धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति हटाएर प्रतिष्ठानलाई सबल बनाउने लक्ष्यका साथ धरानका नागरिक अगुवा र राजनीतिक दलहरूले समिति बनाएको समाचार आएको छ । प्रतिष्ठानको सुधारका लागि धराने नागरिक र दलहरू क्रियाशील हुनु सकारात्मक विषय हो ।
प्रतिष्ठानका कमी–कमजोरीहरूमा सुधार गर्ने उद्देश्यले नागरिक समाज र दलहरू सङ्गठित भएको यो पहिलो अवसर भने होइन । यसअगि पनि यही उद्देश्यका साथ विभिन्न समयमा विभिन्न समितिहरू बने, सुधारका लागि पहल पनि भए तर ती प्रयासहरू परिणाममुखी हुन सकेनन् । अहिले फेरि नयाँ सक्रियता देखिएको छ । यो प्रशंसनीय छ ।
वीपी प्रतिष्ठान देशकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा पर्ने संस्था हो तर पछिल्लो समय प्रतिष्ठानमा उपचारको गुणस्तर र प्रशासनिक गतिविधिहरू विवादमा पर्ने गरेका छन् । पदाधिकारीहरू कमिसन र भ्रष्टाचारका विवादमा मुछिने गरेका छन् । नीतिगत भ्रष्टाचार पनि यहाँ स्वाभाविक जस्तै भएका छन् । उपचारको गुणस्तर पनि दिनदिनै घट्दै गएको सेवाग्राहीहरूको गुनासो सुन्ने गरिन्छ । कमिसनकै खेलका कारण बजार मूल्यभन्दा बढीमा उपकरण र स्वास्थ्य सामग्रीहरूको खरिद गरिनु तथा कतिपय पुराना उपकरणहरूको मर्मत नगरिनु यहाँका लागि सामान्य विषय भएका छन् ।
पदाधिकारीहरूको राजनीतिक नियुक्ति र नियुक्तिमा हुने आर्थिक चलखेल यहाँको बेथितिको मूल कारण हो । आर्थिक चलखेल गरेर आएका पदाधिकारीहरूले आप्mनो लगानी उठाउने प्रयास गर्नु स्वाभाविक हुने गरेको छ । यही प्रयासमा प्रतिष्ठान भने दिनदिनै जीर्ण बन्दै गइरहेको छ । त्यसो त दलहरूले यसलाई कार्यकर्ता भर्ती केन्द्र पनि बनाउने गरेका छन् । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गरेर प्रतिष्ठानमा आर्थिक भार थोपरिएको छ । प्रतिष्ठानमा बेथिति बढ्नुमा यो पनि एउटा महŒवपूर्ण कारण हो ।
प्रमुख पदाधिकारीहरूबीचको द्वन्द्व र आर्थिक अपचलनकै कारण प्रतिष्ठान दैनिक धराशायी बन्दै गएको छ । पदाधिकारी तथा विभागीय प्रमुखहरूबीच गुटबन्दी छ । गुट–उपगुटकै परिणामस्वरूप प्रतिष्ठान जीर्ण भएको हो । चुस्त र निस्वार्थ व्यवस्थापन नहुँदा प्रत्यक्ष सेवा नै प्रभावित भएको छ । यो अवस्थाको अन्त्य आवश्यक छ । यसका लागि सबैको निस्वार्थ सक्रियता आवश्यक छ ।
त्यसकारण प्रतिष्ठानमा सुधार सजिलो छैन । यसमा सुधारका लागि नीतिगत रूपमै कतिपय परिवर्तन आवश्यक छ । यसका लागि राजनीतिक शक्ति र कतिपय स्वार्थ समूहहरूसँग पनि जुध्नुपर्छ । अपारदर्शी सञ्जाल बनाएर लामो समयदेखि प्रतिष्ठानलाई दुहुनो गाई बनाइरहेका पदाधिकारी, कर्मचारी र व्यापारीहरूले यति सजिलै हार मान्ने छैनन् । अतः यसका लागि लामो र कठिन सङ्घर्ष अपेक्षित छ । सामान्य दवाबले प्रतिष्ठानमा सुधारको सम्भावना छैन । यसका लागि लामो सङ्घर्ष र जनदवाब अपेक्षित छ ।