्घातिक आक्रमण भएपछि विभिन्न प्रश्नहरू उठेका छन् । यो स्वाभाविक पनि हो ।
युवाको समूहले प्रहरी चौकीभित्र पसेर प्रहरीमाथि नै धारिलो हतियारले प्रहार गरेको घटना सामान्य होइन । नागरिकहरूको सुरक्षाको जिम्मा बोकेको प्रहरी नै असुरक्षित भएपछि यसले सुरक्षा व्यवस्थामाथि नै प्रश्नचिह्न खडा गरेको थियो । त्यसकारण अभियुक्तहरू लाई पक्राउ गरेर कानुनको परिधिमा ल्याउने चुनौती प्रहरीसामु थियो ।
यस चुनौतीमा प्रहरी सङ्गठन आंशिक रूपमा सफल पनि भएको छ । अभैm पाँचजना फरार छन् । तिनलाई पनि पक्राउ गरिनुपर्छ । यसमा नागरिकहरूले पनि सहयोग गर्नुपर्छ । प्रहरीमाथि नै साङ्घातिक आक्रमणमा संलग्न दोषीहरूमाथि कडा कारवाही हुनु आवश्यक छ । उनीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिइनु हुँदैन ।
प्रहरीका कमजोरी नभएका होइनन् तर कमजोरी सङ्गठनको होइन, व्यक्तिको हुन्छ । गलत काम गर्ने प्रहरीलाई पनि सजाय दिने प्रक्रिया हुन्छ । यस घटनामा भने आक्रमणकारीहरू नै दोषी छन् ।
तिनले उन्मुक्ति पाएमा अपराधीहरूको मनोबल बढ्नेछ र आगामी दिनमा प्रहरीहरू नै यस्ता आक्रमणको सिकार हुने क्रम बढ्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । त्यस्तो स्थिति आएमा समाजमा अझ अराजकता बढ्नेछ र कोही पनि सुरक्षित नहुने अवस्था सिर्जना हुन्छ । समाजको सुरक्षा व्यवस्था त्यति कमजोर भएको कल्पनासम् मगर्न सकिँदैन ।
त्यसकारण प्रहरीमाथि आक्रमणको घटनालाई सामान्य रूपमा लिने गल्ती कसैले गर्नु हुँदैन । यो त राज्य व्यवस्थामाथिकै आक्रमण हो । राज्यको सुरक्षा अङ्गमाथि आक्रमण हुनु गम्भीर विषय हो । यसप्रति सरोकारवालाहरू संवेदनशील हुनु अपेक्षित छ । घटनामा संलग्न दोषीहरूमाथि कडा कारवाहीको कुनै विकल्प छैन ।
प्रहरीको मनोबल बढाउन पनि यो आवश्यक छ । तिनले उन्मुक्ति पाएमा प्रहरीको मनोबल गिर्ने निश्चित छ । मनोबल गिरेको सुरक्षाकर्मीहरूबाट अपेक्षित परिणामको आशा गर्नु व्यर्थ हुन्छ । यतिमात्र होइन, यसले सिङ्गो सङ्गठनकै मनोबल गिरेर अनेक दुष्परिणामहरू देखिन सक्छन् । यसतर्पm बेलैमा सबै चनाखो हुनुपर्छ ।